अनेकौं आशंका र टुट फुटबाट नाफा–घाटाका आयाम

अनेकौं आशंका र टुट फुटबाट नाफा–घाटाका आयाम

लामो समयदेखिको अन्योल र आशंकालाई चिर्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भनेको छ । गत मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ‘स्थानीय परिस्थिति र आवश्यकताका आधारमा’ तालमेल गर्ने औपचारिक निर्णय गरेसँगै बैशाख ३० को स्थानीय चुनावमा पाँच दलबीच गठबन्धनका निम्ति संयन्त्रहरु तलैसम्म बन्न थालेका छन् ।

गठबन्धनलाई लिएर नेतैपिच्छे फरक–फरक धारणा आइरहेका बेला कांग्रेस बैठकले गरेको उक्त निर्णयले चुनावी तालमेलको ढोका खुला गरेपनि माओवादी र एकीकृत समाजवादीले चाहेजस्तो देशव्यापी गठबन्धन भने नहुने निश्चित छ । कांग्रेसले ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा’ भनेर निर्णय गरेकोमा गठबन्धनका अन्य दलहरु असन्तुष्ट छन् । पछिल्लो गठबन्धन बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखै खोलेर कांग्रेसको निर्णयले गठबन्धनको मर्म र भावनाको प्रतिनिधित्व गर्न नसकेको टिप्पणी गर्दै चर्को असन्तुष्टि जनाउनुभएको चर्चा छ ।

कांग्रेसको निर्णयलाई मसिनो गरी विश्लेषण गर्ने हो भने गठबन्धनका सबै दल आफ्नो राजनीतिक लाभका लागि जता पनि तालमेल गर्न स्वतन्त्र हुनेछन् । काँग्रेस बलियो रहेको र स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णयको अर्थ त्यही बुझिन्छ । सायद यहि बुझेर होला प्रचण्डले देउवाकै सामुन्ने काँग्रेसको निर्णयले आफूलाई एमालेसँग मिल्नुपर्ने दबाब बढाएको बताउनुभएको । यद्यपि बालुवाटारमा बसेको बैठकले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै वडा तहसम्म संयन्त्र बनाउने निर्णय भने गरेको छ ।

हुन त राजनीतिमा सबै सम्भावनाका विकल्पहरु खुला हुने भन्दै प्रचण्डले यसअघि पनि सार्वजनिक रुपमै एमालेसँग गठबन्धन हुन सक्ने संकेत गर्दै आउनुभएको थियो । तर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुकै अगाडि मुखै खोलेर माओवादी–एमाले गठबन्धन हुनसक्ने संकेत दिएपछि राजनीतिले नयाँ कोर्ष लिने त होइन भन्ने शंका उब्जाइदिएको छ । यस्तो सम्भावनालाई किन पनि नकार्न सकिंदैन भने लगभग यस्तै परिस्थितिका बीचबाट कांग्रेससँगको गठबन्धन टुटाउँदै ०७४ सालमा एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनावमा जाने निर्णय गरेका थिए ।

सत्ता गठबन्धनमै रहेको र स्थानीय तहको चुनाव कांग्रेससँग मिलेर लडेको माओवादी एकाएक संघीय चुनावमा वाम गठबन्धनको निर्णयमा पुगेको हो । त्यतिबेला पनि आफ्ना नेताहरु गठबन्धनप्रति अनुदार भएकै कारण माओवादी एमालेतिर जान बाध्य भएको गोपालमान श्रेष्ठले खुलस्त बताइसक्नुभएको छ । कतिपय एमाले र माओवादी नेताहरुले तिक्ततापूर्ण सम्बन्धमा रहेका दुई वाम पार्टी अहिले नै एक ठाउँमा आउने अवस्था नरहेको बताउने गरेका छन् । तर, स्मरणीय कुरा के छ भने, ०७४ सालमा वाम गठबन्धन बन्नु केही दिनअगाडिसम्म यी दुई पार्टीबीच अहिलेजस्तै आरोप–प्रत्यारोप र तिक्ततापूर्ण सम्बन्ध थियो ।

सम्भावित वाम गठबन्धनबारे काँग्रेस बैठकमा पनि चर्कै कुरा उठेको बताइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले वामपन्थी एकता गराउन देशी–विदेशी शक्ति केन्द्रहरु खुलेरै लागेको रिपोर्ट मात्र सुनाउनु भएन त्यसलाई रोक्न नसके काँग्रेसले ०७४ सालको परिणाम भोग्नुपर्ने पनि बताउनुभयो । माओवादीलाई सत्ता गठबन्धनमा इन्गेज गराएरमात्रै वाम एकता तोड्न सकिने तर्कसहित खाँणले त्यसका लागि पाँच दलबीच चुनावी तालमेल हुनुपर्नेमा जोड दिनुभएको थियो । चर्को विवादका बीच कांग्रेस बैठक ’स्थानीय आवश्यकताका आधारमा’ गठबन्धनमा जाने निर्णयमा पुग्नुका पछाडि सम्भावित वाम तालमेल रोक्ने उसको रणनीति प्रष्टै छ ।

