भोकले व्यथित भुइँमान्छेहरू

भोकले व्यथित भुइँमान्छेहरू

कोरोना भाइरसको सन्त्रासले सिंगो देश नै लकडाउन भएर घरबाहिर समेत निस्कन नपाइरहेको अवस्थामा मानिसहरूको कामकाज ठप्पप्रायः छ । हुने खानेलाई त पीर भएन, हुँदा खानेका लागि चिन्ता थपिएको छ । दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न परिवारको तथ्याङ्क संकलन गरेर उनीहरूलाई खाद्यान्न सहयोग गर्ने सरकारको प्रयास छ । घर हुनेहरूको त तथ्याङ्क आउला, जसको घरै छैन, उनीहरूलाई के गर्ने ?

प्रसंग सडकमानवहरूको हो, जसले दैनिक रुपमा फोहोर बटुलेर आफ्नो पेट भर्दै आएका थिए । गत सोमबार नारायणगढको शहीदचोकनेर एउटा घरको पिँढीमा दिउँसै बोरा ओछ्याएर सुतिरहेका थिए, विनोद तिवारी, उनीसँगै थिइन् सानु थापा । पतिपत्नी बताउने दुवैजना सडकमा फालिएका प्लाष्टिक, कार्टुन, पानीका बोतल, बियर–जुसका डब्बा आदि बटुलेर, त्यो बेचेर बिहान–बेलुकाको छाक टार्ने गर्थे । तर पछिल्लो समय तीन–चार दिनदेखि भात खानै नपाएको उनीहरूले बताए । उनीहरूको छेउमा एउटा प्लाष्टिकमा स–साना दुई पोका बिस्कुट थियो । त्यही बिस्कुट, चिउरा खाएर पेट भरिरहेको उनीहरूले बताए । बताइएअनुसार लकडाउन नहुँदाको सामान्य अवस्थामा दुईजना भएर दिनको ७००/८०० रुपैयाँ कमाउँथे । अहिले बटुल्ने चीज नै त्यति भेटिँदैन । भेटिएपनि बेच्ने ठाउँ बन्द छ । एक डेढ महिना अघिसम्म कवाड पसलले प्लाष्टिक–कार्टुन १० रुपैयाँ किलोमा लिन्थे । बिस्तारै ८ रुपैयाँ र त्यो पनि घटाएर ५ रुपैयाँ दिने गरेको उनीहरू बताउँछन् । न्युरोडको ग्यारेजमा ओत भएको ठाउँमा राति सुत्ने गरेका उनीहरूले बिहान–बेलुका होटलमा खाना खान्थे । ‘पहिले काम हुँदा होटलले उधारो पनि खाना दिन्थ्यो, अहिले काम रोकिएपछि उधारो दिनै छोड्यो’, विनोदले भने, ‘रोगले भन्दा पनि भोकले मर्ने भइयो ।’

सोमबारै क्षेत्रपुरमा दुईजना ३२/३३ वर्षीय पुरुष बोरा लिएर फोहोर फालिएका ठाउँमा खोतल्दै प्लाष्टिक बटुल्दै थिए । नाम राजकुमार खतिवडा र साने भुजेल बताउने उनीहरूले पनि पैसा नभएर दुई दिनदेखि खाना खान नपाएको बताए । अघि दिउँसो एउटा पसलमा चिउरा मागेर खाएको राजकुमारको भनाइ थियो । लकडाउनको दुई दिनसम्म त कवाड बेच्ने ठाउँ खुलेको थियो, त्यसपछि बैंक नै बन्द छ, पैसा छैन भन्दै साहुले पसल बन्द गरेपछि मुखमा माड लाग्न छोडेको उनीहरू बताउँछन् । उनीहरू पनि पैसा हुँदा होटलमा खान्थे । अहिले कवाड पसल सबै बन्द भएपनि खुलेपछि बेच्नलाई जम्मा गर्दै हिँडेको बताउँदै उनीहरू भन्छन्, ‘पहिले दिनमा पटक–पटक गरी ५०/६० किलोसम्म कवाड जम्मा गरिन्थ्यो, अहिले दिनभर घुमेर २० किलो पनि पु¥याउन गाह्रो छ ।’ आफूहरूको यहाँ घर नभएकाले राति अरुको घरको पिँढीमा सुत्ने गरेको बताए । एक–डेढ महिना अघिसम्म १० रुपैयाँ किलोमा बेचिने कवाड पछिल्लो समय ८ रुपैयाँ र त्यो पनि घटाएर ५ रुपैयाँ मात्र दिने गरेको भन्दै उनीहरूले पनि गुनासो गरे । यसको पनि यथोचित मूल्य निर्धारणमा स्थानीय सरकार र प्रशासनले ध्यान दिने कि !

