सुर्खेतमा गठबन्धन सशक्त, एमालेलाई थप चुनौती

सुर्खेतमा गठबन्धन सशक्त, एमालेलाई थप चुनौती

स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्न व्यस्त छन् । अन्त्रझैँ सुर्खेतमा पनि आगामी बैशाखमा हुने निर्वाचनका लागि प्रमुख दलहरु उम्मेदवार चयन, प्रचारप्रसार र मतदातालाई आफ्नो पोल्टामा पार्न विभिन्न कार्यक्रमलगायत चुनावलक्षित गतिविधिमा सक्रिय रुपमा लागेका छन् ।

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा नेपाली काँग्रेसको राम्रो पकड भएको मानिन्छ । अघिल्लो निर्वाचनमा जिल्लामा काँग्रेस पहिलो पार्टी बनेको थियो । प्रमुख प्रतिपक्ष नेकपा एमाले दोस्रो पार्टी बनेको थियो ।

२०७४ को निर्वाचनमा नेपाली काँग्रेसले चार नगरपालिका र दुई गाउँपालिका, एमालेले दुई गाउँपालिका र एक नगरपालिकामा जितेका थिए । विगतको चुनावमा तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले सुर्खेतमा कुनै पनि पालिकामा प्रमुखमा जित्न सकेन । यसरी हेर्दा काँग्रेस एक्लैले एमालेलाई कडा टक्कर दिएको देखिन्छ ।

अहिले राजनीतिक परिस्थितिलाई हेर्दा ७७ वटै जिल्लाका सबै पालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल हुने हो भने धेरैजसोमा गठबन्धनका उम्मेदवार जित्ने सम्भावना रहेको बताइन्छ । गठबन्धनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा छन् ।

अघिल्लो निर्वाचनमा कुन कुन राजनीतिक दलको कस्तो मतपरिमाण थियो ? त्यसको आधारमा प्रमुख राजनीतिक दलहको आगामी चुनावको सम्भावित मतपरिमाण कस्तो हुनेछ एक पटक हेरौं ।

गुर्भाकोट नगरपालिका

उक्त नगरमा नेपाली काँग्रेसबाट १० हजार ६३ मत ल्याएर हस्त पुनले प्रमुख पदमा जित हात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर खत्रीले सात हजार एक सय २३ र माओवादी केन्द्रका हिराबहादुर थापाले १५ सय ९१ मत ल्याएर पराजित भएका थिए । १४ वडा रहेको नगरमा काँग्रेसले ११ वडा र एमालेले जम्मा तीन वडामा मात्र जित हासिल गरेको थियो ।

चिङ्गाड गाउँपालिका

उक्त गाउँपालिकामा पनि काँग्रेसका देवबहादुर चन्द २९ सय ४९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका बखतबहादुर खत्री २३ सय ८५ र माओवादीका बोधविक्रम जिसी १८ सय २१ मतले हारेका थिए ।

चौकुने गाउँपालिका

यो पालिकामा अन्य पार्टीको तुलनामा एमाले बलियो रहेको छ । अघिल्लो चुनावमा एमालेका धीरबहादुर शाहीेले ३२ सय ४२ मतले अध्यक्षमा जितेका थिए । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गजराज जोशी २२ सय ५० र माओवादी केन्द्रका खड्क विक २७ सय ३३ मत ल्याएर पराजित भएका थिए । पाँच वडामा एमाले, तीन वडामा काँग्रेस, दुई वडामा माओवादी केन्द्रले जीत हासिल गरेका थिए ।

पञ्चपुरी नगरपालिका

उक्त नगरपालिकाको प्रमुखमा काँग्रेसका उपेन्द्रबहादुर थापा ५१ सय ३४ मतले विजय भएका थिए । त्यस्तै पालिकामा कमजोर देखिएको एमालेबाट प्रमुखमा लडेका मनबहादुर कामी ४७ सय ३२ मत ल्याएर पराजित भएका थिए । माओवादी केन्द्रबाट धनबहादुर विकले १३ सय ५८ मत ल्याएर हारेका हुन् । यता, छ वटा वडामा काँग्रेस, पाँच वा वडामा एमालेले जित हासिल गरेको थियो ।

