नुवाकोटमा पनि सिन्दुरे जात्रा (फोटो फिचर)

नुवाकोटमा पनि सिन्दुरे जात्रा (फोटो फिचर)

भक्तपुरको थिमिमा झैँ नुवाकोटको पुरानो सदरमुकाम नुवाकोट दरबार क्षेत्रमा पनि सिन्दुरे जात्रा भएको छ । स्थानीय भैरवी मन्दिरको परिसरमा भएको जात्रामा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

सिन्दुरे जात्रामा मन्दिरका पूजारी तथा धामी र उनकी श्रीमतीसँगै कुमारीको समेत उपस्थिति हुने गर्छ ।

नुवाकोटकै प्रमुख धार्मिक जात्राको परिचय पाएको सिन्दुरे जात्रा १५ दिनसम्म चल्छ । वैशाख पूर्णिमाको अघिल्लो दिन धामी र धमिनीलाई सिन्दुर हालेर यो जात्रा मनाइन्छ । भोलि नुवाकोटको भैरवी मन्दिरको रथ देवीघाटस्थित जालपा देवीको मन्दिरमा पुर्याएपछि भव्यतासाथ प्रारम्भ हुने यो मेलामा द्वितीयाको दिन (यो वर्ष वैशाख ५ गते) भैरवी मन्दिरमा सिन्दुर खेलिने बताइएको छ ।

चैत शुक्ल चतुर्दशीको दिन साततले दरबारसँगै रहेको भैरवी मन्दिरमा हुने सिन्दुरे जात्राको निम्तास्वरूप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती छ । किंवदन्तीअनुसार जालपादेवी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुर जात्रा गरी हर्ष बढाइँ गरिएको हो ।

जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दूर जात्रा गरिन्छ । सिन्दूर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ । द्वितीयाको राति धामीले भैरवी परिसरमा राँगा र बोकाको बली लिने चलन छ । यस्तै देवीघाटमा पनि भैरवीका पुजारी धामीले जालपादेवीको मन्दिरमा जिउँदो राँगो, बोका र माछाको भोग दिन्छन् ।

फोटो र स्रोतः नुवाकोट सेरोफेरो र सामाजिक सञ्जाल ।

टिप्पणीहरू