यसैबीच, कवाड संकलन गर्ने शान्ति शेर्पा नामकी ४९ वर्षीया महिला आएर भनिन्, ‘खान पाइएन हजुर, भोकले मर्ने भइयो ।’ घर नभएर चउरमा त्रिपाल टाँगेर सुत्ने गरेको बताउने उनले थपिन्, ‘एक बोरा जति त सँगालेको छु, सबै पसल बन्द छ, कसैले लिँदैन ।’ भरतपुर–३, न्युरोडको राधिका कवाड पसलका लुरे विकले देशमा लकडाउन भएर सबै उद्योग–धन्दा बन्द भएपछि आफूले पनि बन्द गरेको बताए । उनले भने, ‘बैंक बन्द छ, पैसा नै छैन, खोलेर के गर्ने ?’

त्यही कवाड पसल पछाडितिर भाडामा बस्ने विपिन साह दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक हुन् – टायल ओसार्ने, लोड गर्ने । उनको पाँच जनाको परिवार छ, अहिले काम नभएर खान समस्या भइरहेको उनको भनाइ थियो । अहिलेसम्म नाम टिप्न र सहयोग दिन कोही पनि नआएको बताउँदै उनले राहत आवश्यक भएको भन्दै आफू र आफूजस्तै अन्य श्रमिक साथीहरू रामाधार चौधरी, रामबहादुर वाइबा, हृदयनारायण चौधरी, किशोरी चौधरी र गोरख साहको पनि मिडियामा नाम टिपाए ।

सधैंजसो नारायणगढमै देखिने ३३ वर्षीय दिपककुमार विश्वकर्मा सोमबार पुलचोकमा भेटिए । लकडाउन भएयता भात खान नपाएर भोकभोकै बस्नुपरेको पीडा उनले पनि सुनाए । पानी खाएर पेट भरिरहेको उनी बताउँछन् । गैंडाकोटमा गोठजस्तो घरमा एक्लै भाडामा बस्ने गरेको बताउने उनलाई सधैं उही मैलो कपडामा देखेर पुलचोक निवासी शिखर पियाले आफ्ना केही पाइन्ट र ज्याकेट दिए । बताइएअनुसार घर बनाउने काम गर्ने विकले दिनको ५०० रुपैयाँ कमाउँथे । आफैं भुसे चुलोमा पकाएर खान्थे । पहिला कमाएको पैसा जम्मा गरेको छैन ? भनी सोध्दा ‘छैन’ भन्दै उनले भने, ‘काममा लगाएर कतिले पैसा दिन्थे, कतिले दिँदै दिएनन् ।’ कृष्ण विश्वकर्मा नाम गरेका ठेकेदारले एक वर्षजति काम लगाएर पैसा नदिएको उनको भनाइ थियो । ‘अहिले पैसा पनि छैन, चामल, दाल केही पनि छैन’, उनले भने, ‘खुलेपछि त काम पाइहाल्छ, अहिलेचाहिँ भोकभोकै भइयो ।’

टिप्पणीहरू