कम्युनिष्टहरुले जब लुकाए खाँटी कुरा

कम्युनिष्टहरुले जब लुकाए खाँटी कुरा

जे भनिन्छ त्यो नगर्ने र जे गरिंदैन त्यहि भनिरहने नेपाली राजनीतिको एउटा विशेषता हो । ‘खुला र पारदर्शी हौं’ भनेर जनता र कार्यकर्तालाई अनुशासन सिकाउने कम्युनिष्ट पार्टीका नेताहरु यस्ता कुरामा झन् अगाडि रहेको पुष्टि हुँदैछ ।

बाहिर सत्ता गठबन्धनविरुध्द एक्लै लड्छौँ भनिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले भित्रभित्रै माओवादी केन्द्रसामु ‘हिजो जे भयो भयो, अब मिलेर जाऊँ’ भन्ने प्रस्ताव राखेको गोप्य सूचना बाहिरिएपछि नेताका भनाइ र गराईबीचको भेद छताछुल्ल भएको हो ।

गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धा गरेर धुलो चटाइदिने आक्रामक अभिव्यक्ति एमाले पंक्तिबाट लगातार आइरहेकै बेला ओलीले भित्रभित्रै माओवादी केन्द्रका नेताहरुलाई भेट्न बोलाएको र तालमेलको प्रस्ताव गरेको भरपर्दो सूचना जनआस्थाले फेला पारेको छ । प्राप्त सूचनाअनुसार, ओलीले माओवादी नेता वर्षमान पुन अनन्तलाई आफैँले फोन गरी ‘मिलेर जान’ प्रस्ताव गर्नुभएको हो । गत साता गृहजिल्ला रोल्पा जान बुटवल पुग्नुभएका पुनलाई ओलीको फोन गएको थियो । शुरुमा स्वास्थ्य अवस्थाबारे सामान्य सोधखोज गरेपछि ओलीले भेट्नका लागि प्रस्ताव गर्नुभयो । ओलीको प्रस्ताव सुनेर केहीबेर अल्मलिनुभएका पुनले आफू रोल्पा जान लागेकाले तत्काल भेट्न नसकिने जवाफ फर्काउनुभयो । भेटका लागि जोड दिँदै ओलीले भन्नुभयो– रोल्पाबाट फर्केपछि यतै (बालकोट) भेटौँ ।

ओली–पुन भेटघाटको मिति नभने पनि सूचना स्रोतले पुन रोल्पाबाट फर्केलगत्तै बिहानको समय ओली निवास बालकोटमा लामो कुराकानी भएको पुष्टि गरेको छ । गोप्य राख्न खोजिएको उक्त भेटघाटको चाँजोपाँजो एमाले उपाध्यक्ष विष्णु पौडेलले मिलाएको र उहाँकै गाडीमा पुन बालकोट पुगेको पनि स्रोतको दाबी छ ।

बुझिएअनुसार पुनसँगको भेटमा अध्यक्ष ओलीले दुवैतर्फबाट अहिलेसम्म भएका कमजोरीको आत्मसमीक्षा गरेर चुनावमा गठबन्धन गर्न प्रस्ताव राख्नुभएको थियो । ६०–४० को अनुपातमा भागबण्डा मिलाएर जान ओलीले प्रस्ताव राखेपछि अध्यक्ष प्रचण्डसमक्ष यो कुरा राखिदिने भन्दै पुन बालकोटबाट बाहिरिएपछि बताइन्छ ।

आफू प्रधानमन्त्री हुँदा क्याबिनेटमा तीन बर्ष सङ्गै काम गरेको, एमाले नेता बिष्णु पौडेलको टोली नेपाल आएकै दिन उताका नेता भेटेर नेपालमा वाम तालमेलको सम्भावनावारे छलफल गरी हालै चीनबाट फर्किएको र माओवादीमा अध्यक्ष प्रचण्डको विश्वासपात्र मानिएका कारण ओलीले पुनसँगको भेटघाटलाई सहज ठानेर बालकोट बोलाएको दाबी स्रोतले गरेको छ ।

