गठबन्धनमा सामेल दलले अन्य दलसँग तालमेल गर्न नपाइने

गठबन्धनमा सामेल दलले अन्य दलसँग तालमेल गर्न नपाइने

लुम्बिनी प्रदेशमा गठबन्धनमा आवद्घ पाँच दलले अन्य पार्टीसँग चुनावी एकता वा तालमेल गर्न नपाउने निर्णय गरेका छन् । आज लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुत बनाउन सहमति जनाउँदै अन्य कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने, जिल्लास्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह समेत गरेको छ । ‘संयुक्त स्थलगत अनुगमन कार्यदल’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कार्यदलमा नेपाली काँग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमाकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री छन् ।

बैठकमा नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष बद्री आलमको सहभागिता थियो ।

टिप्पणीहरू