अब हुन्छ विकास

अब हुन्छ विकास

अक्सर जहाँ गए पनि मानिसहरू भनिरहेका हुन्छन्, नेपालको विकास भएन । देशमा सरकार परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो, नेता परिवर्तन भयो । तर जे परिवर्तन भए पनि देशचाहिँ परिवर्तन भएन । देश जहाँको त्यहीँ छ ।

देश विकास नहुनु दुःखकै कुरा हो । तर अब यो दुःख धेरै समय रहला जस्तो छैन । किनभने सुखको समय पनि आउँदैछ । देश विकास हुनासाथ सुखको समय त त्यसै आयो नि ।

देशमा सुखको समय आउन लाग्नुको एउटा ठूलो कारण हो, देशैभरि भ्यू टावरहरू बन्नु । शायद कमै मात्र मानिसलाई थाहा होला, भ्यू टावर र विकासका बीच नङ र मासुको जस्तै सम्बन्ध छ । यो कुरालाई बुझ्नु जरुरी छ । वास्तवमा अहिलेसम्म नेपाल विकास हुन नसक्नुको प्रमुख कारण नै भ्यू टावरहरू बन्न नसकेर हो । यदि भ्यू टावरहरू बनेको भए नेपालको विकास पनि उही बेला भइसक्थ्यो होला ।

विकास भनेको के हो ? बाटोघाटो बन्नु, पानीको व्यवस्था हुनु, यातायात चल्नु, स्कुल–कलेज खुल्नु । यही होइन र ! तर त्यस्तो बाटोघाटो कहाँ बनाउने, यातायात कहाँ चलाउने, स्कुल–कलेज कहाँ खोल्ने भन्ने जस्ता कुरा नेताले कसरी थाहा पाउने ? त्यो थाहा पाउन त अलिकति माथि कतै चढेर दुर्बिनबाट हेर्नुपर्यो ।

त्यो हेरिसके पछि न कहाँ के बनाउने भन्ने थाहा हुन्छ । हेर्ने ठाउँ नै भर्खर बन्दैछ भने अरु कुरा कसरी बन्छ ? अब हेर्ने ठाउँ बनिसक्यो । नेताहरूले त्यहाँ बसेर हेर्नेछन्, त्यसपछि भकाभक बनाउने छन् । अनि हुँदैन त विकास ?

टिप्पणीहरू