हिजो उठाउन पर्ने ल्योसिंद्यो आज बल्लबल्ल

हिजो उठाउन पर्ने ल्योसिंद्यो आज बल्लबल्ल

भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य बल्ल उठेको छ । हिजो राति नै उठाइसक्नु पर्ने ल्योसिंद्य आज दिउँसो मात्रै उठाईएको हो ।

भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्य हिजो साँझदेखि रातभर प्रयास हुँदा पनि उभ्याउने प्रयास सफल भएको थिएन । ५५ हात लामो र ठूलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ ।

तर, ल्योसिंद्य उठाउने नसकेको इतिहास नै भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ ।

यसलाई उठाउन आज पनि बिहानैदेखि प्रयास भएको थियो । त्यो प्रयास साढे तीन बजेमात्रै सफल हुन सकेको थियो । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । ल्योसिंद्यो उठाउने क्रममा पटक-पटक डोरी चुँडेको थियो ।

उठाइएको ल्योसिंद्योलाई परम्परा अनुसार आजै साँझ ढालिन्छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौं जात्राप्रेमी यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँवर्षको चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ आज दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो ।

प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

टिप्पणीहरू