हतारमा टिप्पणी गर्नु अलि उचित नहोला कि !

हतारमा टिप्पणी गर्नु अलि उचित नहोला कि !

नेपालमा ५० करोड डलरको अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर विश्व राजनीतिको दुई ध्रुवमा उभिएका महाशक्ति राष्ट्र चीन र अमेरिका आमनेसामने हुँदा भूराजनीतिक संकट गहिरिने संशय थियो । एमसीसीमा घरेलु अन्तरविरोध चर्किरहेका बेला अमेरिकी अधिकारीहरुले आफ्नोसमेत नाम मुछेपछि आक्रोशित उत्तरी छिमेकी चीनले यस मामिलामा तीन पटकसम्म मुख खोल्यो । नेपालको आन्तरिक मामिलामा दुई महाशक्ति आपसमा टकराउँदा त्यसले पार्ने दीर्घकालीन प्रभाव सामान्य हुने थिएन ।

तथापि नेपालले एमसीसी स्वीकार गरिसकेकाले फेरि त्यसैमा बहस गरिरहनु त्यति सान्दर्भिक नहोला । प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गरेको भोलिपल्टै बेइजिङबाटै ’नोटिस’ गरेको चीनले आफ्ना विदेशमन्त्रीलाई नेपाल पठाएर सुरक्षा संवेदनशीलता र भूराजनीतिक चासो प्रत्यक्षरुपमा प्रकट गरेको छ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी आफ्नो तीनदिने नेपाल भ्रमण सकेर अस्ति स्वदेश फर्किएका छन् ।

भ्रमणका दौरान राष्ट्रपति,प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि उच्चस्तरीय राजनीतिक भेटघाट गरेका वाङ जुन भावभंगिमाका साथ काठमाडौँ ओर्लिएका थिए फर्किँदा फरक देखिए । काठमाडौँ ओर्लंदा केही तनाव र हतारोमा देखिएका उनी भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्दै गर्दा प्रसन्न थिए । आफूलाई बिदा गर्न विमानस्थलमा लाइनवद्ध नेपाली अधिकारीहरुलाई अभिवादन फर्काउँदै उनले लामो भलाकुसारी गरे । कूटनीतिज्ञहरुले यसलाई वाङले आफ्नो भ्रमणप्रति सन्तुष्ट रहेको सन्देश दिएको अर्थ लगाएका छन् ।

शुक्रवार नेपाल आइपुगेका वाङको भ्रमणका क्रममा शनिवार नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर,सम्झौतामा बहुचर्चित चिनियाँ परियोजना बिआरआईबारे केही उल्लेख नहुँदा वाङको नेपाल भ्रमण अपेक्षित नभएको अनुमान पनि लगाइएको छ । माओवादीसहित कतिपय राजनीतिक दल र नेताहरूको असन्तुष्टिबीच सरकारले एमसीसी संसद्बाट अनुमोदन गरेपछि चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा बिआरआई कार्यान्वयनबारे प्रक्रिया अघि बढ्ने आकलन गरिएको थियो । तर,९ बुँदे समझदारी पत्रमा बिआरआईसँग जोडिएका कुनै पनि परियोजना उल्लेख नहुनुले वाङको भ्रमण सफल नभएको कूटनीतिक वृत्तमा चर्चा छ ।

नेपाल–चीन मामिलाका कतिपय जानकारहरुले भने वाङको नेपाल भ्रमणको प्रयोजन र कूटनीतिक मूल्य अर्कै भएकाले बिआरआईलाई लिएर भ्रमण असफल भएको मान्न नहुने बताएका छन् । वाङको भ्रमणको तारतम्य मिलाउन केही दिनदेखि निरन्तर खटेका परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अहिले बिआरआई परियोजना अघि नबढ्नेमा चीन पहिले नै प्रष्ट थियो । उनी भन्छन्, ’अहिले सरकारको बनावट जस्तो छ, त्यसले बिआरआई अघि बढ्दैन भन्नेमा चीन स्पष्ट थियो । उसको सरोकार भनेको अहिले दुई देशबीचको सम्बन्ध पुनर्ताजगी गर्नेमा मात्र केन्द्रित रहेकाले अन्यथा अर्थ लगाएर प्रचार गर्नु आवश्यक छैन ।’

तीनवटा कूटनीतिक उद्धेश्यका साथ वाङ नेपाल आएको र ती सबै पूरा भएको उनै अधिकारीको दाबी छ । एमसीसी पारित भएलगत्तै वाङको नेपाल भ्रमण हुनुलाई आफैँमा एउटा सफलता मान्न सकिने उनको तर्क छ । चीनले नेपाललाई नजिकको मित्र र असल छिमेकीका रुपमा लिएको र दक्षिण एशियामै नेपाल हाम्रो महत्वमा छ भन्ने सन्देश दिनु भ्रमणको उद्धेश्य रहेकाले सम्पूर्ण रुपमा त्यो पूरा भएको उनले बताए ।