बराहताल गाउँपालिका

यो पालिकामा पनि काँग्रेसले नै जितेको हो । उक्त गाउँपालिकामा काँग्रेसका तेजबहादुर बस्नेत ३२ सय ३१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उनका प्रतिस्पर्धी एमालेका ताराकेशर गौतमले २९ सय १४ र माओवादीका बलबहादुर कठायतले १९ सय ८४ मत ल्याए पनि पराजित भएका थिए । १० वटा वडा रहेका यस पालिकामा काँगे्रस चार, एमाले तीन र माओवादी केन्द्रले दुई वडामा जितेका थिए ।

एक जना स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका थिए ।

वीरेन्द्रनगर नगरपालिका

काँग्रेसका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच मत ल्याएर नगरपालिका प्रमुखमा जीत हासिल गरेका थिए । एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका प्रतिस्पर्धीले १३ हजार आठ सय ९९ र माओवादी केन्द्रका उम्मेदवारले ५२ सय ३७ मत ल्याएका हुन् । वडामा भने छ वटामा काँग्रेस, नौ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेको थियो ।

भेरीगंगा नगरपालिका

काँगे्रसले उक्त नगरपालिकाको प्रमुखमा पनि जित हात पारेको हो । भुपेन्द्रबहादुर चन्द नगरप्रमुख छन् । उनले सात हजार पाँच सय ४३ मत ल्याएर जितेका थिए । एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका यज्ञप्रसाद ढकालले झिनो मतान्तरले हार बेहोरेका थिए । वडामध्ये चार वटामा काँग्रेस, चार वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका हुन् ।

लेकवेशी नगरपालिका

उक्त नगरमा एमालेका गगनसिंह सुनारले ५७ सय ५३ मत ल्याएर विजयी भएका थिए । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उमेशकुमार पौडेलले ४३ सय ९९ र माओवादी केन्द्रका खड्गबहादुर घर्तीले २१ सय ५८ मत ल्याएर हारेका हुन् । वडामा भने एमाले आठ, काँग्रेस तीन र माओवादी केन्द्रले एउटा वडा जितेका थिए ।

सिम्ता गाउँपालिका

एमालेले उक्त गाउँपालिका अध्यक्षमा पनि जीत हात पार्न सफल भएको थियो अहिले एमालेबाट निर्वाचित कविन्द्र कुमार केसी गाउँपालिका अध्यक्ष छन् । उनले ५३ सय ५५ मत ल्याएर जितेका थिए । काँग्रेसबाट उम्मेदवारी दिएका खड्गबहादुर पोखरेलले झिनो मतान्तरले हारेका थिए । आठ वटा वडा रहेको उक्त पालिकामा एमालेले पाँच र काँग्रेसले तीन वडामा जितेका हुन् ।

गठबन्धन र एमालेको अवस्था

पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएमा जिल्लाका अधिकांश पालिकामा एमाले एक्लैलाई जित्न हम्मेहम्मे पर्ने देखिन्छ । विगतको निर्वाचनको मतपरिमाणलाई विश्लेषण गर्दा समग्रमा सुर्खेतमा एमाले कमजोर देखिन्छ । अर्कोतर्फ एमालेभित्र देखिएको राजनीतिक द्वन्दका कारण पनि पार्टी मनौवैज्ञानिक रुपमा दुई भागमा विभाजन भएको बताइन्छ ।

अहिले एमालेबाट छुटिएका नेताहरु नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा सामेल छन् । उक्त पार्टी अन्य प्रमुख दलहरुसँग चुनावमा तालमेल गरेर जाने पक्षमा देखिन्छ । यसबाट पनि एमालेको केही मत यताउता हुन सक्ने सम्भावना प्रवल छ ।

टिप्पणीहरू