कथा किन तोडमरोड गरेको कम्युनिष्टले ?

कथा किन तोडमरोड गरेको कम्युनिष्टले ?

– अनिल शर्मा ‘विरही’

देशमा कम्युनिष्ट भन्नेहरुको दुई तिहाई र संसदबाहिर सडकमा पनि सशक्त उपस्थिति हुँदासमेत अल्पमतमा रहेको कांग्रेसको नेतृत्वमा सरकार छ । एमसिसी परियोजना पारित भएसँगै देश नयाँ ध्रुवीकरणतिर गएको छ ।

कांग्रेसले प्रजातन्त्रवादी शक्तिहरुबीच धु्रवीकरणको नारा दिएको छ । त्यो नाराअन्तर्गत उसैको नेतृत्वमा देशभक्त भन्ने पूर्वपञ्च र प्रतिगामी राजतन्त्रबीच धु्रवीकरण गराउन खोजिएको छ । यो नवउदारवादी धारा हो । केपी ओली यही धारामा छन् । यद्यपि ओलीले राष्ट्रवाद र देउवाले प्रजातन्त्र भनिरहेकै छन् । उता प्रचण्डले संविधानवादी धारा निर्माण गर्न खोजिरहेका छन् । जसमा झलनाथ खनाल, भीम रावल र नारायणकाजी छन् । एमसिसीलगायत कैयौं विषयमा मतभिन्नता भए पनि उनीहरु संविधानवादी यथास्थितिवादी नै हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट, देशभक्त र प्रगतिशील शक्तिहरुबीच अर्को धु्रवीकरण भइरहेको छ । फागुन १६ को नेपाल बन्द र फागुन २० कै जनसभा त्यसको अभिव्यक्ति हो । सत्तारुढ संसदीय समूह र देशभक्त तथा प्रगतिशील शक्तिहरुबीच ढलपल–ढलपल गरिरहेको मसाल पार्टी एमसिसी पारित गरेपछि गठबन्धन छोडेर सरकारबाट बाहिरिएको छ । यो मसालको पार्टी जीवनको गुणात्मक प्रगति हो । एमसिसीविरोधी संघर्षको सन्दर्भमा पूर्वराजावादीहरु र उनीहरुसँगको एकता पनि चर्चाको विषय बन्ने गरेको छ ।

त्यस सन्दर्भमा राजा नरोद्धम सिंहानुक (कम्बोडिया) को प्रसंग आउने गर्दछ । सिंहानुक साम्राज्यवादको विरुद्ध कम्युनिष्टसँग संयुक्त मोर्चा बनाउन तयार भएका थिए । उता डा. सन यातसेन चिनियाँ कम्युनिष्ट पार्टी र समाजवादी धु्रवसँग संयुक्त मोर्चा गठन गर्न कस्सिए । नेपालका पूर्वपञ्च र राजावादी भन्नेहरुमा त्यसप्रकारको प्रगतिशील चरित्र देखिन्न । यहाँ विषयमाथि बहसको क्रममा सिपी मैनाली पश्चगामी राजतन्त्रको पक्षमा देखिएपछि ६ दलको संयुक्त मोर्चाबाट बाहिरिएका छन् । यथास्थितिको विरोध भनेको अग्रगमन हो, पश्चगमन होइन ।

एमसिसी पारित गरेपछि सुर्खेत र कञ्चनपुरमा जनताले कांग्रेस र माओवादीको पार्टी कार्यालयमा नै आगजनी र आक्रमण गरे । कफ्र्यु, निषेधाज्ञा जारी गर्नुप¥यो । एमसिसी विरोधी आन्दोलनकारीमाथि निर्मम दमन गरियो । बुटवलमा प्रहरीले नै सडकमा बम राखेर दमनको लागि षड्यन्त्र ग¥यो । काठमाडौंको कलंकीलगायतमा त्यस्तै भयो । देउवा गठबन्धन साम्राज्यवादको चाकरी गर्ने, देशलाई सैन्य गुटमा धकेल्ने र त्यसको विरोध गर्नेलाई दमन गर्ने दिशामा छ ।

