मासु खाने निहुँमा विद्यार्थीबीच हानाहान

मासु खाने निहुँमा विद्यार्थीबीच हानाहान

भारतको जवाहरलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच झडप भएको छ । अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि झडप भएको हो ।

झडपमा कम्तीमा १६ जना घाइते भएको बताइएको छ । विश्वविद्यालय प्रशासनले क्याम्पसको शान्ति र सद्भावमा खलल पार्ने घटनामा संलग्न नहुन विद्यार्थीहरूलाई चेतावनी दिएको छ ।

हिजो होस्टलको मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताएकी छन् ।

झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । ‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन् ।

आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबीभीपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन् । ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उनले भने ।

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू) ले नियोजित ढंगले षड्यन्त्र गरेको कुमारले आरोप लगाए । यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू