कसैले मलाई र ओलीलाई जोडेर अप्रिल फुल मनाए : माधव नेपाल

कसैले मलाई र ओलीलाई जोडेर अप्रिल फुल मनाए : माधव नेपाल

गत शुक्रवार एकाएक एमाले अध्यक्ष केपी शर्मा ओलीले टर्की भ्रमणमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरेर आगामी निर्वाचनमा मिलेर जान प्रस्ताव गरेको खबरले सबैतिर सनसनी फैलाइदियो । शनिवार काठमाडौं आउनुभएका अध्यक्ष नेपाललाई जनआस्थाले सोधेको थियो, ‘के तपाईंलाई केपी कमरेडले फोन गर्नुभएको हो ?’

उहाँले जवाफमा ‘होइन,’ भन्दै थप्नुभयो,‘सायद कसैले यता अप्रिल फुल मनायो । म उता थिएँ । त्यस्तो होइन र फोन वार्ताको कुनै सम्भावना पनि छैन ।’

यता केही समयदेखि पार्टीमा अध्यक्ष नेपाल संगठन बिस्तारमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खट्नुभएको छ । हिजो कञ्चनपुरको बेदकोट नगरपालिकाबाट मेयर एक जना,वडाध्यक्ष पाँच जना, कार्यपालिका सदस्य छ गरी २६ जना प्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

वेदकोटलगायत अन्य पालिकाका धेरै जना जनप्रतिनिधि र सर्वसाधारण गरेर चार सय जना माधव नेपाल नेतृत्वको पार्टी प्रवेश गरेका हुन् । तीमध्ये १० जना एमाले जिल्ला कमिटी कञ्चनपुरका सदस्य रहेको बताइएको छ ।

हिजो बिहान केन्द्रीय समितिका तीन जनाले घर घरमा गएर छेकेकाका कारण केही छुटेको नेकपा एकीकृत समाजवादीको दाबी छ । अब संगठन विस्तारको लागि अध्यक्ष नेपालको टोली पूर्वी तराई जाने योजनामा छ । आज उक्त टोली सुनसरी गएर लगत्तै जनकपुरमा पार्टी प्रवेशको कार्यक्रम राखिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू