वर्षको अन्तिम दिन सरकारको अर्को कूटनीतिक कमजोरी

वर्षको अन्तिम दिन सरकारको अर्को कूटनीतिक कमजोरी

२०७८ सालको अन्तिम दिन नेपाल सरकारले गम्भीर कूटनीतिक कमजोरी गरेको छ । डेढ महिनाअघि युक्रेन मामिलामा नराम्रोसँग चुकेको परराष्ट्र मन्त्रालय आज दक्षिण एसियाली मुुलुकहरुको विषयमा अनावश्यक टिप्पणी गरेर फसेको हो ।

असंलग्न आन्दोलनको पक्षपाती रहेको बताउने वर्तमान सरकारको परराष्ट्र नीति एकलकाँटे भएको भन्दै आलोचना शुरु भएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनले नेपालको कच्चा कूटनीतिको अर्को उदाहरण देखाएको हो ।

नजिकैका मित्रराष्ट्र पाकिस्तान र श्रीलंकाको आन्तरिक विषयमा बढी जान्ने भएर बोल्दा परराष्ट्र मन्त्रालय विवादमा तानिएको बताइन्छ । मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालमार्फत् सरकारले अनावश्यक रुपमा श्रीलंका र पाकिस्तानमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएर अनावश्यक विवाद निकालेको कूटनीतिज्ञहरुले नै बताएका छन् ।

हामी आफैं कति पानीमाथि छौं, त्यो सबै संसारलाई थाहा छ । वित्तीय र आर्थिक संकटतर्फ स्वयम् नेपाल अघि बढिरहेको कसैको सामु छिपेको छैन ।

नेपाल महाशक्ति राष्ट्र अमेरिका,रुस वा चीनको भूमिकामा छैन । यो क्षेत्रीय शक्ति राष्ट्र भारतजस्तो पनि होइन । यस्तो अवस्थामा रहेको मुलुकले आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका र संवैधानिक प्रक्रियाको कार्यान्वयन गरिरहेको पाकिस्तानको आन्तरिक मामिलामा अनावश्यक रुपमा छुच्चो मुख देखाउनुले हाम्रो असंलग्न र पञ्चशीलको परराष्ट्र नीतिको धज्जी उडेको बताइन्छ ।

ती मुलुकमा कुनै मानवीय संकट, कुनै युध्द वा काबुबाहिरको परिस्थिति उत्पन्न भएको पनि छैन । हामी आफैं कति पानीमाथि छौं, त्यो सबै संसारलाई थाहा छ । वित्तीय र आर्थिक संकटतर्फ स्वयम् नेपाल अघि बढिरहेको कसैको सामु छिपेको छैन । पाँच वर्षको बहुमत पाएको सरकार आफ्नै कारणले ढलेर अल्पमतको तत्कालीन प्रमुख विपक्षी दलले मुुलुक चलाएको पनि यहि नेपाल हो । यस्तो अवस्थाबाट गुज्रिरहेको देशले नजिकैको मित्र राष्ट्रहरुप्रति औंला ठड्याउने कार्य कसको इशारामा गरियो र किन गरियो भन्ने घाम जत्तिकै छर्लङ भएको परराष्ट्रविद्हरुले बताएका छन् ।

आजको पत्रकार सम्मेलनमा विनाप्रसंग नेपालले श्रीलंका र पाकिस्तानको घटनाबाट नेपालले पाठ सिकेर अघि बढ्ने बताएको छ । तर,यस्ता खालका पाठ सिक्न मुलुकबाहिर जानै नपर्ने गरी हाम्रै समाजमा बग्रेल्ती उदाहरण रहेकोतर्फ मन्त्रालय र सरकारको ध्यान गएको पाइएको छैन ।

यसअघि युक्रेनमाथि रुसले गरेको आक्रमणको चौबिस घण्टा नबित्दै नेपालले विवादित वक्तव्य निकालेर दशकौंदेखि मित्रवत् व्यवहार गर्दै आएको रुसलाई बेफ्वाँकमा चिढाउने कार्य गरिएको थियो । अहिले फेरि श्रीलंका र पाकिस्तानलाई चिढाइएको आरोप छ।

टिप्पणीहरू