त्यतिबेलै टिकटका निम्ति बालकोट पुगेका एक जना एमाले केन्द्रीय सदस्यले एमाले–माओवादी भेटको पुष्टि गरेका छन् । पुन बालकोट पुग्दा झण्डै दुई दर्जन जति मान्छे ओलीलाई भेट्न बाहिर कुरी बसेका थिए । तिनैमध्येका एक जनाले आफूले पुनलाई त्यहाँ देखेको तर कतिबेला निस्किए थाहा नपाएको बताए ।

यसबारे बुझ्न खोज्दा पुनसँग भने सम्पर्क हुन सकेन । माओवादी अर्का एक शीर्ष नेताले पनि ओली–पुन भेटघाटबारे अनभिज्ञता प्रकट गरे । तथापि ओलीले विभिन्न सम्पर्क सूत्रमार्फत ‘मिलेर जान’ प्रस्ताव पठाइरहेको जानकारी आफूले पनि पाएको उनले सुनाए । ओलीले प्रस्तावसँगै ५ वटा शर्त पनि पठाएको बताइएको छ । जसमा नेकपा हुँदै अध्यक्षको हैसियतले प्रचण्डद्वारा पार्टीमा दर्ता १९ बुँदे प्रस्ताव फिर्ता लिनुपर्ने (जसलाई ओलीले आरोपपत्र भन्नुभएको छ), आफू नेतृत्वको सरकार ढालेर गल्ती गरेको भन्दै आत्मालोचना गर्नुपर्ने, ओलीलाई पुनः प्रधानमन्त्री बनाउने शर्त स्वीकारेर कागज गर्नुपर्ने र त्यसपछि एमाले ६० र माओवादीले ४० प्रतिशत सिट भागबण्डा गरेर चुनावमा तालमेल गर्ने कुरा परेका छन् ।

माओवादी पक्षले भने ओलीका पाँच शर्त अस्वीकार गर्दै उल्टै आफ्नो तर्फबाट शर्त राखेको छ । प्रतिनिधिसभा विघटन गर्नु गल्ती थियो भनेर ओलीले सार्वजनिक माफी माग्नुपर्ने, वाम गठबन्धन बनाएर पार्टी एकता गरेकामा आफ्नो कारणले नेकपा विभाजन भएको स्वीकार गर्नुपर्नेजस्ता शर्त माओवादीको छ । ती शर्तबारे एमालेबाट ठोस जवाफ नआए पनि तल्लो तहका नेताहरुमार्फत समेत प्रस्ताव पठाइरहेको दाबी गरिएको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘स्थानीय अवस्था र आवश्यकता’ का आधारमा चुनावी तालमेल गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णयलगत्तै गठबन्धनको बैठकमा वाम गठबन्धन हुनसक्ने संकेत गर्नुभएको चर्चा थियो । प्रचण्डले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुकै सामुन्ने कांग्रेसले गठबन्धनको मर्म र भावना आत्मसात गरेर सम्मानजनक तालमेलको प्रस्ताव नल्याए एमालेसँग मिल्न बाध्य हुने चेतावनी दिएको चर्चाले सम्भावित वाम गठबन्धनबारे अनेक अड्कल लगाइएका थिए ।

यता, कोहीसँग तालमेल नगर्ने भन्दाभन्दै पनि एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग गठबन्धन गर्न वार्ता समिति बनाइसकेको छ । राप्रपाका दुवै पक्षसँग समानान्तर छलफलमा रहनुभएका ओलीले केही दिन पहिले नेपालगञ्ज पुगेर राजेन्द्र लिङदेनपक्षीय र पूर्वराजा ज्ञानेन्द्रका विश्वासिला पात्र, राप्रपा महामन्त्री धवल समशेर राणासँग डेढ घण्टा गोप्य कुरा गर्नुभएको थियो । पाँचदलीय गठबन्धनले चुनावी तालमेलको निर्णय गरेपछि विकसित यी घटनाक्रमले पनि एमाले अर्को गठबन्धनका लागि बाध्य भएको र यही सन्दर्भमा ओलीले माओवादी नेताहरुलाई बोलाएर तालमेलको प्रस्ताव गरेको धेरैको अनुमान छ ।

टिप्पणीहरू