घोडेजात्रा : काठमाडौंमा बाक्लो, ललितपुरमा एक्लो

घोडेजात्रा : काठमाडौंमा बाक्लो, ललितपुरमा एक्लो

आज काठमाडौंमा घोडेजात्रा पर्व मनाइएको छ । घोडेजात्राको अवसर पारेर उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको छ । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने गरिन्छ ।

घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गरेको छ । आज राजधानीको टुँडिखेलमा दर्जनौंको संख्यामा घोडा दौडाइएका छन् ।

नेपाली सेनाले घोडादौड, शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाइकल खेल तथा युद्धकलाको प्रदर्शनलगायतका कार्यक्रम गरेको छ । घोडेजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रीहरु, सरकारी उच्च अधिकारी, सेना र सुरक्षा अंगका वरिष्ठ अधिकृतहरु सहभागी हुनुभएका हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको निम्ति साढे १ बजे नयाँ दिल्ली जानुभएकाले ३ बजे आयोजित कार्यक्रममा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।

टुँडिखेलमा दर्जनौंको संख्यामा घोडा दौडिरहेको समयमा ललितपुरमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाइएको छ । ललितपुरवासीले आफ्नो परम्परा जोगाउन वर्षेनी एकल घोडा दौडाउने गर्छन् । उक्त घोडा पनि नेपाली सेनाले नै उपलब्ध गराउने गरेको छ । यो घोडा कानो हुने भएकाले यसलाई कामा घोडा भनिन्छ ।आज पनि ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्याइयो । भीमसेन गुठीका सम्पूर्ण गुठियारले परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्येबाट एक जनालाई घोडा चढ्न लगाइएको हो । घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्याएर टीका लगाइएको थियो ।

उक्त स्थानदेखि एकल घोडेजात्रा सुरु भएको हो । पाटनको मूलचोकबाट सुरु भई विभिन्न स्थान हुँदै बालकुमारी परिक्रमा गरी पुनः भोलगणेश हुँदै बालकुमारीमै घोडा फर्किएको हो । नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिइएको थियो ।

घोडेजात्रा काठमाडौं उपत्यकाको एक प्रसिद्ध जात्रा हो । आजको दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमासमेत मनाउन थालिएको धेरै भएको छ ।

टिप्पणीहरू