नकटोहरुलाई झट्केली त देख्नै नहुने !

नकटोहरुलाई झट्केली त देख्नै नहुने !

जवान आमा हुँदाहुँदै सानी छोरीलाई समेत नछाड्ने पातकी ! आमालाई छोडेर छोरी चाहिँलाई लिएर हिँडेपछि फन्दामा परेका छन् सन्तोष विक । भरतपुरका २४ वर्षीय सन्तोषले गैंडाकोट, बेल्डिहाकी २८ वर्षीया महिलासित दुई वर्षअघि बिहे गरेका थिए । तिनै महिलाले पहिलेका पतिबाट जन्माएकी १४ वर्षीया छोरीलाई पनि ललाईफकाई गरी करणी गर्न भ्याएछन् सन्तोषले ।

आमाले छोरी हरायो भनी प्रहरीमा उजुरी दिएपछि सन्तोषको खेल पत्ता लागेको हो, चितवनको टाँडीमा सौतेनी छोरीसहित भेटिएपछि । नाबालिगसित सहमतिमै मैथुन गरेपनि जबरजस्ती करणी हुने हुँदा सोही मुद्दामा अनुसन्धान पश्चात् पुर्पक्षका लागि सन्तोेष कारागार पुगेको इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।

बताइएअनुसार गैंडाकोटकै दुई नम्बर वडाबासी अधबैंसे पुरुष पनि झड्केलीकै मामिलामा कारागार पुगेका छन् । आफ्नो पहिलो पोइतर्फकी सात वर्षीया छोरीको गुप्ताङ्ग खेलाएको आमाचाहिँले देखेपछि ४२ वर्षीय अमृत गुरुङविरुद्ध प्रहरीमा उजुरी परेको हो । बालयौन दूराचार मुद्दामा अमृत पुर्पक्षका लागि बन्दीगृह पुगेको प्रनि थापाले जानकारी दिए । यस्तै, आफ्नो गुप्ताङ्ग बहिनी पर्ने (कान्छा बाउकी छोरी) बच्चीलाई खेलाउन लगाउने गैंडाकोटकै एक १४ वर्षीय बालक भने साधारण तारेखमा रिहा भएको प्रहरी बताउँछ । पुर्पक्षका लागि झ्यालखानामा पुग्ने चाहिँ चोरी मुद्दाका छन्, जनरैल अन्सारी । कोल्हवी नगरपालिका–२, बारा घर भई गैंडाकोट–९ को एक ग्यारेजमा काम गर्न आएको तीन दिनमै ल्यापटप र मोबाईल चोरेर भाग्दै गर्दा समातिएका । अटोमा चढेर फरार हुँदै गर्दा गैंडाकोटको पुल्चोकनेर अन्सारी समातिएको प्रहरीले बतायो ।

अर्काे, चोरी जस्तै घटना छ बाख्राको । गैंडाकोट–३, ढोडेनीका बाख्रापालक किसानहरुलाई प्रलोभनमा पारी ठग चोरले २२ वटा खसी उछिट्याएर बेच्न समेत भ्याएको । ‘मेरो बाख्रा फार्म छ, सहकारी पनि छ, सस्तो दरमा लोन दिन्छु, बोयर बोका दिन्छु’ भन्दै किसानहरुलाई फस्याङफुसुङ पारेपछि किसानहरुले नै ट्याक्टरमा हालेर गैंडाकोटको तल बेंसीसम्म खसी पु¥याइदिए । त्यसपछि अर्कै गाडीमा खसी लोड गर्न लगाइयो अनि दुईजना किसानलाई सिफारिसका लागि भनी नगरपालिका कार्यालयतिर पठाए, अर्का एक जनालाई तारजाली लिन भनेर कुदाए । त्यही मौकामा आफूचाहिँ खसीसहितको गाडी लिएर ठग चोर फरार । खोज्दा नभेटेपछि किसानहरु प्रहरीकोमा पुगे । प्रहरीले सिसि क्यामेरामार्फत् गाडी पत्ता लगायो । तर ठग चोर चाहिँ भेटिएनन् । जेहोस्, चितवनको एक फ्रेस हाउसमा ती सबै खसी रु. चारलाख ३७ हजारमा बेचिएको पाइएपछि तुरुन्तै २२ वटै खसी फिर्ता ल्याएर किसानहरुलाई बुझाइएको प्रनि चन्द्र बताउँछन् ।

एक महिनाअघि गैैंडाकोट–५ को मोनिका सुनचाँदी पसलमा चोरी गर्नेहरु पनि अवश्य समातिने बताउँदै प्रनि भन्छन्, ‘अनुसन्धान जारी छ, हामी आशावादी छौं, ती चोरहरु पनि पक्राउ पर्नेछन् ।’ गत फागुन १८ गते राति उक्त सुनचाँदी पसलबाट साढे ६९ तोला सुन, एक किलो चाँदी र नगद ७ लाख रुपैयाँ चोरी भएको बताइएको छ । १० किलो गाँजासहित पक्राउ परेका स्यानु विक साढे दुई लाख रुपैयाँ धरौटी बुझाएर छुटेको, दुई किलो गाँजासहित समातिएका वृद्ध रनबहादुर गुरुङ रु. १० हजार धरौटीमा छुटेको पनि गैंडाकोट प्रहरीले बतायो ।

– अजय गोर्खाली

टिप्पणीहरू