कर्णालीको सुर्खेतमा धेरै, डोल्पामा थोरै दल भिड्दै

कर्णालीको सुर्खेतमा धेरै, डोल्पामा थोरै दल भिड्दै

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने राजनीतिक दलको संख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिँदैछन् ।

सुर्खेतमा विभिन्न २५ वटा दल र डोल्पामा मान्यताप्राप्त छसहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ वटा राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना गरी २५ दलले निर्वाचनमा भाग लिन लागेको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ ।

राष्ट्रिय मान्यताप्राप्त नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहितका दलले निर्वाचनमा भाग लिने भएका हुन् ।

अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र उक्त प्रदेशमा चुनाव जितेका थिए ।

कर्णालीका अन्य जिल्लामध्ये रुकुमपश्चिम र सल्यानमा १२ दल, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने कार्यालय प्रमुख दुर्गा चालिसेले जानकारी दिनुभयो । उहाँले ती दलले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने र बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ ।

यसैबीच कर्णाली प्रदेशमा १० जना निर्वाचन अधिकृत फेरिएका छन् । यसअघि तोकिएका निर्वाचन अधिकृतलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएको हो ।

जसमा सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका तथा दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाइएको छ ।

टिप्पणीहरू