बुद्धकृष्णले नवौँ पटक जिब्रो छेडे

बुद्धकृष्णले नवौँ पटक जिब्रो छेडे

भक्तपुरको मध्यपुर थिमि बोडेको खासी टोलमा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन् । अघिल्लो वर्ष पनि जिब्रो छेडेका ४९ वर्षीय बुद्धकृष्णले यो वर्ष नवौँ पटक जिब्रो उक्त कार्य गरेका हुन् ।

जिब्रो छेडिसकेपछि उनले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालक हुन् । जिब्रो छेड्ने जात्राको निम्ति पहिले बजेटको व्यवस्था थिएन । पहिले जसले जिब्रो छेड्ने हो उसले इष्टमित्रलाई भोज खुवाउनुपर्ने थियो ।

तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले गत वर्षदेखि उक्त प्रयोजनको निम्ति एक लाख रुपैयाँ प्रदान गर्न थालेको हो । जिब्रो छेड्नुअघि सम्बन्धित व्यक्ति दुई दिन अघिदेखि भोकै बस्छन् । नखाई बस्दा जिब्रो मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ ।

दुई दिन पछि जिब्रो छेड्ने दिन एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब एक फिट लामो सियोले जिब्रो छेड्ने गरिन्छ । जिब्रो छेड्ने दिन विशेष पहिरन र गोडामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।

जिब्रो छेड्ने व्यक्तिलाई सम्मानस्वरुप बाजागाजाका साथ घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पीठहरुको दर्शन गराइन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकेर बोडे नगर परिक्रमा गरी जात्रा सम्पन्न गरिन्छ ।

शदियौंदेखि चल्दै आएको यो जात्रा कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिएको थियो । त्यसपछि उक्त जात्राले निरन्तरता पाउँदै आएको छ ।

टिप्पणीहरू