खुरुखुरु पैसा लिने, तिर्ने बेला झुलाउने ?

खुरुखुरु पैसा लिने, तिर्ने बेला झुलाउने ?

आर्मीको समेत पैसा खाएर झुलाउने दलालले अरु कतिलाई झुक्यानमा पारेका होलान् ? वैदेशिक रोजगारीको नाममा पैसा लिने तर न खुरुक्क विदेश पठाउने, न सुरुक्क पैसा फिर्ता दिने १ महिला हुन् उनी । चितवन, भरतपुरको हाकिमचोकमा छ उनको घर । लक्ष्मी गिरी नाउँ । भरतपुरमै भाटभटेनी सुपरमार्केट अगाडि स्काई जब लिंक भन्ने अफिस चलाएर युवाहरुलाई ठगेको कुरा हो यो । नवलपरासी, गैंडाकोटका ५/६ जना युवाको लाखौं रकम उनले खाएकी छन् ।

गैंडाकोट–८ निवासी कृष्णबहादुर थापा पूर्व भारतीय सैनिक हुन् । आज भन्दा दुई वर्ष अगाडि टिभी हेर्दा वैदेशिक रोजगारीको आकर्षक विज्ञापन देखे । बहराइनमा सेक्युरिटी गार्डको काम दिलाउनेबारे सोही जब लिंकको विज्ञापन थियो । त्यो देखेपछि कृष्णले अन्य केही भूपू सैनिक साथीहरुलाई पनि खबर गरे । कृष्णसहित मनबहादुर थापा, इन्द्रबहादुर थापा, कृष्णप्रसाद पौडेल लगायत ६ जना भएर स्काई लिंकमा गए जबबारे बुझ्न । तलब नेपाली रुपैयाँ एकलाख ६० हजार हुने, जान ६ लाख लाग्ने बताइयो । तीन महिनामा बहराइन पठाउने भन्दै लक्ष्मीले त्यसका लागि सुरुमै दुई लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने, अरु पैसा भिसा आएपछि दिँदा हुने बताइन् । दुई महिनामै भिसा आउँछ भनेपछि उनीहरुले दुई/दुई लाख रुपैयाँ बुझाइहाले । तर दुई महिनामा भिसा आएन । अरु एक÷दुई महिना भन्दै लक्ष्मीले थामथुम पार्न थालिन् ।

हुँदाहुँदा ६/७ महिनासम्म भिसा नआएपछि कृष्णहरुले अब विदेश नजाने भन्दै रकम फिर्ता माग्न थाले । बुझाएको रकमको रसिद समेत नदिएको अवस्थामा लक्ष्मीले पछि दिन्छु भनी टार्न खोजिन् । कृष्णहरुले कागज बनाउन माग गरेपछि २०७५ असार १२ गते लक्ष्मीका छोरा प्रसन गिरीले व्यापारिक प्रयोजनका लागि आजको मितिमा दुई लाख रुपैयाँ कर्जा लिएको र २०७५ पौष १० गतेसम्म उक्त रकम बुझाउँछु भन्ने व्यहोराको तमसुक बनाएर प्रत्येकलाई दिइयो । त्यो भाका पनि टर्दै गयो । लक्ष्मीले अफिस पनि बन्द गरिन् ।

यसबीच, दुई÷दुई लाख रुपैयाँ उल्लेख गरी राष्ट्रिय वाणिज्य बैंकको चेक काटेर सबैलाई दिइयो । तर बैंकमा जाँदा रकम थिएन । त्यसपछि फेरि कृषि विकास बैंकको चेक दिइन् लक्ष्मीले । त्यहाँ पनि रकम थिएन । यसरी झुलाउने मात्र काम गरेपछि ६ जना आ–आफ्नी श्रीमतीसमेत लिएर लक्ष्मीको घरमा पुगे । त्यतिबेला एकजनाले रकम नदिए यहीँ झुण्डिएर मर्ने बताएपछि तमसुक बनाएको झण्डै एक वर्षमा बल्लतल्ल एक÷एक लाख रुपैयाँ चाहिँ लक्ष्मीले फिर्ता गरिन् । अरु एक÷एक लाख रुपैयाँ भने अहिलेसम्म फिर्ता नपाएको कृष्णले बताए ।

‘५० पटक भन्दा बढी धाएर गइयो होला रकम माग्न’, कृष्णपत्नीले भनिन्, ‘जहिले पनि पछि दिन्छु भन्दै लक्ष्मीले झुलाउँदै मात्र आएकी छिन् ।’ आफूहरुलाई बहराइन पठाउँछु भनेर लिएको पैसाले लक्ष्मीले आफ्नो छोरालाई अष्टे«लिया पठाएको पीडित बताउँछन् । हालै केही दिन अगाडि लक्ष्मीको मोबाईल नं. ९८५५०५९४५३ मा फोन सम्पर्क राख्दा अब लकडाउन सकिएको १०÷१५ दिनपछि सबैको रकम फिर्ता गर्ने उनले बताएकी छिन् । हेरौं, के हुने हो !

टिप्पणीहरू