पुष्पलालले पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेस र कम्युनिष्टबीच संयुक्त संघर्षको प्रस्ताव गर्दा बिपी कोइराला ‘कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदैनन्’ भन्दै त्यसो गर्न तयार भएनन् । बरु निरंकुश राजासँग घाँटी जोड्न पुगे । उनले ‘राजा र मेरो घाँटी जोडिएको छ’ सम्म भन्न भ्याए । तर, कांग्रेस नेता गणेशमान सिंह कम्युनिष्टसँग संयुक्त भएर पञ्चायतविरुद्ध जान तयार भए । पुष्पलालको मतसँग २०४६ सालमा पुग्दा सहमत भएपछि नै संयुक्त जनआन्दोलन भई पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्र ढल्यो ।

सोभियत समाजवादी प्रणालीबाट त्रसित भएका कैयौं पुँजीवादी देशले पुँजीवाद र समाजवादको मिश्रित प्रणाली अवलम्बन गरेका थिए । भारतमा मोहनदास करमचन्द गान्धी, सुभाषचन्द्र बोस, जवाहरलाल नेहरु, डा. राममनोहर लोहिया मिश्रित प्रणालीका पक्षधर थिए । त्यसैले उनीहरुलाई प्रजातान्त्रिक समाजवादी भनियो । त्यही नारा बिपी कोइरालाले नेपालमा आयात गरेका हुन् । विडम्बना, कांग्रेसले मोहनसमशेरसँग सहकार्य गर्ने, कम्युनिष्टसँग लड्ने नीति लियो । जसअनुसार डा. के.आई. सिंह र भीमदत्त पन्त नेतृत्वको किसान विद्रोहसँग जोडेर नेकपामाथि प्रतिबन्ध लाग्यो । भारतीय सेना ल्याएर भीमदत्त पन्तलाई मराउने पनि कांग्रेस नै हो ।

२०४६ सालमा भारतीय नेताहरुको निर्देशनमा कांग्रेसले वाममोर्चासँगको पूर्वसहमतिविपरीत एक्लै संघर्ष घोषणा ग¥यो । वाममोर्चाले कांग्रेससँग सहकार्यको घोषणा ग¥यो भने माओवाद वा विचारधारा मान्ने कम्युनिष्टहरुले ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ समितिमार्फत गणतन्त्रको कार्यक्रम ल्याए । चैत २४ को निर्णायक संघर्ष र नेपाल बन्द यही मोर्चाले आह्वान गरेको हो ।

२०५२ पछि देश गणतन्त्रमा प्रवेश ग¥यो । कांग्रेस पार्टीको आधार भत्कियो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आदर्श मान्ने कांग्रेस दिल्लीको निर्देशनमा गणतन्त्र मान्न तयार भयो । दिल्लीको संकेत पाएपछि गगन थापाहरु चर्को गणतन्त्रवादी बनेर उदाए । एकाएक गणतन्त्रवादी बन्ने चेत उनीहरुको दिमागमा कसरी आयो ? यो प्रश्न आफैंमा रहश्यमय छ । जेहोस् माओवादी र वामपन्थीहरुको दबाबमा कांग्रेस आफ्नो राजनीतिक आदर्शबाट च्युत भएको घटना थियो त्यो ।

कांग्रेसले न आफ्ना राजनीतिक, वैचारिक आदर्श कायम राख्न सक्यो न त सचेत रुपले वैचारिक–राजनीतिक छलाङ वा क्रमभंग गर्न नै सक्यो । ऊ दबाबमा परेर आदर्शच्युत भयो । त्यसैकारण विचलित भएका नेता कृष्णप्रसाद भट्टराई कांग्रेस पार्टी छाडेर स्वतन्त्र भए । कांग्रेसले राजनीतिक श्रेष्ठता गुमायो । विदेशी शक्तिको आडमा कांग्रेस लड्खडाउँदै उभिएको छ र राष्ट्रिय राजनीतिमा प्रमुख भूमिका र शक्तिमा छैन ।

आदर्शच्युत भएको कारण कांग्रेसमा वैचारिक एकता छैन । खुमबहादुर खड्काको हिन्दु धर्म र राजतन्त्र पुनःस्थापित गर्ने नारा कोइराला परिवारले बोक्न थालेको छ । उनीहरु वामपन्थी एकताको विरोध गर्छन् तर वामपन्थीको वैशाखी टेकेर सत्ताभोग गर्छन् ।

