काठमाण्डौ विमानस्थलमा थामिनसक्नु भीड

काठमाण्डौ विमानस्थलमा थामिनसक्नु भीड

नेपालका अधिकांश मुख्य विमानस्थलमा हिजो थामिनसक्नुको भीड भयो । त्यसमध्ये काठमाडौंको भीडले साह्रै नै अत्यायो । हिजो आन्तरिक विमानस्थलमा भएको भीडमा बिरामी,बालबालिका र बृद्धबृध्दाको बिजोग भएको हो ।

काठमाडौं उपत्यकाको मौसममा देखिएको अस्वाभाविक परिवर्तनले अधिकांश उडान ढिलो भएको बताइन्छ । बाक्लो तुँवालो र वायु प्रदुषणका कारण भिजिबिलिटी कम भएपछि अन्यत्र गएका हवाइजहाज काठमाडौं ओर्लन सकेनन् भने कतिपय काठमाडौंबाट उड्न नसक्दा यात्रुहरुको भीड भएको विमानस्थल कार्यालयले जनाएको छ ।

केही दिनदेखि उडानमा ढिलाई हुँदै आएकोमा हिजो घण्टौंसम्म विमान उड्न नसकेपछि १२ वटा उडान रध्द भएका हुन् । अस्ति आठ वटा रद्द भएको थियो । आज पनि वायु प्रदुषण र तुवाँलो उस्तै भएकाले उडानमा समस्या हुने जनाइएको छ ।

“सोही उडानबाट मेडिकलको परीक्षा दिन हिँडेकी एक जना बहिनी अनाहक विमानस्थलमै बेहोस भइन् ।”

हिजोको ढिलो उडानबाट बिराटनगरमा परेको समस्या लेख्दै एक जना यात्रुले सामाजिक सञ्जालमा भनेकी छन्, ‘सौर्य एअरको उड्ने समय सवा १ बजेको थियो । बोर्डिङ भएपछि उडान तीन घण्टा डिले छ भनियो । त्यसपछि समय थप्दै साँझ ६ पुर्याइयो । त्यसपछि विमान आयो तर सवा ७ बजे उडान रध्द गरियो ।’

उनैले अगाडि लेखेकी छन्, ‘क्यान्सिल्ड नै हुने भएपछि बेलैमा भनिदिएको भए हुन्थ्यो । सोही उडानबाट मेडिकलको परीक्षा दिन हिँडेकी एक जना बहिनी अनाहक विमानस्थलमै बेहोस भइन् । बृध्दबृध्दा र बिरामी रातको समय बास बस्ने ठाउँको खोजीमा लागे । रद्दको कारण थियो–पाइलटको उडान समय नाघेको ।’

हिजो र पहिलेका धेरै वटा घटनाले यात्रुलाई नेपालमा हवाइजहाज चढ्नु भनेको सहजता र छिटोका लागि नभएर समयको बर्बादी,झण्झट र अनिश्चितताको पर्यायवाची बनेको छ । यो पीडामा हिजो हजारौं यात्रु परेका हुन् । तर,कसैले पनि यो समस्यालाई बेलैमा सम्बोधन गर्नेतर्फ ध्यान दिएको पाईंदैन ।

फोटो: निश्चल चापागाईं

टिप्पणीहरू