मुद्दाको चापमा अदालत, मारमा नागरिक

मुद्दाको चापमा अदालत, मारमा नागरिक

जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दाको चाप बढेको छ । २०७८ भदौदेखि एउटा इजलास खाली छ । दुईजना न्यायाधीशबाट भइरहेको न्याय सम्पादनमा मुद्दाको चाप बढेको हो । कोरोना भाइरस तथा अन्य कारणले दुई वर्षभन्दा धेरै अवधिका मुद्दाको अवस्था पनि त्यस्तै रहेको अदालतले बताएको छ ।

‘मुद्दामा अंग पुग्ने प्रमाण जुट्न नसक्नु तथा जनशक्ति अभावका कारण समयमै फस्र्याेट हुन सकेका छैनन्’– श्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो । वैशाख ३० गतेको स्थानीय निर्वाचनले पनि फैसलामा केही प्रभाव पार्नेछ ।

२०७८ साउनदेखि फागुन मसान्तसम्म १ हजार १ सय ३६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष दर्ता भई फैसला हुन बाँकी हजार २ सय २२ थानसमेत गरी चालु वर्षका लागि २ हजार ३ सय ५८ थान मुद्दा रहेको अदालतका घिमिरेले जानकारी दिनुभयो ।

सरकारवादी देवानी मुद्दा फस्र्याेट गर्न बाँकी छैन । दुनियाँवादी देवानीमा सबैभन्दा धेरै ९ सय ५५ वटा फस्र्याेट हुन बाँकी छ । अघिल्लो वर्षका दुनियाँवादी देवानी ७ सय ३२ वटा मुद्दा बाँकी हुँदा ८ सय ८ वटा नयाँ दर्ता भएका थिए । दुनियाँवादी देवानी चालु वर्षका लागि १ हजार ५ सय ४० वटा थिए ।

फागुन महिनामा मात्रै ९५ वटा फस्र्याेट भएका छन् । ६ महिना अवधिका १ सय ८८, एक वर्ष अवधिका १ सय ५९, डेढ वर्ष अवधिका १ सय २९, २ वर्ष अवधिका २१ वटा र २ वर्ष नाघेका ८८ वटा गरी ५ सय ८५ वटा मुद्दा फस्र्याेट भएका छन् । चालु वर्ष दुई जना न्यायाधीशले ८ सय ३० वटा मुद्दा फैसला गरेका छन् । भदौदेखि एउटा इजलास खाली छ ।

टिप्पणीहरू