राजधानीमा सबैखाले कम्युनिष्टलाई चुनावी चटारो

राजधानीमा सबैखाले कम्युनिष्टलाई चुनावी चटारो

आगामी स्थानीय निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अन्यत्रझैँ राजधानी काठमाडौंमा पनि व्यस्त देखिएका छन् । केही दिनदेखि राजधानीका पार्टी प्यालेसमा दलका कार्यक्रमहरु नियमित हुन थालेको पाइन्छ ।

सोही क्रममा सुकेधारास्थित दर्शन पार्टी प्यालेसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौं जिल्ला कमिटीले आगामी शनिवार भृकुटीमण्डपमा आयोजना गरेको बृहत जनप्रदर्शनको तयारी बैठक राखेको हो । जिल्ला अध्यक्ष कुसुमकुमार कार्की,उपाध्यक्ष बटुककृष्ण थापा,युवा संघ केन्द्रीय उपाध्यक्ष नितेश पौडेल,जिल्ला कमिटी सचिव खुरुवा लामालगायतको उपस्थितिमा हिजो दिउँसो छलफल भएको बताइएको छ ।

उता गोदावरी नगरपालिका ८, डुकुछाप बसपार्कमा माओवादी केन्द्रका ललितपुर जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हरि दाहाल, जिल्ला संयोजक शिव कट्टेल, क्षेत्रीय संयोजक रामचन्द्र दाहाल र वडा नम्बर ८ का वडाध्यक्ष सुकबहादुर लामालगायतको उपस्थितिमा गोदावरी ८, को विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम हिजो बिहान सम्पन्न भएको छ ।

त्यसैगरी काठमाडौंको खुशिबुस्थित नेपा: पार्टी प्यालेसमा नेकपा एमाले महानगर कमिटीका अध्यक्ष निर्मल देउजा, जिल्ला सचिव राजेश शाक्य, महानगर कमिटी इञ्चार्ज नारायण सिलवाल,सह–इञ्चार्ज विदुर मैनालीलगायतको उपस्थितिमा काठमाण्डौ महानगर कमिटीको निर्वाचन तयारी र थप कार्ययोजनाबारे छलफल हिजो बिहान भएको हो ।

टिप्पणीहरू