कोरोना कहर : समृद्धि फुलाउने रहर

मानवता हराएको पुँजीवादले लुट चलाएको मौसम हो आजको मानव समाज । विश्वव्यापी महामारीका बेला इरानी राष्ट्रपति र विदेशमन्त्रीले पत्र लेख्दै यस महामारीविरुद्ध समन्वय र सहयोग खोजी गरेका थिए । उनीहरूले संसारलाई अमेरिकी नाकाबन्दीको स्मरण पनि गराएका थिए । विडम्बना, मानवतावादको प्रवचन गरेर नथाक्नेहरू कोही आज बोल्न तयार छैनन् । अमेरिकाको नाकाबन्दी र कोरोनाको महामारीबाट एकै पल्ट परेको महाविपत्तिविरुद्ध लड्न इरानले गरेको चित्कार दुनियाँ सुन्नेवाला छैन । यही हो नि ! असली चरित्र निगम पँजीवादको ।

कोरोनाविरुद्धको लडाइँमा आज चीन छोटो समयमा किन सफल भयो । कोरिया किन सफल छ भन्ने सवाल जोडतोडसँग सञ्चारमाध्यममा उठाइएको छ । यो सवालमा चिनियाँ धारणा दिँदै ग्लोवल्स टाइम्स आफ्नो सम्पादकीयमा लेख्छ,…प्रभावकारी रूपमा समाहित गर्न सक्नुको मूल कारण भनेको यो देशसँग भएको उच्चस्तरको समन्वय र एकीकृत कार्य हो । भाइरस विश्वभर फैलियो किनकि अन्तर्राष्ट्रिय प्रणालीसँग यसको विरुद्ध लड्न कुनै एकीकृत रणनीति थिएन । युरोप र पश्चिमी मुलुकमा पनि, विभिन्न देशबीचको सहकार्य प्रत्येक देशले आफ्नै लडाइँमा कमजोर रहेको छ । प्रत्येकले बनाएको रक्षाको रेखाहरू भाइरसविरुद्ध एक ठूलो पर्खालसँग जोड्न सक्दैैन ।…यो चिनियाँ धारणाले वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक प्रणाली सँगसँगै विश्व राजनीतिक व्यवस्थाबारे गहिरो प्रश्न उठाएको छ । अझै अमेरिका, युरोपको क्षतिलाई लिएर ग्लोबल्स टाइम्स लेख्छ…यस शताब्दीको शुरुदेखि अमेरिकामा धेरैजसो संकट गैरभूराजनीतिक थिए र वास्तविक राजनीतिक आघात ९र११मा एकपटक मात्र भएको थियो । क्याट्रिना तुफान होस २००८ को वित्तीय संकट वा नोबल कोरोना भाइरसको महामारी, ती अमेरिकी संरा अमेरिकी सुरक्षा टोली र गुप्तचर एजेन्सीले कल्पना गरेभन्दा असान्दर्भिक छन् । अमेरिकाको खतराको दर्शन यसको वास्तविकतासँग विल्कुल मेल खाँदैन । कोरोना फैलिएसँगै हुवेईबारे चीन–अमेरिका व्यापार युद्ध कोरोना युद्धतिर लागेका छनकझैं जुहारी चल्दै थियो । ट्रम्पले चिनियाँ भाइरस भन्ने नामकरण गरेका थिए भने अमेरिकी सेनाले सैनिक खेलकुदको बेला बुहनमा भाइस छाडेको आरोपसमेत लगाए, चिनियाँहरूले । चीन संकट सामना गरिरहँदा पश्चिमा सञ्चार जगत् माओको तस्बिरमा मास्क लगाउनेदेखि खिस्याउने गर्दै थिए । तर, जि–२० को शिखर सम्मेलनमा पुगेर चीन अमेरिका हात मिलाउन तयार भएको छ । क्षणभर युद्ध होलाजस्तो क्षणमा वार्ता र संवादको राजनीति ।

