ठेकेदार सा’ब

ठेकेदार सा’ब

निर्वाचन आयोगले नयाँ नियम बनाएको छ– ठेकेदारले लड्न पाउँदैन । निर्वाचन आयोगको यो नियमबाट थाहा भयो कि अब ठेकेदारहरूले उम्मेदवारचाहिँ उठाउन पाउँछन्, आफैँ उठ्न पाउँदैनन् ।

निर्वाचन आयोगको यो नियमबारे ठेकेदारहरू के भन्छन् त ? म ठेकेदारहरूको प्रतिक्रिया बुझ्ने विचारमा थिएँ, ठ्याक्कै एउटा ठेकेदारसँग बाटोमा भेट भयो । मैले पक्रिहालेँ, ‘ओ ठेकेदार सा’ब ! कता हो ?’

उनले भने, ‘निर्वाचन आयोगतिर जान लागेको ?’ चुनावको तयारी गर्नुपर्यो नि ।’

मैले भनेँ, ‘केको चुनावको तयारी ठेकेदार सा’ब ? ठेकेदारहरूले त चुनाव लड्न पाइँदैन भनेर नियमै आइसक्यो ?’

‘त्यो त हो,’ उनले सहज रूपमा भने, ‘तर म त ठेकेदार होइन नि !’

‘हँ ?!,’ म छक्क परेँ, ‘ठेकेदार होइन रे ? अनि किन ठेकेदार साब भनिएको त तपाईंलाई ?’

उनले भने, ‘नाम ठेकेदार हुँदैमा काम पनि ठेकेदारै हुनुपर्छ भन्ने छ र ? मेरो घरमा जम्मैले ठेक्कापट्टाको काम गर्छन् । मचाहिँ गर्दिनँ । मेरी श्रीमती ठेकेदार हुन्, छोराहरू दुवै ठेकेदारीकै काम गर्छन्, भाइहरू पनि ठेक्कापट्टा गर्छन् । अझ ज्वाइँहरू पनि ठेकेदारी नै गर्छन् । तर मचाहिँ गर्दिन । म त यस्तै राजनीति–साजनीतिमा रुचि भएको मान्छे, त्यही गर्ने हो । अब मेरा बूढीहरू ठेकेदारी गर्छन् भन्दैमा मलाई चुनाव नउठ् भन्न पाइन्छ ?’

ठेकेदार साबको प्रश्न सटिक लाग्यो । तर यो प्रश्न मलाई हो कि निर्वाचन आयोगलाई हो त्यो भने थाहा हुन सकेन ।

टिप्पणीहरू