०७४ सालको चुनावमा वाम गठबन्धन हुँदै पार्टी एकतासम्मको अवस्था बन्नुका पछाडि कांग्रेसका नेताहरुले उत्तरी छिमेकी चीनलाई निर्णायक कारण मान्ने गरेका छन् । प्रमुख दुई कम्युनिष्ट पार्टीलाई एक ठाउँमा उभ्याउन चिनियाँ कम्युनिष्ट पार्टीको सदाशयता थियो भन्ने तर्कलाई अन्यथा मान्न पनि हुँदैन । गृहमन्त्रीले चीनको नाम नलिए पनि एमाले र माओवादीलाई मिलाउन अहिले पनि चीन सक्रिय रहेको उहाँको भनाइले संकेत गरेको छ ।

त्यसो त एमाले र माओवादीको दोस्रो तहका नेताहरु एउटै समय पारेर चीन जानु र उताका विदेशमन्त्री वाङ यीले ओली र प्रचण्डलाई महत्वका साथ भेटघाट गर्नुले पनि वामपन्थी तालमेलको तयारीको पूर्वसंकेतका रुपमा कतिपयले विश्लेषण गर्ने गरेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक टोली चीन उडेकै दिन माओवादी नेता देव गुरुङ, वर्षमान पुन र ओनसरी घर्ती पनि उत्तरतिर लागेका थिए । यसले वामपन्थी एकता हुने राजनीतिक बजारमा चलेका चर्चालाई बल पु¥याएको छ ।

यहि बुझेर होला चुनावी रणनीति बनाउन बसेको कांग्रेस बैठकमा गृहमन्त्रीको भनाइ थियो – काँग्रेसले गठबन्धन नगरे माओवादी र एमाले मिल्छन्, जुन कुरा कांग्रेसका लागि अकल्पनीय हुन्छ । त्यसक्रममा उहाँले ०७४ सालको चुनावमा दुई वामपन्थी पार्टी मिल्दा कांग्रेसले भोगेको परिणामबारे पनि गठबन्धनविरुध्द उभिएका नेताहरुलाई स्मरण गराउनुभएको थियो । काँग्रेस बैठकको अघिल्लो दिन खुमलटार पुगेर गृहमन्त्रीले प्रचण्डसँग भेटघाट गर्नुलाई पनि सम्भावित वाम तालमेल रोक्ने कांग्रेसको प्रयासका रुपमा हेरिएको थियो ।

काँग्रेस बैठकमा गठबन्धनको विपक्षमा रहेका शेखर कोइराला, गगन थापा, धनराज गुरुङहरुले माओवादीले ०७४ सालको चुनावमा धोका दिएकाले गठबन्धन गर्न नहुने तर्क गरेका थिए । सत्ता गठबन्धनमा हुँदाहुँदै माओवादीले एमालेसँग वाम गठबन्धन गरेर कांग्रेसलाई धोका दिएकाले अहिले पनि यस्तो नहुने ग्यारेन्टी सभापति देउवाले लिनुपर्ने उनीहरुको भनाइ थियो । त्यतिबेला कांग्रेससँगै गठबन्धनमा रहेको माओवादी एकाएक एमालेसँग तालमेल गर्न पुगेको थियो । फलतः प्रदेश तथा संघको चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाइ सिट जित्दा समानुपातिकतर्फ उलेख्य मत ल्याएर पनि कांग्रेस प्रत्यक्षतर्फ २४ सिटमा खुम्चिनु परेको थियो ।

गगन थापाहरुले माओवादीले धोका दिएको आरोप लगाए पनि गठबन्धनप्रति कांग्रेसको अनुदार नीतिसमेत त्यतिबेला वाम गठबन्धन बन्नुमा जिम्मेवार रहेको मानिन्छ । त्यतिबेला माओवादीसँग गठबन्धन गर्न कांग्रेस नेतृत्वले अनिच्छा देखाएकै कारण वाम गठबन्धन बनेको कांग्रेस र माओवादीका नेताहरुले नै भन्ने गरेका छन् । सभापति देउवाले परिस्थितिलाई नबुझेका कारण वाम गठबन्धन बनेको र त्यसले कांग्रेसलाई चुनावमा अकल्पनीय क्षति पुगेको भन्दै देउवाको राजीनामा माग्ने नेताहरु नै अहिले गठबन्धनको विरुध्दमा छन् ।
कांग्रेसी मनोविज्ञान हेर्दा ०७४ सालको परिस्थिति नदोहोरियोस् भन्नेमा देउवा भने सचेत देखिनुहुन्छ ।