दक्षिण एशियामा वाङ्गको माल्दिभ्स र श्रीलंकाको भ्रमण यसअघि नै भैसकेको थियो । पछिल्लो भ्रमणका क्रममा पाकिस्तान र भारत हुँदै वाङ नेपाल आइपुगेका हुन् । यो भ्रमणले साउथ एशियामा हामी सँगै छौं भन्ने कूटनीतिक अर्थ लाग्ने जानकारहरुको भनाइ छ । वाङ भ्रमणबाट चीनले एकैसाथ केही विषयमा नेपालको प्रतिवद्धता खोजेको र आफ्नो प्रतिवद्धता पनि प्रकट गरेको कूटनीतिज्ञहरु बताउँछन् ।

एकातिर बिआरआईलगायतका अन्य चिनियाँ परियोजना र चासोका क्षेत्रमा उसले नेपालको प्रतिवद्धता खोजेको देखिन्छ भने नेपालको हितको पक्षमा पनि आफ्नो प्रतिवद्धता दोहोर्याएको छ । यसका अलावा उसको सुरक्षा चासो,त्यसैमा जोडिएको फ्री तिब्बत मुभमेन्ट,बन्द रहेका नाका खुलाउने जस्ता विषयमा पनि नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुको मनस्थिति बुझ्दै आफ्नो धारणा राखेको छ ।

पछिल्लो समय एमसीसीलगायतका मुद्धाले नेपाल–चीन सम्बन्धमा केही आशंका दुवै तिरबाट गरिएको थियो । कांग्रेस नेतृत्वमा सरकार गठन भएदेखि नै पश्चिमातिर झुकेको र आफू कर्नरमा परेको अनुभूति चीनले गरेको अनुमान लगाइएको थियो । हुम्लाको सीमा विवादको विषयले होस् या चीनले उपलब्ध गराएको कोरोना भ्याक्सिन स्वीकार गर्न ढिलाई गरेर नेपाल स्वतन्त्र परराष्ट्र नीतिबाट भड्किएको र त्यसले नजिकैको छिमेकी चिढिएको अनुमान कूटनीतिज्ञहरुले गरेका थिए । यो पृष्ठभूमिमा वाङको नेपाल भ्रमणले उठेका यस्ता आशंका मेटाउन र दुई देशको पुरानो सम्बन्धलाई मजबुत बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

चीनप्रति नेपालको पछिल्लो धारणा बुझ्ने र यहाँ आफ्नो चासो रहेको पश्चिमाहरुलाई सन्देश दिने रणनीतिक उद्धेश्यले वाङ काठमाडौँ ओर्लिएको पनि भनिन्छ । त्यसमा एक हदसम्म चीन सफल भएको मान्न सकिन्छ । जस्तो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँगको भेटवार्तामा दुवै नेताले हात मुड्की पारेर हामी साथै हौँ भन्ने संकेत दिएका छन् । कूटनीतिमा यसको विशेष अर्थ रहने बताइन्छ । नेपाल र चीन सबैभन्दा पुरानो र निकटका मित्र भएकाले द्दिपक्षीय हित र चासोका सवालमा हामी सँगै छौँ भन्ने अर्थका रुपमा लिन सकिने परराष्ट्रका ती अधिकारी बताउँछन् ।

अहिले चर्चामा रहेको बिआरआईमा सरकारी धारणा खुलेको छैन । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति यसवारे मौन छ । तर, त्यसको अर्थ बिआरआई अस्वीकार गरेको भन्ने होइन । चीनलाई के थाहा छ भने उसले साँच्चै चाहँदा नेपाल बिआरआईबाट पन्छिन सक्दैन । एमसीसी पास गर्दा नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय विश्वसनीयताको सवाल उठाएको थियो,जुन बिआरआईका हकमा पनि लागू हुन्छ । अर्को महत्वपूर्ण कुरा कांग्रेसकै नेता तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले हस्ताक्षर गरेकाले बिआरआई अघि बढाउन आनाकानी गरे कांग्रेसमाथि नैतिक प्रश्न उठ्ने नै छ ।

जसरी एमसीसी सम्झौतामा हस्ताक्षर गरिसकेकाले परियोजना अघि बढाउन सरकार र राजनीतिक दलहरु बाध्य भए बिआरआईबाट पनि पछि हट्नसक्ने अवस्था छैन । तर,बिरलै हुने चिनियाँ उच्च तहका नेताको भ्रमणका बेला जुन चासो र दृढता सरकारका तर्फबाट आउनुपर्थ्यो त्यसो नहुँदा भने केही आशंका र संशय स्वभाविकरुपमा उठेको छ । तर, बजारका चर्चालाई नै आधार बनाएर वाङको नेपाल भ्रमणको सफलता र असफलताको मापन गरिहाल्नु अलि हतारो होला कि ?

टिप्पणीहरू