नयाँ वर्षसँगै तिमाल जात्रा मनाउँदै तामाङ जाति

नयाँ वर्षसँगै तिमाल जात्रा मनाउँदै तामाङ जाति

विगत लामो समयदेखि तामाङ जातिले मनाउँदै आएको चाडपर्व मध्ये एक हो– तिमाल जात्रा । पौराणिक कालदेखि मनाउँदै आएको भनिएको यो जात्रा विशेषतः काठमाडौं बौद्ध र स्वयम्भूमा लाग्छ । चैत पूर्णिमाको अघिल्लो दिन वौद्ध स्तूपामा जात्रा लाग्ने गर्दछ । त्यसैगरी, चैत पूर्णिमाको दिन बालाजुको बाइसधारा स्नान गरेर स्वयम्भू स्तूपाको ठूलो मेलामा तामाङहरुको बाक्लो सहभागिता रहन्छ ।

जात्रामा काभ्रेपलाञ्चोक जिल्लाको तिमाल क्षेत्रका तामाङहरुको बाक्लो सहभागिता रहने भएकाले यसलाई तिमाल जात्रा पनि भन्ने गरिएको हो । यद्यपि, जात्रामा नेपालका विभिन्न जिल्लाका साथै भारत, बर्मा, भुटानदेखिका तामाङहरू स्वयम्भू र बौद्धमा आउने गरेका छन् । विभिन्न जिल्लाका तामाङहरुले मृतक आफन्तजनको मोक्षको कामना गर्दै रातभर बौद्ध स्तूपामा बत्ति बाल्छन्् । स्तूपाको परिक्रमा गर्ने, सेलो गाउने यो जात्राको प्रमुख विशेषता हो ।

बौद्ध स्तूपाको प्रदक्षिणा गरी, मानेहरू स्तूपाको उत्तरतर्फको तेस्रो तल्लामा रहेको एकसय आठ खोपामा दाहिने पारी घुमाइन्छ । त्यसपछि, लामा पुरोहितलाई मृतक नातेदारहरुको मोक्षका लागि पाठपूजा समेत गर्न लगाउँछन् । हालसम्म पनि यो जात्राको उत्पत्तिको ठोस तर्क र प्रमाण भने पाउन सकिएको छैन ।

तर, बौद्ध किंवदन्तीअनुसार सत्ययुगमा विपश्वी बुद्धले नागार्जुन डाँडामा साधना गरी काठमाडौँ उपत्यकामा बनेको दहमा कमलको बीज रोप्नुभयो । विपश्वी बुद्धले रोप्नुभएका कमलको फूलमै स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको बौद्ध दर्शनशास्त्रीय मत छ । विपश्वी बुद्धले कमलको फूल रोप्नुभएको सम्झनामा त्यसैबेलादेखि जात्रा शुरु भएको बताइन्छ ।

भोलि शुक्रबार बौद्ध स्तुपामा हुने तामाङ समुदायको ऐतिहासिक सांस्कृतिक पर्व तिमाल जात्रामा हजारौ तामाङहरुको सहभागिता हुँदैछ । जात्राका लागि स्वयम्भू र बौद्धमा तयारी पनि थालिएको छ ।

टिप्पणीहरू