प्रधानमन्त्रीसङ्ग को को गए भारत ?

प्रधानमन्त्रीसङ्ग को को गए भारत ?

भारतको तीन दिने भ्रमणमा आज दिउँसो नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीमा पहिले ५० जना भनिए पनि जातेजाते अरु पाँच जना थपेर ५५ जना पुर्याइएको छ । टोलीमा प्रधानमन्त्री पत्नी डा. आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का,ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री बिरोध खतिवडा र कृषिमन्त्री महेन्द्र राय यादवलाई राखिएको छ ।

कर्मचारीहरुबाट मुख्यसचिव शंकर दास बैरागी,प्रधानमन्त्रीका निजी सचिव भानु देउवा,परराष्ट्र सचिव भरतराज पौडेल,ऊर्जा देवेन्द्र कार्की, भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ,गृहसचिव टेकनारायण पाण्डे,कानुन सचिव उदयराज सापकोटा र अर्थ सचिव मधु मरासिनी टोलीमा छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा केही सहसचिव र उपसचिवसहित ३३ जना सरकारी अधिकारीलाई समेटिएको बताइएको छ । तीमध्ये प्रधानमन्त्री पत्नीकी सहयोगी अनिता सिंह सरकारी ओहोदाकी होइनन् ।

टोलीमा सात जना सुरक्षाकर्मी छन् । जसमा लेफ्टिनेन्ट कर्नेल प्रकाशबहादुर सिंह,मेजर प्रकाशबहादुर कुँवर,डीएसपी कोमल शाह,क्याप्टेन सुमनविक्रम शाह, प्रहरी निरीक्षक छिरिङ शेर्पा र रामहरि श्रेष्ठ तथा अर्का एक जना फजिन्द्रबहादुर थापा रहेको बताइएको छ ।

सञ्चारकर्मीहरुमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी,राससका कृष्ण अधिकारी,नेपाल टेलिभिजनका क्यामेरा पर्सन रविन शर्मा दाहाल र फोटोग्राफर रोशन सापकोटालाई राखिएको छ ।

निजी क्षेत्रबाट ११ जनालाई समेटिएको भनिएको छ । जसमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल मुख्य हुन् ।

त्यसैगरी नेपाल भारत चेम्बर अफ कमर्सका अध्यक्ष सुनिल केसी,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह,परिसंघका महासचिव रामजीप्रसाद बराल, लगानी बोर्डका प्राविधिक सल्लाहकार जयेन्द्र श्रेष्ठ, १ नम्बर प्रदेशका व्यवसायी महेश जाजु, जलविद्युत लगानीकर्ताहरुको तर्फबाट गणेश कार्की र उद्योग वाणिज्य महासंघको औद्योगिक समितिका तर्फबाट भरत आचार्यलाई पनि भ्रमण दलमा राखिएको छ ।

आज बिहान थप गरिएका पाँच जनाको विवरण खुलाइएको छैन ।

टिप्पणीहरू