सिके राउतको टोलीलाई गृहमन्त्रीले भन्नुभयो : संविधान संशोधन गर्न सरकार तयार

सिके राउतको टोलीलाई गृहमन्त्रीले भन्नुभयो : संविधान संशोधन गर्न सरकार तयार

सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेको छ । राउत नेतृत्वको छ जनाको टोलीले गृहमन्त्रीसँगको भेटमा यसअघि सरकारले आफ्नो पार्टीसँग दुई पटक गरेको सहमति कार्यान्वयनमा जोड दिएको हो ।

जनमतसँग सरकारले २०७१ असोज १५ र २०७५ फागुन २४ गते सहमति गरेको थियो । राउतले आफ्नो पार्टी स्थानीय तह निर्वाचनको निम्ति निर्वाचन आयोगमा दर्ता गराएकाले त्यसअघि आफूसँग भएका सम्झौताको पालना गर्न आग्रह गरेको बताइन्छ ।

उनले थुनामा रहेका पार्टीका नेता तथा कार्यकतालाई रिहा गर्नसमेत गृहमन्त्रीसँग माग गरेका हुन् । उनले मधेश आन्दोलनको क्रममा भएका सहमति कार्यान्वयन गर्न जोडदार ढंगले आग्रह गरिएको पार्टी स्रोतले बताएको छ ।

गृहमन्त्री खाँणले भने पूर्ववर्ती सरकारले गरेको सहमतिलाई कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दालाई फिर्ता लिन पहल गरिने आश्वासन दिनुभएको बुझिएको छ । उहाँले संविधान संशोधन गर्न गठबन्धन सरकार सकारात्मक रहेको जानकारी पनि दिनुभएको छ ।

भेटवार्तामा सरकारी पक्षबाट महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी भएको र जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय वसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी भएको बताइन्छ ।

टिप्पणीहरू