गृहमन्त्री हेलिकप्टर चढेर गुर्जामा

गृहमन्त्री हेलिकप्टर चढेर गुर्जामा

म्याग्दीको धौलागिरि गाउँपालिका-१ स्थित गुर्जा गाउँ हिमालको काखमा रहेको छ । सरकारबाट हेपिएको उक्त स्थानमा छन्त्याल जाती बस्दै आएका छन् । हर्बल हबकारुपमा समेत परिचित गुर्जा पर्यटकीय दृष्टीले पनि उत्तिकै प्रख्यात मानिन्छ । तर, यहाँ सरकारको नजर कमै मात्रामा पर्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।

एउटा विद्यालय र स्वास्थ्य चौकीमात्र रहेको यो गाउँमा अढाई सय बढी परिवार बस्ने गरेको एक तथ्याङ्कले देखाएको छ । सोही पिछडिएको गाँउ हेर्न गृहमन्त्री बालकृष्ण खाँण र नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ आज त्यहाँ पुग्नुभएको छ । सडक सुविधा नभएको उक्त गाँउका स्थानीयले आमन्त्रण गरेपछि उहाँहरु हेलिकप्टरमार्फत गुर्जा पुग्नुभएको हो ।

नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुनेगरी आफू गुर्जाको अवलोकनमा निस्केको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । गुर्जा पुगेर जनआस्थासँगको टेलिफोन संवादमा जोडिनुभएका उँहाले गुर्जाको विकासका लागि सरकारले छिट्टै कदम चाल्ने पनि बताउनुभयो ।

हिमालको काखमा रहेको गुर्जा अत्यन्तै सुन्दर रहेको प्रतिकृया दिनुभएका उहाँले “यहाँ बाटोको विकास भएको छैन, एउटा स्कूल र स्वास्थ्य चौकी मात्र रहेछ” भन्नुभयो । सरकारको ध्यान जान नसकेको हो भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले गुर्जाको विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यहाँका छन्त्यालहरुले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री आजै काठमाण्डौं फर्कने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू