पुल नै उडाउन सक्ने चोर “इन्जिनियर” को पल्टन

चोरले धनमाललगायत नगद चोरेको सुनेका र देखेका छौं । तर,कसैले पुल नै चोरेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । भारतको बिहार राज्यमा त्यस्तै घटना भएको छ । चोरले एउटा सिङ्गै पुल उछिट्ट्याएको छ ।

स्थानीय रोहतास जिल्लाको नासरीगञ्ज क्षेत्रस्थित अमियावर इलाकामा रहेको एउटा नहरमा बनाइएको फलामको पुल एकाएक गायब भएपछि धेर जना दङ्ग परेका छन् ।

चोरले जेसीबी मेशिन ल्याएर ६० फिट लामो पुल उखेली ट्रकमा हालेर लगेको रहस्य पछि मात्र खुलेको हो । त्यति ठूलो घटना हुँदा पनि स्थानीय प्रहरी प्रशासनले सुईंकोसमेत नपाउनु अर्को अचम्म भएको छ ।

चोरले आफूलाई सिँचाई विभागको कर्मचारी भन्दै पुल उखालेर लगेको वरपरका स्थानीयले बताए । प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ । सरकारी सम्पत्ति चोरेर कोही पनि उम्किन नसक्ने भारतीय प्रहरीको दाबी छ । एक जना प्रहरी अधिकृतले अपराधीलाई छिटै पक्राउ गरेर पूरै घटनाको पर्दाफास गर्ने बताएका छन् ।

उक्त पुल सन् १९७२ मा शुरु गरेर सन् १९७५ मा निर्माण सम्पन्न भएको थियो । समानान्तर अर्को कंक्रिट पुल बनेका कारण उक्त फलामको पुल प्रयोगविहीन हुँदै आएको थियो ।

टिप्पणीहरू