सर्वोच्चका न्यायाधीश बमकुमार मुटुको समस्याबाट आकाशमै सिकिस्त

सर्वोच्चका न्यायाधीश बमकुमार मुटुको समस्याबाट आकाशमै सिकिस्त

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ आज उडिरहेको विमानमा एकाएक सिकिस्त हुनुभएको छ । दिपायलस्थित उच्च अदालतको अवलोकन र निरीक्षण गरेर राजधानी फर्कने क्रममा उहाँको स्वास्थ्यमा समस्या आएको हो ।

आज बिहान धनगढीबाट काठमाडौंतर्फ उडेको बुद्ध एयरको हवाइजहाजलाई उचाइमा लैजाने बितिक्कै उहाँको स्वास्थ्यमा निकै समस्या देखिएपछि विमानलाई नेपालगञ्जमा आपतकालीन अवतरण गराइएको थियो ।

जहाजले उचाई लिएपछि न्यायाधीश श्रेष्ठको श्वासप्रश्वासमा एक्कासी समस्या देखिएको बताइएको छ । नेपालगञ्जमा आपतकालीन अवतरण गरेपछि श्रेष्ठलाई झारेर विमान काठमाडौं उडेको थियो ।

उहाँलाई मुटुमा समस्या देखिएको स्रोतले पुष्टि गरेको छ । त्यस्ता यात्रुलाई विमानले उचाइ लिँदा समस्या हुन्छ । न्यायाधीश श्रेष्ठलाई पनि त्यस्तै भएको बुद्ध एअरका अधिकारीहरुले बताएका छन् ।

‘आकस्मिक अवतरणपछि उहाँलाई पहिले नेपालगञ्ज विमानस्थलको विशिष्ट कक्षमा राखेर सामान्य उपचार गरायौं,’ नेपालगञ्ज विमानस्थल कार्यालय स्रोतले भन्यो, ‘त्यसपछि नेपालगञ्जमा रहेका उहाँका एक जना आफन्तको घरमा लगेर राखिएको छ । अहिले त्यहिँ आराम गरिरहनुभएको छ ।’

अस्पताल स्रोतका अनुसार न्यायाधीश श्रेष्ठले नेपालगञ्ज विमानस्थलमा झरेपछि एक गिलास पानी खानुभएको थियो । त्यसपछि उहाँलाई स्थानीय अस्पताल पुर्याइएको हो । अस्पतालमा श्रेष्ठसँग परिचित डाक्टर नारायणप्रसाद अधिकारीले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको बताइएको छ । अवस्था ‘खतरामुक्त’ देखिएपछि उहाँलाई अस्पतालबाट नेपालगञ्जको कोरियनपुरस्थित सुसुराली घरमा लगेर राखिएको हो ।

पारिवारिक स्रोतले उहाँलाई अहिले केही बेरमा सतर्कताकासाथ सडक मार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको जानकारी दिएको छ ।

 

टिप्पणीहरू