नेताहरुलाई चुनाव लागेको छ । सबैभन्दा धेरै चुनाव केपी ओली र उनको पार्टीलाई लागेको छ । जनताको ध्यान आकर्षित गर्ने नारा के हुनसक्छ त ? नेपालमा कम्युनिष्टहरु सधैं राष्ट्रिय स्वाधिनताको पक्षमा लड्दै आएका छन् तर सरकारको नेतृत्व गर्ने स्थानमा पुग्दै गर्दा कांग्रेसले जसरी नै राष्ट्रघात गर्न थाले । महाकाली सन्धिमा राष्ट्रघात कम्युनिष्ट भन्नेहरुबाटै भयो ।

सन् १९९० मा भएको नेपाल–भारत संयुक्त विज्ञप्तिमा सहमति जनाएर सहाना प्रधानले राष्ट्रघाती इतिहास निर्माणको प्रक्रिया शुरु गरिन् । महाकाली, बिप्पा, अरुण ३, माथिल्लो कर्णाली हुँदै एमसिसीसम्म विस्तार भएको छ । एमाले, माओवादी केन्द्र हुँदै कैयौं कम्युनिष्ट नामधारी पार्टीहरु नीति र कार्यक्रममा कांग्रेसभन्दा कत्ति पनि फरक छैनन् । ती कांग्रेससँग उदारपुँजीवादको विश्वास प्राप्त गर्न प्रतिस्पर्धा गर्छन् । तर, जनतालाई भ्रमित गर्न समाजवादउन्मुख संविधानको गीत गाउनुपरेको छ । राष्ट्रवादको जामा भिर्नुपरेको छ । सारतत्व र रुपमा अन्तर छ । त्यसैले समाजवाद भन्ने, दलाल पुँजीवादको नेतृत्व र सेवा गर्ने भएको छ । राष्ट्रवाद भन्ने, राष्ट्रघात गर्ने भएको छ ।

अग्रगामी नीति र कार्यक्रम नभएपछि मान्छेहरु, दलहरु, नेताहरु अतितको सहारा खोज्छन् । चुनाव नजिकिँदै गर्दा जनतामा रहेको धार्मिक भावनालाई भड्काएर मतदाता आकर्षित गर्ने प्रयास भएको छ । केपी ओली त्यसप्रकारको धर्म–राजनीतिमा अग्रस्थानमा छन् । रामजन्मभूमि, माडी र ठोरीको विषयमा सञ्चारमा आएका ओलीका विचारहरु हेर्दा सम्बन्धित विषयमा उनलाई निम्नतम ज्ञान पनि छैन भन्ने सहजै बुझ्न सकिन्छ । माडीको इतिहास र बहसको विषय राम र अयोध्या होइन, हुन सक्दैन ।

थारु समुदायका आदिपुर्खाको उदय, विकास र विनाशको कथाव्यथा खोज्नुपर्ने, उनीहरुलाई सौन्दर्यकृत र रक्षा गर्नुपर्ने दायित्वबाट पन्छिएर, भ्रमित बहस सिर्जनामार्फत ओली धर्म राजनीति गर्दैछन् । भारतकै रोमिला थापरसहितका इतिहासकारहरुले राम र अयोध्याको बहस इतिहास नभएर काव्यमात्र भएको (कथा वा मिथक) धारणा सार्वजनिक गरेका छन् । आफूलाई कम्युनिष्ट भन्न रुचाउने ओली समूहमा त्यत्ति पनि चेतना देखिन्न ।

उनीहरु धर्म–राजनीतिको आडमा भाजपा भारतमा सत्तारुढ भएको हेरेर आरएसएसको बासी नारा नेपालमा लगाउन खोजिरहेका छन् तर नेपाल भारत होइन । नेपालमा पृथ्वीनारायण शाहको कालदेखि नै धार्मिक सहिष्णुता कायम छ । धार्मिक सहिष्णुता नेपाली संस्कृति बनिसकेको छ । नेपालमा कम्युनिष्ट जनमत छ । यो जनमत बाँदर बोकेर हिँड्दैन । तेस्रो, नेपाल उत्तर प्रदेशजस्तो पछौटे समाज होइन । जसलाई सजिलै भड्काउन सकियोस् । थारु, चेपाङ, दराई, बोटे, माझीको मुद्दालाई राम र हनुमानको बहसले छोप्न खोज्ने ओली दाउपेचलाई भण्डाफोर गर्न आवश्यक छ ।

टिप्पणीहरू