पढ्दा कम्युनिष्ट, कमाउन थालेपछि कांग्रेस

पढ्दा कम्युनिष्ट, कमाउन थालेपछि कांग्रेस

नेपालको प्राविधिक क्षेत्रमा कांग्रेस समर्थितहरूको राम्रो पकड छ । प्राध्यापक, डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, इञ्जिनियर, पत्रकार र वकिलमा जयनेपालकै बोलवाला देखिन्छ । पहिलादेखि नै कांग्रेस समर्थितहरु धनीमानी भएको र पढेलेखेको कारणले यस्तो भएको हुन सक्छ भन्ने मान्यता रहँदै आएको थियो । तर, योभन्दा गम्भीर कारण अर्कै रहेको पाइएको छ ।

एक अध्येताका अनुसार नेपाली समाजको मान्यताअनुसार प्राविधिक भनेको पैसा कमाउने पद हो भने अर्कोतर्फ पैसा कमाएपछि संगत, बसउठले कम्युनिष्ट हुनु हुँदैन, युरोप–अमेरिका जाँदा अप्ठ्यारो पर्नसक्छ भन्ने शास्त्रीय बुझाइका कारण यस्तो अवस्था देखिएको छ ।

कम्युनिष्टले लेबी तिराउँछ, बैठकमा बोलाउँछ र अन्य दायित्व तोक्छ । कम्युनिष्ट भएपछि सम्पत्ति बाँड्नुपर्छ, समाजवादमा समान सम्पत्तिको कुरा उठ्छ, थाल ठटाएर भात खान बोलाउँछ आदिजस्ता परम्परागत धारणाले गर्दा पैसा कमाउने प्राविधिक पहिला कम्युनिष्ट भए पनि पछि अन्य विचारतिर रूपान्तर हुने गरेको दावी ती अध्येताले गरेका छन् ।

अर्कोतर्फ अधिकांश शिक्षक जो डस्टर र चकको धुलोसँग खेल्छन् उनीहरू भने कम्युनिष्टमै रम्ने गरेको पाइएको छ । जुन पेशामा सीमान्तकृत आम्दानी छ, तलब–भत्ताबाहेक अन्य आम्दानीको स्रोत छैन त्यस्ता अधिकांश पेशाकर्मीमा कम्युनिष्टको पकड छ । निजामती कर्मचारीको तल्ला तह, सेना–प्रहरीतिर पनि स्थिति उस्तै हो ।

अर्को एउटा रोचक पक्ष के छ भने नेपालका ल क्याम्पसमा पढ्दा धेरैजसो विद्यार्थी कम्युनिष्ट हुन्छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सधँैजसो अनेरास्ववियुले जितेको छ ।

तर, त्यही क्याम्पसबाट उत्पादित कानुन व्यवसायीको संगठन नेपाल बार एशोसिएसनमा भने कांग्रेससमर्थित प्रजातान्त्रिक वकिलको समूहले प्रायः बाजी मार्छ । पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पनि कुरा उही हो तर इञ्जिनियरिङ एशोसिएसनमा भने कांग्रेस समर्थितले जित्छन् ।

त्यसैगरी मीनभवन, सरस्वतीलगायत व्यवस्थापन विषय हुने प्रायः क्याम्पसहरूको चुनावमा अखिलले पकड राख्दा चार्टर्ड एकाउन्टेन्ट एशोसिएसनको चुनावमा भने कांग्रेसको होल्ड हुन्छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयमा अखिलले जित्छ तर पछि तिनै बिजेताहरू कांग्रेसी प्राध्यापक हुन्छन् । पत्रकार उत्पादन गर्ने आरआरको अवस्था पनि उही हो ।

राम्रो ठाउँमा पदीय जिम्मेवारी पाउन, डिई सुई हुनको लागि बढुवा लिन, जागिरमै नियुक्ति पाउन, फास्ट ट्र्याकजस्ता आकर्षक योजनामा संलग्न हुन एलिट क्लाससँग नजिकिनै पर्ने बाध्यताले गर्दा पनि धेरैजसो कांग्रेस हुने गरेका छन् । कांग्रेसमा लेनदेन र चाकरीले राम्रै स्थान पाउने गरेको चर्चा छ भने सरकारमा धेरै समय कांग्रेसकै उपस्थिति छ ।

ती अध्येताका अनुसार कम्युनिष्टले मौका पाउँदा पनि अवसरहरूको व्यवस्थापन गर्न सकेको देखिँदैन । प्रचण्ड र ओली मिलेर दुई तिहाइ ल्याउँदा नजिकका केही मान्छेलाई मात्रै व्यवस्थापन गरे । अवसर आउँदा पनि दीपक भट्ट, जानुका ढकाल जस्ताले मात्रै अवसर पाउने गरेका छन् भन्ने गुनासो छ ।

ओली हुँदा दुर्गा प्रसाईं मार्सी र कोमल वली जस्ताले अवसर पाउने, माधवकुमार नेपालको नजिक हुँदा कैलाश पोखरेलले उफ्रिमाथि पाफ्री पाउने गरेको देखिन्छ । हुँदा–हुँदा न्वारानको नाम सूर्यकुमारी हुने करिश्मा मानन्धरले समेत ओली कम्युनिष्टमा अवसर पाएको देखिन्छ । ओली सौर्य एयरलाइन्सको १५ जनाको एमाले टोलीसहित २ हप्ताअघि भैरहवा विमानस्थलमा उत्रिएका थिए ।

कपिलवस्तुका बृजेशकुमार गुप्तालाई पार्टी प्रवेश गराउन जाँदा अन्य नेताले ओलीको गाडीमा ठाउँ पाएनन् बरु करिश्मा मानन्धर छेवैमा रहिन् । सेक्युरिटीले देब्रेपट्टीको ढोका खोलेर उत्रिन संकेत गर्दा पनि करिश्मा निस्केकै दाहिनेतर्फको ढोकाबाट उत्रेर सेक्युरिटीलाई जिल्याउने कामसमेत भए ।

यस्तै कारणले मन भाँडिएकाहरू अवसरको उचित व्यवस्थापन अभावमा कांग्रेस बन्न प्रेरित हुने गरेको देखिन्छ । यिनै कारणले कम्युनिष्टहरू कमाउनिष्ट हुनेबित्तिकै कांग्रेसमा रूपान्तर हुने गरेको सुनिन्छ ।

कम्युनिष्टहरू एकजुट नहुँदा सबैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई पेशागत संगठनमा घाटा भएको छ । एमालेसमर्थित पेशाकर्मीले पत्रकार, बार, सञ्चारिका, प्राध्यापक संघ, इञ्जिनियर एशोसिएसनमा घाटा व्यहोरिसकेका छन् सरकारमा एमाले गए पनि सरकारलाई हाराबारा खेलाउने क्षमताका पेशागत संगठनहरू यिनै हुन् ।

आउँदो तीन वर्षसम्म कार्यकाल भएका यस्ता संगठनले एमालेलाई निकै राम्रो धक्का दिने क्षमता राख्छन् । यिनले सरकारको आलोचना गर्दा विपक्षमा अभिमत सिर्जना हुन सक्ने अवस्था हुन्छ ।

टिप्पणीहरू