केपी ओली र माधव नेपालबीच भीआइपीमा जम्काभेट « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

केपी ओली र माधव नेपालबीच भीआइपीमा जम्काभेट

प्रकाशित मिति :  २२ चैत्र २०७८, मंगलवार १५:००


एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज दिउँसो मध्यान्ह १२ बजे जम्काभेट भएको छ । उहाँहरुबीच काठमाडौंको आन्तरिक विमानस्थलमा भेट भएको हो ।

 

ओली काठमाडौंबाट सिमरा जाने क्रममा आन्तरिक विमानस्थलको अति विशिष्ट कक्षमा आराम गरिरहनुभएको थियो । त्यति नै बेला भैरहवा जान विमानस्थल पुग्नुभएका नेपाल पनि त्यही कक्षमा छिरेपछि उहाँहरुबीच भेट भएको हो । दुवै जनाको आँखा जुधेपछि बसिरहनुभएका एमाले अध्यक्षलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘के छ ?’ भनेर सोध्नुभएको थियो ।

 

उक्त अवसरमा त्यहीँ रहेका एक जनाले अवस्थाको वर्णन गर्दै ओलीको जवाफ उद्धृत गर्दै भने, ‘अँ ठीक छ..।’ त्यसपछि चुपचाप बस्दै ओलीले पत्रिका पढ्न थाल्नुभयो । माधव नेपाल भने अलि परको सोफामा बस्नुभयो । दाहिनेमा माधव नेपाल, बायाँ केपी र बीचमा एक महिला बसेकी थिइन् ।

 

माधव नेपाल बस्दा नबस्दै सिमराको उडानको तयारी भएपछि ओली त्यहाँबाट विमान चढ्न निस्कनुभयो । भैरहवा जाने उडानको तयारी नभएकाले नेपाल भने केही बेर त्यहिँ बस्नुभएको थियो । नेपाल गुण एअरलाइन्समा भैरहवा जानुभएको हो ।


प्रतिक्रिया दिनुहोस !