माधव नेपालको नाम बेचेर बहिनी,ज्वाईंको मोज

माधव नेपालको नाम बेचेर बहिनी,ज्वाईंको मोज

मानिसका शौख र चाहना पनि साह्रै उदेकलाग्दा । निजामती सेवामा रहँदा सँधै स्वदेश-विदेशका राम्रा र मालदार ठाउँमा मात्रै पोष्टिङ खाएका एक जना अवकाशप्राप्त बहिनीज्वाईंलाई मीठो रहरले अवकाशपछि पनि छाडेको छैन । छिट्टै अष्ट्रेलियाको लागि नेपाली राजदूत नियुक्त हुने लाइनमा ढुक्कसाथ बसेका उनी र उनकी श्रीमतीले सबैले चुसेर तन्नम अवस्थामा पुर्याएको नेपाल वायुसेवा निगमलाईसमेत बाँकी नराखेको घटना बाहिरिएको छ ।

राजदूत भएर अष्ट्रेलिया जाने समय छिट्टै आउन लागेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी कान्छी बहिनी बसुधा नेपाल र ज्वाईं कैलाश पोखरेलले अध्यक्ष दाजुको नाम लिँदै नेपाल वायुसेवा निगमलाई मुगु पुर्याउन बाध्य पारेका हुन् । अघिपछि मतलब छैन,समाजवादीको सचिवालयले बकाइदा निर्णय ठोकेपछि गत फागुन २२ गते राति काठमाडौंको एउटा होटलमा दाइ र जेठानको जन्मदिन भव्यसँग मनाउने दिव्य ज्ञान फुराएको उक्त जोडीले सो पार्टीको फोटो सामाजिक सञ्जालमा हालेको एक महिना नपुग्दै सित्तैंमा रारा घुम्न नेपाल वायुसेवा निगम र त्यसको तालुक अड्डा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि भएभरको जोड लगाएका हुन् ।

निजी क्षेत्रका हवाइ कम्पनीले दिन दुई गुणा, रात चौगुणा नाफा गरिरहेको अवस्थामा हुनेवाला राजदूत तथा पार्टी अध्यक्षका बहिनी र ज्वाईंले निगमको ट्विनअटर विमानलाई मुगुको ताल्चा विमानस्थल पुर्याउन बाध्य पारेको बताइन्छ । उक्त घटनालाई प्रष्ट्याउने क्रममा स्रोतले भन्यो, ‘थाहै नदिई नेताको नाम बेचिएको हो कि ! वा नेताले नै आँखा चिम्लिएको हो ? त्यो चाहिँ थाहा भएन । तर, राजदूत बनेर जान लागेका भनिएका व्यक्ति र दम्पत्तिले गरेको चर्तिकला सुन्दा सबैको आँङ सिरिङ्ग हुन्छ ।’

उनीहरुले अब आफू ३ बर्षको निम्ति बिदेश जान लागेको हुँदा त्यसअगाडि रारा घुम्ने ठूलो शौख जागेको बताउँदै निगमको जहाजमा त्यहाँ पुर्याउन गत साताको प्रारम्भदेखि पर्यटनमन्त्री प्रेम आलेलाई जोडबल लगाएका थिए । रारा पुग्न मुगुको ताल्चा विमानस्थलमा नेपालगञ्जबाट मात्र नियमित उडान हुन्छ । तर,त्यहाँ निजी कम्पनीका समिट र यतिको तारा एअरले मात्र उडान भर्ने भएकाले उनीहरुले खर्च गरेर नजाने मनशायका साथ नेपाल वायुसेवाको उच्च तह र मन्त्रालयमा दबाब दिएको बताइन्छ ।

“बरु हामी नै सबै खर्च र बसाइ ब्यवस्थापन गरिदिन्छौं,हजुरहरु नेपालगञ्जबाट निजी क्षेत्रको विमानमा मुगु गैदिए हुन्थ्यो” भनेर पोखरेल दम्पत्तिलाई निगम प्रशासनले धेरै पटक अनुनयविनय गरेको गर्दा पनि हुँदै हुन्न भनेर गत बुधवारदेखि नै तारन्तार पेलिएको मन्त्रीको प्रेस हेर्ने टोलीले जनआस्थालाई बतायो । । यसरी हुनेवाला राजदूत र नेताका बहिनी ज्वाईंको अचम्मको तर ‘गाँडे शौख’ पूरा गर्न निगम प्रशासनले दुई वटा मात्र ट्विनअटर भएको अवस्थामा उक्त कार्य गर्न नसकिने भनेपनि पटक पटक दबाब दिइएको स्रोतको दाबी छ । ‘उनीहरुले जसरी पनि आफूूहरुलाई रारा घुमाएर ल्याउन पहिले आग्रह र अनुरोध गरे,अन्तमा केही सीप नलागेपछि सबैतिरबाट दबाब दिँदा आदेश पालन गर्न मन्त्रीज्यू बाध्य हुनुभयो,’सोही टीमले दु:ख पोख्दै बतायो ।

‘भाडाको कुरो नगरौं सर, उहाँहरुले सुको तिरेको रसिद देखाउनुभयो भने म २० वर्ष पुगेको जागिर छाडिदिन्छु । धमिराहरुले पनि पैसा तिर्छन् ?’

