एमाले बनेका माओवादी साथीहरुका बिलौना

एमाले बनेका माओवादी साथीहरुका बिलौना

– नरेन्द्रजंग पिटर

धेरै दिनपछि नवएमाले कमरेडसँग हिजो अपराह्न कोटेश्वर कफी हाउसमा भेट भयो । उनी अत्यन्तै भावुक मात्रै थिएनन्, आवेगमा पनि देखिए । पीडामा उल्झेको मान्छे मनका बह पोख्न खोज्छ या विरहका कविता लेख्छ, नसके रुखका टोड्कामा पनि ओकल्छ । भन्छन् नि, युद्ध सकिएपछि हतियारको कुनै काम हुँदैन, बरु भएका हतियार शान्तिकालमा बोझ बन्ने गर्छन् ।

जनयुद्धकालका उनी मेरा नेता । लामो संगत, भावना मिल्थ्यो । सपना, सक्रियता र भूमिका एउटै भएकाले मन र मस्तिष्क छताछुल्ल पार्थे । डबल नेकपा बनेपछि एकपटक भेटियौँ । त्यसबेला मैले पार्टी छाडेको प्रसंग उठाउँदै भनेको थिएँ– माओवादी पार्टी प्रचण्ड, बादल डट कमसहित तपार्इंहरूले पो छोडनुभयो, म त हिजो जे, जस्तो, जहाँ थिएँ, आज पनि उस्तै छु । तपाईंहरूले विचार मात्र हैन, ट्रेडमार्क पनि छाडनुभएको हैन र !’

त्यसबेला उनी सरकार र शक्तिमा थिए । सत्ताले लघारेको र दबाब झेलिरहेको मलाई अध्यक्ष कमरेडसँग एकपटक भेट्न आग्रह गरे । एक नागरिकको हैसियतमा सबै राजनेता अझ सर्वोच्च कार्यकारीलाई नभेट्ने प्रश्नै उठ्दैनथ्यो । मजस्तो भुइँमान्छेलाई किन सर्वोच्चले भेट्न खोज्थ्यो ! तब भनें– सरोकार तपाईंको हो कि, उहाँको ! त्यसपछि संवाद रोकिएका थिए ।

कमरेड आज मुडमा थिए । हिजोको सम्झना गर्दै आवेगमा आए । हतोत्साह नगरी कुरामा हौस्याउँदै गएँ । आवेगमा, दुःखमा, अति हर्षमा मनका बह कतै न कह हुन्छ । शारीरिक दुःखभन्दा मन र मस्तिष्कमा लागेको चोटले रन्थनाउँछ । भन्दै गए– हाम्रा अहिलेका अध्यक्ष त सिएम (प्रचण्ड) भन्दा औधी चाम्रा रहेछन् । सिएमलाई त नत्र भनेर घुक्र्याए, दबाब दिए, खुशी पारे जे पनि हासिल गर्न सकिन्थ्यो । तर, अहिले भने कुनै युक्ति, बुद्धि, कला र चातुर्यको काम लाग्दै नलाग्ने । नौरंगी मान्छे नयाँ भर्ती भएपछि हाम्रो भाउ खस्कियो ।

मिटिङमै तेजोबध हुन थाल्यो । हरेक विषयमा सहमति जनाउनुबाहेक कुनै भूमिका रहेन । जनयुद्धको खिसीट्युरी मात्रै हैन उछित्तो नै काढ्ने, जसले गणतन्त्रको सर्वोच्च पद दिलायो, त्यसैलाई कटाक्ष हान्ने । गाली सिएमको मात्रै थिएन, हामीलाई नै नंग्याएर हैसियतमा झार्ने काम हुन थाल्यो । चुनावबारे सामान्य छलफल चल्दै थियो । अस्ति त ठूलै एकजनाले प्वाक्क भनिदियो– नयाँघरमा बाक्लो दाल नखोजे हुन्छ ।

जसले जिन्दगीका आधा उमेर सँगै रहेकालाई त धोका दिन सक्छन्, तिनले नयाँ घर पोल्दैनन् भन्ने के विश्वास ? एमाले भनेको हाम्रो रगत–पसिनाले बन्या संगठन हो । तिम्रो कार्यक्षेत्रमा युद्धताका हामी, हाम्रा कार्यकर्तालाई के–के ग¥यौ, एकएक हिसाब राख्या छौँ । बिर्सियौं भन्ठान्या ! हामीसँग जवाफ थिएन । उनीहरू हामीलाई भाग खोस्न आएको भतुवा भन्ने सोच्छन् । हामी एमाले बन्यौं तर गर्वले एमाले हौं भन्ने, बोल्ने मनोबलै छैन ।