कोरोना कहरले विश्व आणविक अस्त्रशस्त्रका होडमा महाशक्ति बनेको देश यतिबेला कोरोनाको यो त्रास र महामारीसँग जुध्न असफल भएका छन् । उन्नत प्रविधि र सभ्यता संस्कार ठानिएकाहरू यो बेला महामारीसँग जुध्न अक्षम छन् । विश्वमा आजसम्म प्रयोग भएका प्रणालीको कुल योगमा कोरोनाविरुद्ध लड्न नयाँ एकीकृत प्रणाली विकासको माग हुन थालेको छ ।

यतिबेला विश्व मानव समुदाय कोरोना महामारीको चपेटामा परेको छ । पूर्व समाजवादी देशका वर्तमान सत्ता प्रमुखहरू मैदानमा उत्रिएर पहल लिँदै छन् । चाहे रसियाली राष्ट्रपति पुटिन हुन् कि चिनियाँ राष्ट्रपति सी यो विश्व संकटको बेला महामारीको क्षणमा जनस्वास्थ्यप्रति संवेदनशील भएर अहोरात्र खटिरहेका छन् । यो संकटका बेला संवेदनशील भएर कोरोनाविरुद्धको लडाइँमा मानव जातिलाई आशाको किरण छर्न लागिपरेका छन् । अमेरिकाले नाटो सेना अरबको तेल लुट्न पठाएजसरी क्युबाली डाक्टरका फौज युरोपमा उपचार गर्न गएको छ । अमेरिका रुवाबासी गर्दै छ । चिनियाँ डाक्टरहरू युरोप–अमेरिकातिर उद्धार गर्दै छन् । अमेरिकाले हेपेको मेक्सिकोका नागरिक आज अमेरिकन छिर्लान् कि भनेर तारबार लगाउन कस्सिएका छन् ।

हेर्दाहेर्दै चित्र र चरित्र बदलिएको छ । यो कठिन समय छ । यस्तै समयले हो मान्छेको वास्तविक चरित्र उदांगो पार्ने पनि । त्यही भएर होला चिनियाँ राष्ट्रपति संसारभर सहयोगी हात फैलाउँदै छन् । कठिन समयले मान्छे र समाजलाई साथी र दुस्मन पनि चिनाउँछ । आज चाहेर÷नचाहेर पनि मान्छेहरू कित्ताबन्दी हँुदै गएका छन् ।

नेपाली कम्युनिष्ट नेताहरूचाहिँ कोरोनाको नेपालयात्रा शुरु भएसँगै दुला पसेका छन् । केही वर्षदेखि राज्यले नै लखटेर दुला पसाएकाहरू झन् यस्तो बेला निस्कने त कुरा भएन । सिंहदरबारको सिंहासनमा बस्ने अवसर पाएका कम्युनिष्ट नेता (आधा दर्जन भूपूप्रधानमन्त्रीदेखि दर्जनाँै मन्त्री, माननीयदेखि गाउँका सिंहदरबारको प्रमुखसम्म) यो बेला कमिसनको दाम गन्दै बसेका होलान् कि के होला ? लकडाउनको बन्द घोषणाबाहेक जनताले अनुभूत गर्ने कामको चानोमानो छैन त किन होला ?

उत्तर छिमेकमा परेको विपत्ति देखेर त हामीले सिक्न सकेनाँै । दक्षिणको आपत हामीलाई पनि आइलाग्यो । अब हामी आफंैले भोग्न र सामना गर्नुपर्ने समय आएको छ । यो बेला उदासीन र कर्मकाण्डीय तरिकाको काम कुरा र सस्तो प्रचारको शैली होइन, अलि फरक ढंगले नेपाली नेता र अगुवा सबैले सोच्न जरुरी छ ।
हातमा साधन–स्रोतले सम्पन्न करोडपति कमरेड र सत्ताको रथमा सयर गरेकाहरूले चाहिँ यसो गरौँ न पहिलो काम । ल मेरो गाडी जनता सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुविधाका लागि जे बनाउनुपर्छ ल बनाआँै भनौँ न ! मेरो अख्तियारी प्राप्त यति रकम उपचार तथा आपतकालीन कोषमा जम्मा गरेको छु भनौँ न ! अघि–पछि दुतावासमा आगो पानिको समेत माग्न जानेहरू यसपटक अनुभव प्रविधि र सूचना आदान–प्रदान गरौँ न ! यो वर्षको बजेट संशोधन गरेर अत्यावश्यकीय साधन पीपीई बनाउन तम्सेको महावीर पुनको अभियानमा लागत घटाउने र उत्पादन बढाउने गरी अनुदान दिन्छु भनौँ न ! अरू के–के चाहिन्छ र बनाउन सम्भावना छ, गफ होइन परिणाममुखी काम गरौँ न !

