ट्रयाक्टरले उडाएको धुलो खानुपरेपछि पालिका अध्यक्ष जंगिए…

ट्रयाक्टरले उडाएको धुलो खानुपरेपछि पालिका अध्यक्ष जंगिए…

अर्घाखाँचीमा पालिका अध्यक्ष तथा उपाध्यक्ष सवार सवारी साधनको बाटो ट्रयाक्टरले रोकेपछि विवाद उत्पन्न भएको भिडियो सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भेटिएको उक्त भिडियोमा जनप्रतिनिधि र ट्याक्टर चालकबीच भनाभन भएको देखिन्छ । घटना एक साता अघिको भए पनि सामाजिक सञ्जालमा भने हिजो मात्र सार्वजनिक भएको हो ।

भिडियोमा साइड दिने ठाउँ हुँदाहुँदै पनि ट्रयाक्टरले साइड नदिएको भन्ने प्रष्ट सुन्न सकिन्छ । ट्रयाक्टरले लामो समयसम्म आफूहरु चढको गाडिलाई अगाडि बढ्न बाटो नदिएपछि मालारानी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितको टोलीले चालकलाई हप्काएका हुन् । उनीहरुलाई फोटो खिचेर धम्काएको समेत आरोप लागेको छ । गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले पटक पटक बाटो छाड्न आग्रह गर्दा पनि ट्रयाक्टर चालक राजु नेपालीले नसुनेपछि विवाद भएको स्वीकारेका छन् ।

‘ट्याक्टर चालकलाई सम्झाउन र बाटो नछाडेको फोटो ट्रयाक्टरधनीलाई देखाउन फोटो खिच्न लगाएको हुँ । तर, त्यसको गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरियो,’ आर्चायले भने । एउटा जनप्रतिनिधि भएको नाताले पनि ट्राफिक नियम सिकाउनु मेरो दायित्व हो उनले भनेका छन् । अध्यक्षले थप प्रष्ट पार्दै भने, ‘धुलोसहितको घुम्ती सडकमा लापरवाही गरेर सवारी चलाउँदा बाटो नदेखिने र दुर्घटनासमेत हुने सम्भावना हुन्छ ।’

पालिका अध्यक्ष र उपाध्यक्षलाई धुलो खुवाउने ट्रयाक्टरको भने नम्बरप्लेट खुलाइएको छैन । सामाजिक सञ्जालमा सार्वजनिक पोष्टमा पालिका अध्यक्षले पक्की बाटो बनाउँछु भन्नुको सट्टा धुलो उडायो भन्दै चालकलाई थर्काउन नहुने जस्ता प्रतिक्रियासमेत आएका छन् ।

टिप्पणीहरू