प्रधानमन्त्री दिल्ली जानुअघि महन्थ ठाकुरका मन्त्री थपिने “सम्भावना”

प्रधानमन्त्री दिल्ली जानुअघि महन्थ ठाकुरका मन्त्री थपिने “सम्भावना”

महन्थ ठाकुर,राजेन्द्र महतोलगायत मधेशवादी नेता सम्मिलित लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो राजनीतिक कोर्स परिवर्तन गर्ने सम्भावना देखा परेको छ । आज दिउँसो आकस्मिक बोलाइएको केन्द्रीय समिति बैठक एकछिन छलफल गरेर भोलि दिउँसो १ बजेसम्मको लागि स्थगन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि अपरान्ह भारतको तीन दिने भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ । त्यसअघि नै राजनीतिक कोर्स परिवर्तन गर्ने उद्देश्यले लोसपाले आज र भोलि बैठक बोलाएको विशेष सूत्रको दाबी छ ।

पार्टीको बबरमहलस्थित कार्यालयमा भएको बैठकमा आगामी निर्वाचन केन्द्रित छलफल भएको लोसपाका एक जना नेता तथा पूर्वमन्त्रीले बताए ।

उनले भने, ‘खासै त्यस्तो विशेष एजेण्डा केही होइन । चुनाव र अघिल्लो पटक केपी शर्मा ओली सरकारसँग भएको सम्झौता पालनाको निम्ति सरकारलाई घच्घच्याउने कुरो उठेको छ । भोलि सबै कुराको निर्णय हुन्छ ।’

पार्टी बैठकमा सहभागी ती नेताले जे दाबी गरे पनि आगामी ३६ घण्टाभित्र आश्चर्यचकित घटना उत्पन्न हुने सम्भावना रहेको बताइन्छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वयम् अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको भेटवार्तासङ्गै भारतीय पक्षले लोसपालाई दिएको सुझाव कार्यान्वयन हुन लागेको जनकपुरतिर व्यापक चर्चा छ ।

पार्टीले नेपालको संविधान २०७२ लाई सँधै आलोचना गर्दै आएको छ । उसले उक्त संविधान ९२ प्रतिशत जनताको मात्र भएकाले ८ प्रतिशत जनताले संविधान निर्माणमा सहभागिता नजनाएको पटक पटक बताउने गर्दछ । त्यसबेला संविधानप्रति बिमती राख्ने क्रममा भारतले नाकाबन्दी लगाउँदा नाकाबन्दीलाई समर्थन गर्दै महन्थ र महतोहरुले १० गजा पारि बसेर नेपालतर्फ ढुंगा र गुलेली हानेका थिए ।

विगतको सन्दर्भलाई ध्यानमा राख्दै भारतले आगामी निर्वाचनमा एमाले र लोसपाबीच तालमेल हुन नदिन अहिले नै यही सरकारमा मिसाइदिन लागेको एमालेको बुझाइ छ । यता प्रधानमन्त्री देउवाले लामो समयदेखि दुई वटा मन्त्रालय आफैसङ्ग राख्दै आउनुको कारण पनि अब क्रमशः खुल्दै जानेछ ।

सम्भवतः भोलि बेलुकासम्म वा ढिलोमा प्रधानमन्त्री दिल्लीबाट फर्केलगत्तै लोसपा वर्तमान मन्त्रिमण्डलमा सहभागी हुने सम्भावना प्रवल रहेको बालुवाटार स्रोतले पनि नकारेन ।

महन्थ र महतोको पार्टीलाई मन्त्रिमण्डलमा भित्र्याएर एकातिर भारतको मन राख्ने,अर्काेतिर कमल थापासङ्गै उसलाई एमालेतिर जान नदिने रणनीतिअन्तर्गत सधैंजस्तै मधेसी दलहरुका निम्ति पृय उध्योग,वाणिज्य र आपूर्तिसहित रक्षा मन्त्रालय बुझाउन लागिएको श्रोतको दावी छ ।

टिप्पणीहरू