यमनमा बालबालिकाको दुर्दशाः द्वन्द, गरिबी र चरम अभाव (फोटो स्टोरी)

यमनमा बालबालिकाको दुर्दशाः द्वन्द, गरिबी र चरम अभाव (फोटो स्टोरी)

यमनको हुथी विद्रोही र साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धनबीचको द्वन्द्व सुरु भएको गत शनिबार सातौं वर्षमा प्रवेश गरेको छ । सबैलाई थाहा भएकै कुरा हो द्वन्द, रिस, अनि आवेगले कसैलाई पनि छाड्दैन । यस्तो हर्कतले एउटा उन्नत देशलाई कुन हालतसम्म पुर्याउँछ भन्ने कुरा यमनको जनताले पाएका दुःख, भोगेका गरिबी र अभावले देखाउँछ ।

यमनको गृहयुद्धमा दशौं हजार यमनीको ज्यान गएको छ भने लाखौं जनता घरबारविहीन र शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । यो युद्धले हजारौं बालबालिकाको भविष्य अन्धकार बनाएको छ । उनीहरु पनि शरणार्थी शिविरहरुमा बस्न बाध्य छन् ।

यमनको गृहयुद्धमा कम्तीमा १० हजार वा सोभन्दा बढी बालबालिका मारिएको वा घाइते भएको आँकडा संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले मार्च महिनाको दोस्रो हप्तामा घोषणा सार्वजनिक गरेको छ । ‘वास्तविक संख्या धेरै बढी हुनसक्छ,’ यमनका लागि युनिसेफ प्रतिनिधि फिलिप डुआमेलले विज्ञप्तिमा भनेका छन् ।

फोटो स्रोतः मोहम्मद मोहम्मद / सिन्ह्वा

खानेपानीको चरम अभाव

यमनको अधिकांश भूभाग सुख्खा बलौटे छ । यहाँ पानी ल्याउने वा भण्डारण गर्नु भनेकै सबैभन्दा ठुलो चुनौती देखिन्छ । त्यसमाथि पानी ल्याउनको लागि बनाइएका पूर्वाधारहरु कि धेरै पुराना भइसकेका छन् कि द्वन्दले पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । उचित मर्मत सम्भारको अभावमा भएका इनारहरु पनि सुक्दै गएका छन् । जसले गर्दा सुख्खा बालुवा रहेको मरुभूमिमा एक बाल्टिन पानीको लागि घण्टौं पैदलयात्रा गर्नु पर्ने स्थिति स्थानीयको नियती बनेको छ ।

फोटो स्रोतः मोहम्मद अल–वाफी / सिन्ह्वा

बारुदी सुरुङ तथा भूमिगत विस्फोटक पदार्थ (धराप) को खतरा र यसका चुनौतीः

धेरै बालबालिका खुल्ला ठाउँमा खेल्दा, भेँडा वा अन्य घरपालुवा जनावरको गोठालो जाँदा विद्रोहीद्वारा बिछ्याइएका बारुदी सुरुंगमा पर्ने गरेका छन् । कतिपय अन्य धरापमा परेर अंगभंग हुने क्रम पनि बढ्दो छ ।

तलको फोटोमा ह्वीलचेयरमा बसेका बालक रइदलाइ हेर्नुहोस्, नी फुटबल खेल्न अति नै मन पराउँथे । इटालियन फुटबल क्लब युभेन्टसको फ्यान, तर भेंडाको बथानसँगै साथीहरुसँग गोठालो जाँदा भयानक बिस्फोटनमा परे । ज्यान त जोगियो तर आफ्नो दाहिने गोडा नै गुमाए ।

धेरै बालबालिकाले यमनमा अहिले अकालमा ज्यान गुमाएका छन् । गत महिना मात्र यमनको मिडिमा बालुवामुनी लुकाई राखेको बिस्फोटक पदार्थ बिस्फोट हुँदा २० जनाको ज्यान गएको थियो । तीमध्ये अधिकांश बालबालिका थिए ।

संयुक्त राष्ट्रसंघीय बालकोषले यमनमा ल्यान्डमाइन, क्लस्टर बम, मिसाइल र युद्धका अवशेषहरूबाट बाल पीडितहरूको संख्या बढ्दै गएको र अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

फोटो स्रोतः मोहम्मद अल–वाफी/सिन्ह्वा

युद्धविराम, रमजान र मूल्यवृद्धिः

यमनमा युद्धरत पक्षहरूबीच गत शनिबार संयुक्त राष्ट्रसंघको मध्यस्थतामा दुई महिनाको लागि युद्धविराम भएको छ । यसबाट यमनीहरु अहिले एक हदसम्म चैनको सास फेर्दै मुस्लिमहरुको पवित्र पर्व रमजान मनाउन थालेको छन् । तर, कोभिड–१९ महामारी र रुस–युक्रेन द्वन्द्वका कारण बढेको खाद्यान्नको चर्को मूल्यवृद्धिको चपेटामा परेका गरिब यमनीहरु आफ्नो पवित्र पर्व रमजान मनाउन निःशुल्क वा राहतस्वरुप बाँडिएका खाना लिनलाई तँछाड मछाड गर्दैछन् ।

फोटो स्रोतः मोहम्मद अल–वाफी/सिन्ह्वा

टिप्पणीहरू