हामी राजनीतिलाई शान्तिपूर्ण युद्ध सोच्ने स्कुलबाट आएका । युद्ध जित्नका लागि दिल, दिमाग, योजना, समय, ठाउँ, सूचना संयन्त्र, भ्रम दिने र फसाउने चाल, मौसम चयन गर्ने योग्य सेनापति आवश्यक हुन्छ । त्यस्ता सेनापतिको अभावमा ठूला फौज हारेका तर थोरै सेनाले पनि भयंकर लडाइँ जितेका उदाहरण छन् । युद्ध, कुनै बनिबनाउ फर्मुलाले चल्दैन । परिस्थितिले निर्धारण गर्छ र सेनापतिको रणकौशलमा भर पर्छ ।

दण्ड र पुरस्कार दिन नसक्ने सेनापतिबाट उपकमाण्डर र फौजमा अनुशासन कायम हुनै सक्दैन । सेनापतिको सबभन्दा ठूलो शक्ति र हतियार भनेको उसमाथिको विश्वास हो । तर, यहाँ त गाली, ठट्टा, आधारहीन उटपट्याङ कुराले पो संगठन चल्दोरहेछ । केही भनाँै नसकिने, बोलबोल मछली मुखभरि पानी । जाने ठाउँ र विश्वास ध्वस्त भएपछि रहनु, खुम्चनु, तड्पिनु, मनका बह मनमै सक्नुबाहेक केही नहुने, उफ !

आफन्तले भर्खर गरेको कुरा सुनाउँदै भने– ‘हामी खुशी बेचेर सुख किन्न गएका रहेछौँ । खुशी बेचेको सम्पत्तिले सुख किन्न कहाँ पाइँदो रहेछ र ! समयपहिल्यै सत्य बोल्नु खतरा निम्त्याउनु भएकाले मेरो नाम नलेख्नुहोला । फ्यास्स लेखिदिनुभयो भने अर्को झन्झट आइलाग्छ ।’

उनका पीडाले कोअर्डिनेशन केन्द्र, माले, एमाले, माक्र्सवादी, एमाले विभाजन र अन्य अवस्था नियालेपछि मात्र नवएमाले बनेका माओवादीको भविष्यको राजनीति खुट्याउन सकिन्छ । त्यसपछिको राजनीति, पच्ने र पचाउने खेलअन्तर्गत उपयोगिता र हैसियत सिद्धिएपछि पहिलाको पार्टी वा नेतृत्वलाई गाली गर्ने अवस्था मात्र बाँकी रहन्छ ।

मुक्तिमोर्चा, माक्र्सवादी, एमाले विभाजनपछिका माले नेता–कार्यकर्ताको अवस्था देख्दा नवएमाले बनेका पूर्वमाओवादीको हैसियत, औकात र भूमिकामा फरक पाइन्न । उनीहरूको उपयोगिता प्रचण्डलाई गाली गर्ने, माओवादीबारे प्रतिक्रिया दिने र जनयुद्धलाई अपराधीकरण गर्नेमा मात्रै सीमित रहने पक्का छ ।

नवएमालेको हविगत गाविस उपाध्यक्ष, उपमेयर, प्रादेशिक सांसद र दयाको समानुपातिक पदभन्दा माथि हुने छैन । इतिहासप्रति न गर्व गर्न मिल्ने, न घृणा गर्न सकिने हविगत भनेको अत्यन्तै डिप्रेसनको अवस्था मात्रै हो । मूल नेतृत्वको सहानुभूति रहे पनि अरुले मात्रै हो भाग खोस्न आएका हिजोका वैरी भनेर हतोत्साही गराउँछन् । पुराना रैथानेको दबाब र हेपाइबाट मर्माहत हुनेका पीडा गल्लीगल्लीमा सुन्न पाइनेछ ।

दुई कप कफी सकिएपछि छुट्टिने बेला उनले मिर्जा गालिवको एक शेर सुनाएः

कैसे करूँ भरोशा, गैह्रों के प्यार पे

यहाँ अपने ही लेते हैं मजा, अपनों की हार पे ।

टिप्पणीहरू