लडाकु महिला मेयरमा सिफारिस

लडाकु महिला मेयरमा सिफारिस

-आशिका लम्साल

माओवादी जनयुद्धमा लागेर सैन्य मोर्चामा काम गरेकी लक्ष्मी न्यौपाने (लता) मोरङको सुन्दररहैचा नगरपालिकाको मेयरको उम्मेदवार सिफारिस भएकी छन् । नेकपा माओवादी केन्द्रले उनलाई उम्मेदवार सिफारिस गरेको हो ।

२०५५ सालदेखि माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भएर पूर्ण भूमिगत हुँदै जनयुद्धमा सहभागी लता हाल अखिल नेपाल महिला संघको जिम्मेवारीमा छन् । स्थानीयस्तरमा भिजेकी र हक्की स्वभावकी लता निर्भिक महिला नेतृका रुपमा परिचित छन् ।

जनयुद्धकालमा जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म बनेकी ३९ वर्षीय लताले संकटकालका बेला मजदुर संगठनमा आवद्ध भएर संघर्ष चर्काएकी थिइन् । पार्टीका सबैखाले मोर्चाहरुमा अग्रभागमा रहेर संघर्ष गरेकी उनको स्वभाव सँधै संघर्षका लागि उत्प्रेरित गरिरहने प्रकारको छ ।

हाल अखिल क्रान्तिकारी महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा मोरङ अध्यक्ष रहेकी लता ग्रामीण क्षेत्रमा बसेर पनि निरन्तर पार्टीकै काममा सक्रिय रहँदै आएकी छन् । सुत्केरी अवस्थामा समेत पार्टी काममा सक्रिय भएर लागेकी उनको संघर्षको कथा त्यहाँका स्थानीय सँधै स्मरण गर्छन् ।

२०७४ को निर्वाचनमा माओवादीले उनलाई सुन्दरहरैचाको मेयरमा प्रतिस्पर्धामा उतारेको थियो । तर, उनले चुनाव जित्न सकिनन् । त्यतिबेलाको परिस्थिति स्मरण गर्ने माओवादीभित्र र बाहिरकाहरु अन्तर्घातका कारण लताले चुनाव हार्नुपरेको बताउँछन् । यसपाली पाँच दलीय गठबन्धन भएमा उनले सहजै चुनाव जित्नसक्ने आकलन स्थानीयको छ ।

तर, अघिल्लो निर्वाचनमा उनलाई भारी मतान्तरले हराएर मेयर जितेका शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः अघि सार्ने तयारी गरेकाले गठबन्धन हुँदा लताले टिकट पाउने सम्भावना नरहेको चर्चा पनि छ ।

सभापति देउवा निकट भएकाले र औसतमा काम पनि राम्रै गरेकोले ढकाल नै गठबन्धनको साझा उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ । त्यस अवस्थामा लता प्रतिस्पर्धाबाट रिङ आउट हुन सक्छिन् ।

माओवादीले लतासँगै कुमारी राई र दुश्यन्त भट्टराईलाई पनि उम्मेदवार सिफारिस गरेको छ । उपमेयरमा नवराज चापागाईं, गीताप्रसाद श्रेष्ठ र सीता कडरिया सिफारिस भएका छन् ।

काँग्रेससँग गठबन्धन भएमा सीता र नवराजमध्ये एक जनाले उपमेयरमा प्रतिस्पर्धा गर्न पाउने सम्भावना बढी रहेको माओवादीहरु बताउँछन् । तर, सीता र नवराजमा टक्कर भएमा चाँही मेयरमा सिफारिस गरिएकी लतालाई नै पार्टीले उपमेयरमा प्रतिस्पर्धा गराउने सम्भावना पनि उत्तिकै छ ।

मेयरमा पराजयका बाबजुद गत चुनावमा उपमेयर जितेको सुन्दरहरैचामा विभाजनपछि एमाले कमजोर बनेको छ । जसका कारण तालमेल भएमा मेयर र उपमेयर दुवैमा गठबन्धनका उम्मेदवारको जीत बलियो देखिन्छ ।

टिप्पणीहरू