‘उनीहरुको शौख पूरा गर्नुपर्दा निगमले भोजपुर र लुक्लाको निम्ति फिक्स्ड भएको पाँच वटा चार्टर उडान रद्द गर्नुपर्यो,’ ती कर्मचारीले भने,‘एकातिर विदेशी मुद्राको आम्दानीमा ठेस लाग्यो । अर्कोतर्फ सित्तैंमा त्यहाँ लैजाने र ल्याउने काम गर्नुपर्दा निगमलाई दोहोरो मार पर्यो ।’

‘एमाले अध्यक्ष ओली वा उनको पार्टीका अरु नेता भएको भए यस्तो अवस्थामा पैसा तिर्न परे पनि वा नपरे पनि तारा अथवा यति एअरलाइन्सलाई रोज्थे । तर माधवको नाम बेचेर शौख पूरा गर्नेलाई यहि सुक्दै गएको निगमको त्यहि पुरानो विमान चाहियो । त्यो पनि सित्तैंमा ।’

दवाव चर्को भएपछि मन्त्रालयका पदाधिकारीहरु गत बिहिवार बेलुका काठमाडौंदेखि पूर्वको चार्टर सेड्युलमा रहेको “गौँथली” विमानलाई नेपालगञ्जतर्फ उडाउन बाध्य भएका हुन् । हावाको चापका कारण मुस्ताङ,हुम्ला,जुम्ला सेक्टरका जहाज बिहान मात्र उडाउन सकिन्छ । यसनिम्ति जहाजलाई अघिल्लै दिन नेपालगन्ज या पोखरा लगेर राख्नुपर्ने हुन्छ जबकि पूर्व जानलाई काठमाण्डौ विमानस्थल अघिल्लै दिन छाड्ने जरुरत हुन्न । यसरी अघिल्लै दिन जहाज नेपालगन्ज पुर्याएर पोख्रेल दम्पत्ति निगमकै मेजवानीमा त्यहाँ बसी शुक्रबार बिहान एक जना माननीय,उनका छोरासहित मुगुतर्फ सित्तैंमा उडेका हुन् ।

शुक्रबार २० मीनेटमा मुगु पुगेका उनीहरुलाई लिन आइतबार निगमको सोही विमान फेरि त्यसतर्फ गएको थियो । त्यो दिन पनि चार्टर उडान रद्द गर्नुपरेको बताइन्छ । हजारौं डलर आम्दानी हुने उडानलाई रोकेर सित्तैंमा भीआइपी पाहुना बोक्न जानुपर्दा विमानका क्याप्टेनदेखि सबै कर्मचारी रुष्ट देखिएको मन्त्रीनिकट श्रोतको दाबी छ । नेता तथा पूर्वप्रधानमन्त्री दाजुको नाम बेचेर बहिनी र ज्वाईंले अष्ट्रेलियाको राजदूत नियुक्त हुनुअघि सित्तैंमा रारा घुम्न जानैपर्ने भेद अहिलेसम्म कसैले पनि थाहा पाएका छैनन् ।

बहिनी र ज्वाईंको पछिल्लो हर्कतले पार्टी अध्यक्ष नेपालले एमाले र उसका अध्यक्षप्रति लक्षित गर्दै आउनुभएको नीति,सिद्धान्त र विधिको उपहास भएको एमालेनिकट कर्मचारीहरुले जनआस्थासँगको कुराकानीमा बताएका छन् । ‘एक महिनाअघि उनै पोखरेलले अध्यक्ष नेपाललाई विवादमा आउने गरी पाँच तारे होटलमा माला लगाएर भव्य जन्मदिनको आयोजना गरे । अहिले उनैले नेपाल वायुसेवालाई दशौं हजार डलर चुना लगाइदिएका छन्,’ ती कर्मचारीले भने ।

पोखरेल दम्पत्तिले निगमलाई भाडा तिरेर मुगु गएको पो हो कि भन्ने जिज्ञासामा मन्त्रालयका उनै एमाले निकट कर्मचारीले भने, ‘भाडाको कुरो नगरौं सर, उहाँहरुले सुको तिरेको रसिद देखाउनुभयो भने म २० वर्ष पुगेको जागिर छाडिदिन्छु । धमिराहरुले पनि पैसा तिर्छन् ?’

टिप्पणीहरू