कोरोना वा अन्य कुनै महामारी फैलिएमा मेरो क्षेत्र नगर गाउँ इलाकामा यति प्राविधिक र अन्य जनशक्ति छ । यति औषधि छ । यसरी गरेको छु तयारी गरेको छु भनेर अंकगणित गरौँ न ! के गाउँमा बाघ आएपछि स्याल आउँदैन भनेजस्तो कोरोना आउँदा अरू महामारी लाग्दैन भन्ने छ र ?

गाउँदेखि शहरसम्मका सुरक्षाकर्मीको प्राथमिक स्वास्थ्य सामग्री प्रबन्ध गर्ने उचित तयारी र साधन स्रोत जम्मा गराँै । रोग लागेर उपचार गर्न जटिल छ भन्ने हाम्रो ठहर हो । त्यसैले रोग लाग्न र फैलन नदिन म यस्तो तयारीमा छु भन्ने अवधारणा लागू गरौँ । यो बेला आफ्नो क्षेत्र जनताको चाप हेरेर दैनिक उपभोग्य सामानहरूको कालोबजारी रोक्ने वितरणमा राज्यको उपस्थिति यसरी देखिन्छ भन्दै आश्वस्त पाराँै । असहाय, अशक्त, दीर्घरोगी नागरिकबारे पनि केही सोचाँै । हाम्रो घरेलु उद्योग कृषि र पशुपालनमा आउने चुनौती सामना गर्न किसानसँग हातेमालो गर्ने योजना निर्माण गरौँ । श्रमिकजन अति विपन्न समुदाय र सुकुम्बासीको अवस्था पहिचान गरी पहल गरँे भनौँ न म यस्तो गर्दै छु !

यही अभियान सँगैसँगै विदेशबाट आउनेको पहिचान र सम्भावित संक्रमणको जोखिममा रहेकाहरूको अन्य रोगी बिरामीबारे हरेक तहमा एक युनिट खडा गरेर निगरानी र त्यसको व्यवस्थापन गर्न प्राथमिक स्थानीय साधन–स्रोतको उपायबाट तयारी थाल्दै समाधानका उपाय अवलम्बन गराँै । यति नगर्नेहरू डोजरको खेतीमा रमाउँदै जनताको चिहान खन्न मात्रै पर्खी बसेको हो र ? आफ्नो ज्यान आफँै बचाउ भन्ने हो भने त किन चाहियो सरकार ? किन चाहियो राज्य ? त्यो पनि कम्युनिष्ट नामधारीहरूको ।