जुन मिसनका लागि गठबन्धन सरकार निर्माण भएको हो त्यसलाई चुनावसम्म लैजानुपर्ने दायित्व काँग्रेसकै हुने कुरामा बैठकमा कसैले पनि बिमति नराखेको पनि स्रोतले दाबी ग¥यो । तर चुनावी तालमेल गर्दा केन्द्रबाट हस्तक्षेप हुनसक्ने आशंकाले एउटा पक्ष गठबन्धनको विरुध्दमा खुलेर उभिएको स्रोतको अनुमान छ । ‘यहि गठबन्धन सरकारले स्वच्छ, निष्पक्ष निर्वाचन गर्नुपर्छ भन्ने हामी सबैको साझा मिसन हो । तर, चुनावमा पनि गठबन्धन गर्नुपर्छ भन्नेचाहिँ होइन’, उनले भने, यद्यपि हामी सबै पार्टीले गरेको निर्णयको पक्षमै छौँ ।

कांग्रेस र माओवादी गठबन्धनको राजनीतिक जस्टिफाई नहुने र दुबैतर्फका मतदाताले एक अर्कालाई भोट नहाल्ने विगतको दृष्टान्त दिँदै कांग्रेसका कतिपय नेताले गठबन्धनको औचित्यमाथि प्रश्न उठाउने गरेका छन् । तर, ०७४ सालको चुनावमा कांग्रेसभित्रकै अन्तरद्वन्द्व र आपसी कलहले कतिपय ठाउँमा गठबन्धनको अभ्यास असफल भएको अर्कोथरी काँग्रेस नेताहरु तर्क गर्छन् । त्यसैले पहिले आफैंभित्रको आन्तरिक एकतालाई बलियो बनाएर गठबन्धन गर्नुपर्ने मत उनीहरुले राख्दै आएका छन् ।

गठबन्धनको विपक्षमा रहेका कांग्रेसका नेताहरुलाई टिकट वितरणमा देउवाले एकलौटी गर्न सक्ने आशंका पनि छ । वाम गठबन्धन गरेर चुनावमा जाँदा अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीले आफूनिकटलाई टिकट दिएर माधव नेपाल खेमालाई रित्तै पारिदिएको चित्र देखेका कांग्रेसका एक नेता भन्छन्, ’ गठबन्धन हुँदा स्वभाविक रुपमा सबैतिर हाम्रा उम्मेदवार हुँदैनन् । कांग्रेसका उम्मेदवार हुने ठाउँमा पनि सभापतिले चाहेका र रोजेका मात्रले पाउने हो कि भन्ने एउटा त्रास छ । गठबन्धनविरुध्दको आवाज उनीहरुकै हो ।’

तर, तल्लो तहबाटै उम्मेदवार सिफारिस हुने भएकाले केन्द्रबाट देउवाले थोपर्ने आशंकामा गठबन्धनकै विरोध गर्नुको अर्थ नहुने संस्थापनपक्षीय नेताहरुको भनाइ छ । ‘टिकट सिफारिस गर्ने तलका कमिटीहरुमा देउवाका मान्छे मात्र छैनन् । त्यहाँ शेखर कोइराला पक्षधर पनि छन् । त्यसैले माथिबाट हस्तक्षेप हुन्छ भनेर गठबन्धन गर्न हुँदैन भन्नु गलत सोच हो’, उनले भने ।

तिनै नेता भन्छन्, ‘हिजो वाम गठबन्धन रोक्न नसक्दा कांग्रेसले हारेको भनेर सभापतिज्यूको राजीनामा माग्ने नेताहरु अहिले आफैँ गठबन्धनको विपक्षमा हुनुहुन्छ, यदि माओवादी र एमाले मिलेर चुनावमा गए भने परिणाम कस्तो आउँछ उहाँहरुले पनि हिसाब गर्नुभएकै होला । त्यतिबेला कसले कसको राजीनामा माग्नु पर्ने हो सबैले बिचार गरिराख्दा हुन्छ ।’

गठबन्धनका अन्य पार्टीहरुप्रति कांग्रेस नेताका अराजनीतिक टिप्पणी र आफूलाई मात्र लाभ हुने गरी चुनावी तालमेल गर्ने उसको चलाखीपूर्ण निर्णयले जवर्जस्ती वाम गठबन्धनको परिस्थिति निम्ताइरहेको टिप्पणी पनि हुने गरेको छ ।

टिप्पणीहरू