अमेरिकामा दिनहुँ गोलीकाण्ड

अमेरिकामा दिनहुँ गोलीकाण्ड

अमेरिकामा दिनहुँजसो गोलीकाण्ड हुन थालेको छ । स्थानीय समयअनुसार हिजो बिहान सबेरै न्यूयोर्कको ब्रुकलिन सबवेमा गोली हानाहान भएको छ । उक्त घटनामा कम्तिमा २३ जना घाइते भएका छन् ।

सबवेमा १० जनालाई गोली लागेको बताइएको छ । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र शुरुमा पाँच जनाको अवस्था गम्भीर थियो । संदिग्धले ३३ राउण्ड गोली चलाएका थिए ।

सनसेट पार्कको ३६ औं स्ट्रीट स्टेसनतिर रेल आउँदै गरेको समयमा निर्माणकार्यमा संलग्न हुने कामदारले लगाउने भेस्ट र ग्यास मास्क लगाएका व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीको भनाइ छ । उक्त प्रहार रेलमा सवार यात्रु र छेवैको प्लेटफर्मतिर रहेका स्थानीतर्फ लक्षित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीले घटनामा आतंककारी गतिबिधिको गन्ध नआएको अनुमान गरेको छ । आक्रमणकारी भागेकाले खोजी कार्य भने जारी राखिएको छ ।

उता, आयोवा राज्यको एउटा नाइट क्लबमा आइतबार राति भएको गोली हानाहानमा दुई जना मारिएका छन् । घटनामा अन्य १० जना घाइते भएका हुन् ।त्यहाँ पनि मध्यरातको समयमा भएको घटनामा संलग्न अपराधी भागेकाले प्रहरीले भोलिपल्टसम्म खोजी कार्य जारी राखेको थियो ।स्रोतः सिन्ह्वा र अन्य समाचार एजेन्सीहरु ।

टिप्पणीहरू