यो विपत्तिको घडीलाई हामीले समृद्धिको यात्रा थाल्ने आधार बनाउने हो भने राजनीतिक विमति र द्वन्द्वलाई अहिले थाती राखेर केही समय कम्तीमा ६ महिना हातेमालोको प्रयास गरौँ । धैर्यता र साहस गर्ने हो भने अलिकति जोखिम मोल्ने र विकल्प खोज्ने हो भने । अब तत्काल देशमा स्वास्थ्य संकटकाल घोषणा गरौँ । झन्झटिलो कानुन खारेज गराँै । झन्झटिलो संयन्त्र भंग गरौँ । प्रभावकारी जनमुखी संयन्त्र गठन गराँै । त्यसपछि स्वास्थ्य सुरक्षा कवजसहित राजनीतिक, सामाजिक अभियन्ताको नेतृत्व गराँै । पहल गराँै, साधन स्रोतको केन्द्रीकरण र परिचालन गर्ने काम युद्धस्तरमा गराँै । त्यसपछि विशेषज्ञ डाक्टरसहितको एप्रोनधारी पहिलो मोर्चा खटाऊ । हरेक स्थानीय तहसम्मको एक विशेष युनिट जनस्वास्थको अभियान स्थानीय साधन, स्रोत, उपायसहित प्रविधिको संयोजन गरौँ । स्वास्थ्य सुरक्षा कवजसहित बर्दीधारीहरू युवाहरूको स्वयंसेवक दलसम्म सहभागी बन्ने दोस्रो मोर्चा निर्माण गराँै । हरेक स्थानीय तहसम्म सुरक्षा, सप्लाई र वितरण अनुगमन त्यो मोर्चाबाट गराँै । मौजुदा ब्युरोक्रेस र वकिलको प्रशासन कानुन र सन्धि–सम्झौताको चिरफार कागजको अप्ठ्यारो छेक्ने प्रयोजनका लागि नियतमा खोट बोकेर गोजीमा नोट थुपार्न खोज्नेहरूको विरुद्धको मोर्चा बनाउन । यो कामको परिणामलाई हेरेर क्रमशः स्थानीय तह कोरोनामुक्त क्षेत्र घोषणा गर्दै जाउन । त्यो मुक्त इलाकाले उत्पादनको काम थालौँ आत्मनिर्भर बनाँै । त्यसपछि विदेशमा श्रम गर्न जाने नेपाली र आउन चाहनेलाई क्रमशः क्वारेन्टाइन क्षमताअनुसार झिकाउन थालौँ । त्यहाँ छउन्जेल बस्न, खान पहल गर्ने कूटनीतिक नियोग परिचालन गराँै । सस्तो श्रम बेच्न जानेहरूबारे अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा हालेर भए पनि नागरिकको रक्षा गरौँ ।

हामी साहस गरौँ, अझै केही महिना लकडाउन गरौँ । गाउँ कोरोनामुक्त भएसँगै शहरहरूलाई विस्तारै खुला गर्दै त्यो अभियानमा सामेल गरौँ । गाउँ, शहर जेलिएको सम्बन्ध हो हाम्रो विशेषता । तीन महिना कठोरता अपनाउने भए यही हुँदा नेपालमा खेतीबालीको मौसम छ । देशैभर बिउ विजन मलखादको निःशुल्क उपलब्ध गरौँ । जमिन बाँझो नराखौँ, जहाँ जे हुन्छ रोपौँ–फलाआँै । गाउँ जानेहरूको सही उपयोग गरौँ । कोरोनापछिको संकटमा आट किट दिनेहरूलाई भोलि गहँु, मकै भने पनि दिऊँ, सधैँ हात पसारेर हुन्छ ? आँधी–हुरी बाढी डोजरको खेतीले निम्त्याएको पहिरो आतंक निकट क्षीतिमा आउँदै छ । त्यसअघि कोरोनाविरुद्धको लडाइँलाई एक घेरामा कैद गरौँ ।

छिमेकसँगको नाकाबन्दी जारी रहोस् अझै भए होस् । विश्वबाट कोरोना उन्मूलन नभएसम्म नाका नियन्त्रित गराँै । सुरक्षा उपायसहित आयात–निर्यातको उपाय अवलम्बन गरौँ । तर, नेपालमै उत्पादन गर्न सकिने कृषिलगायत आयात ठप्प गरी उत्पादन र निर्माण थाल्ने अभियान चलाआँै । ६ महिना परीक्षण गरेर हेरौँ न ! अमेरिकाको नाकाबन्दीले क्युवाको जैविक क्रान्तिको विकास गर्ने आधार तयार भयो । आज इरान, अमेरिका नाकाबन्दी झेलेर यो महामारी सामना गर्दै छन् । हामी हाम्रो साधन–स्रोतको उपयोग गरौँ । आयुवेर्दिक औषधि विज्ञानको थप जगेर्ना गराँै । अर्गानिक जोन निर्माण गर्दै जाऊँ । कोरोनाले दुनियाँ रुँदै गर्दा हामीले आँसु पुछ्न नसके पनि बाँचेकाहरूको पेट भर्ने सामल फलाउन त सक्छौँ नि !

टिप्पणीहरू