सुदूरपश्चिममा आज सिस्नो लगाउने पर्व

सुदूरपश्चिममा आज सिस्नो लगाउने पर्व

आज नयाँ वर्षकै दिन सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ विशु पर्व मनाइन्छ । परम्परागत रुपमा मनाउने गरिएको यो पर्वको छुट्टै विशेषता छ ।

यो पर्व विशेष गरि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा मनाइने गरिन्छ । कर्णाली प्रदेशका कतिपय ठाउँमा पनि विशु पर्व मनाउने गरिन्छ ।

वातावरणमा आउने परिर्वतनसँगै मावन शरिरमा देखापर्ने विभिन्न किसिमका रोगव्याधि हटाउन यो पर्व मनाइने किम्बदन्ती छ । त्यसैले सुदूरपश्चिमेलीहरुले यस पर्वलाई आयुर्वेदीक पर्वका रुपमा समेत लिने गरेका छन् ।

यो पर्वको अर्को विशेषता सिस्नो लगाएर रमाइलो गर्नु पनि हो । देवरभाउजू, नन्दभाउजू, प्रेमीप्रेमिका र सालीभिनाजुहरूले एकआपसमा सिस्नु लगाएर मनोरंजन लिने गर्छन् ।

सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । अछामका सांस्कृतिकविद् यज्ञराज उपाध्यायका अनुसार सिस्नो पानी लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वासका साथ पर्व मनाउने गरिएको हो ।

यो पर्वको अवसरमा दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मिठा–मिठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाइने गरिएको सांस्कृतिकविद् उपाध्याय बताउछन् ।

उनका अनुसार सबै गाँउलेहरु चउर या कुनै खुल्ला ठाउँमा जम्मघट भई पुजाआज गर्ने गरिन्छ । बाहुनले विशु लठ्ठीको पुँजा गरेसँगै यो पर्व सबै गाउँलेहरुले मनाउने गर्छन् । आजै मात्र मनाइने गरिएको यो पर्वमा विशु खेल खेलेर रमाइलो पनि गर्ने गरिन्छ । साथै, सगुन खेलमार्फत देउडा पनि गाउने गरिन्छ ।

आजकै दिनबाट चुक भएको चरिमारो र बाकोलाई पानीमा पकाएर खाने प्रचलन पनि यसै पर्वसँग जोडिएको छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा समेत खाने गरिन्छ ।

’हाम्रो पुर्खादेखि नै यो खाएमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ भन्ने जनविश्वास छ । वैज्ञानिक आधारमा त प्रमाणित भएको छैन् । जे होस् हामीले यसलाई आर्युवेदिक औषधिको रुपमा लिन्छौ’, सांस्कृतिकविद् उपाध्यायले भने ।

टिप्पणीहरू