विमानस्थल कार्यालयको उल्टो मति, विश्व परिवेशमा धीमा गति

विमानस्थल कार्यालयको उल्टो मति, विश्व परिवेशमा धीमा गति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नेपाल आउने तर अनअराइभल भिसा लिनुपर्ने विदेशी राहदानी वाहकलाई विदेशी मुद्रा नगदै बोकेर आउन सूचित गरेको छ । विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगद बोकेर आउन आग्रह गरिएको हो ।

अनअराइभल भिसा लिने विदेशीलाई भिसा शुल्क बुझाउन सजिलो होस् भन्दै कार्यालयले दुई सय अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो । कार्यालयले कम्प्युटरको सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेकाले सजिलोको निम्ति नगद ल्याउन सूचित गरेको बताइन्छ ।

अध्यागमन कार्यालयमा हाल एउटा मात्र एटीएम छ । तर, आफ्नो सजिलोको लागि नगद बोकेर आउन सूचित गरेको कार्यालयले त्यसको पछाडिको पाटोलाई बिर्सेको छ । विशेषगरी अमेरिकी डलरमा नक्कली हुनसक्ने सम्भावना धेरै भएकाले विद्युतीय कारोबार सुरक्षित हुने बैंकहरुको भनाइ छ ।

यता नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकहरुले तरकारी पसलदेखि सामान्य चिया खाजा पसलसम्म डिजिटल पेमेण्टको व्यवस्था गरेका छन् । विश्वका अधिकांश देशमा नगद कारोबारको प्रचलन अत्यन्त कम भइसकेको अवस्थामा नगद बोकेर आउन गरिएको सूचना आफैँमा उल्टो मति भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

टिप्पणीहरू