उपत्यकामा बढ्यो वायु प्रदुषण, पानी नपरेसम्म उस्तै

उपत्यकामा बढ्यो वायु प्रदुषण, पानी नपरेसम्म उस्तै

काठ्माडौं उपत्यकामा आइतबारदेखि वायुप्रदुषण एक्कासी बढेको छ । घाम नलाग्ने,चिसो हुने, नाक र आँखा पोल्ने गरी वायु प्रदुषण बढेको हो । विभिन्न ठाँउमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण बढेको वातावरण विभागले जनाएको छ । उपत्यकासहित अन्य जिल्लामा फैलिएको तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विभागका अधिकारीहरु बताउँछन् ।

विभागकी सूचना अधिकारी सरोजा अधिकारीले डढेलो,सवारी साधन र औद्योगिक गिक क्षेत्रबाट निस्किएको धुवाँका कारण वायु प्रदुषण भएको बताउनुभयो । प्रदुषण हट्नका लागि वर्षा र बेस्सरी हावा लाग्नुपर्छ तर अहिले पानी पर्ने सम्भावना निकै कम देखिएको छ,उहाँले भन्नुभयो । मुलुकका विभिन्न स्थानमा लागेको डढेलोको कारणले यस्तो अवस्था आएको हो । बढ्दो प्रदुषणले मानव स्वास्थ्यका साथै बोटविरुवा र पशुपंक्षीलाई समेत नकारात्मक प्रभाव पारिरहेको छ ।

आँखा पोल्ने,चिलाउने, श्वासप्रश्वासमा अप्ठ्यारो हुनेजस्तो समस्या देखिएको छ । त्यसैगरी, वालवालिकाको स्वास्थ्यमा यसले धेरै असर पार्ने जनस्वास्थ्यविद्हरु बताउँछन् । यस्तो अवस्थामा बिनाकारण घरबाहिर ननिस्किन उनको सुझाव छ । यता, वायुको गुणस्तर मापक एयर क्वालिटी इन्डेक्सले पनि नेपालको हावामा निकै प्रदुषण भएको जनाएको छ । एक्वुआईका अनुसार हाल काठ्माडौंको वायु प्रदुषण चौथौ नम्बरमा छ भने यसको एक्वुआई एक सय ६५ रहेको छ ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ । एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण अवस्था हो । ३ सयभन्दा माथि जानुलाई घातक भनिन्छ । विश्व स्वास्थ्य संगठनले विश्वभर वायुप्रदुषणका कारण हरेक वर्ष झण्डै ७० लाख मानिसको अकालमा ज्यान जाने गरेको बताएको छ ।

टिप्पणीहरू