भत्केर बिजोग हुँदा पनि सडक बनाउन सबैको वकालत कार्यक्षेत्रमा

भत्केर बिजोग हुँदा पनि सडक बनाउन सबैको वकालत कार्यक्षेत्रमा

रुपन्देहीको बुटवल उपमहानगरभित्र ठूला र फराकिला सडकहरु धेरै छन् । तर, सडकहरु जति नै फराकिला भए पनि उपमहानगरभित्रका धेरैजसो सडकको स्थिति गएगुज्रिएको अवस्थामा पुगेको छ । अझ बजार जोड्ने पूर्व पश्चिम राजर्माग तथा सिद्धार्थ राजमार्गमा पर्ने बेसक्याम्पदेखि राजमार्गको चौराहा हुँदै जाने गोलपार्कसम्मको सडक बिग्रिएर ध्वस्त भएको छ ।

सडक बिग्रेकाले धुलोका कारण सडकमा हिँड्न सर्वसाधरणलाई सास्ति पर्न थालेको छ । हिजोआज गर्मीको समयमा पनि त्यहाँ धुलोका कारण जाडोको हुस्सु झैं देखिन्छ । बर्खामा हिलोले र सुख्खा याममा धुलोले बाटो हिँडि नसक्नु भएको स्थानीयको भनाइ छ ।

सडक बिग्रेको वर्षौ बितिसक्दा पनि बेलैमा नबन्दा आफूहरुलाई धेरै दुःख भएको स्थानीय सबैको एउटै गुनासो छ । अहिले सडक किनारामा नाली बनाउने काम सुरु भएपछि सर्वसाधरणलाई बाटो हिँड्न थप सास्ती भएको छ । नाली बनाउने कार्यको निम्ति ल्याइएका बालुवा, गिट्टीलगायतका सामान बाटोमा छरपस्ट हुँदा अवस्था थप असरल्ल देखिएको हो ।सडकको दुरावस्थाका कारण दुर्घटनाको सम्भावना बढिरहेको छ । धुलोले जनताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । यसबारे सबै थाहा पाएको र हेरिरहेको स्थानीय सरकार भने  माैन बसेको छ ।

सडक अगाडिका पसले वा सडकमा खटिने ट्राफिक प्रहरी सबैको गुनासो एउटै छ, ‘ बिग्रेको बाटोले दुःख दियो ।’ धुलो घर र पसलभित्र छिर्ने तथा सवारी साधन गुड्दा ढुंगा गिट्टी उछिट्टिएर लाग्ने गरेको उनीहरुले बताए ।

चौराहामा किराना पसल चलाउँदै आएका एकजना व्यापारी भन्छन्, ‘यो बाटो नबन्दा धेरै गाह्रो भएको छ । अझ गर्मीमा धुलोले थप सास्ती हुन्छ । यति धेरै समयसम्म पनि बनाउँदैनन् ।’ घरमा पसल राख्ने व्यापारीले यसो भनेका छन् भने ठेलामा व्यापार गर्नेले धुलोका कारण ग्राहकहरु नै नाक खुम्चाएर भाग्ने गरेको तीतो पोखे ।

उक्त समस्या बुटवलको ट्राफिक चोक वा बसपार्क जताततैका व्यापारीको हो । सो सडक खण्डमा खटिने गरेका ट्राफिक प्रहरीहरुले भने जति अप्ठेरो परे पनि आफूहरु बोल्न नमिल्ने बताउँछन् । ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरी भन्छन्, ‘अब धुलोले गाह्रो त भएको छ । सरकारको तलब खाएकाले हामी खासै बोल्न मिल्दैन । जति जे परे पनि सहेर काम गर्नै पर्यो ।’जीर्ण सडकको कारणबाट आलोचित बुटवलका मेयर शिवराज सुवेदीसँग बुझ्दा उनले उक्त सडक केन्द्र सरकारअन्तर्गतको सडक विभागको कार्य क्षेत्रभित्र पर्ने हुँदा आफ्नो हात बाँम्धिएको जानकारी दिए ।

उनले तीन वर्षदेखि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण उपमहानगरकै वकिल लगाएर यसको गाँठो फुकाउन लागिपरेको बताए । धेरै ताकेता गरेपछि काम सुरु भए पनि ठेकदारले काम रोकिदिएको जानकारी दिए ।

उनी भन्छन्, ‘यसमा सर्वोच्चको स्टे अर्डर थियो । तीन वर्षसम्म त मुद्दामा अड्कियो । वकिल लगाइयो । सडक बनाउन धेरै ताकेता गरियो अनि बल्ला काम सुरु भयो । फेरि ठेकेदारले सामानको मूल्य बढ्यो भनेर काम रोक्यो । अनि सरकारले भाउ बढाएर ल्याप्चे लगाएर काम गर्न बाटो खुल्ला गरेको छ । तर, पनि ठेकेदारले गरेको छैन । केन्द्र सरकारअन्तर्गतको सडक विभागभित्र पर्ने हुँदा हामीले केहि गर्न मिलेन ।’

यस्तै संघीय सरकारले ठेकेदारलाई निलम्बन गरेर उपमहानगरको कार्य क्षेत्रमा सडक बनाउने जिम्मा दिए आफूले एक महिनाभित्र सडक बनाउने ठोकुवा मेयरको छ । ‘अरु त म भन्न सक्दिँन तर संघीय सरकारले ठेकेदारलाई निलम्बन गरेर उपमहानगरको हातमा सडक बनाउने जिम्मा दिए सडक पिच गर्ने र धुलोको समस्या समाधान उपमहानगरले एक महिनाभित्र गरि सक्छ ।’

मेयरले सडक नबन्दा उपमहानगरका जनतालाई अन्याय भएको बताउँदै सरकारले छिटो भन्दा छिटो काम गर्नुपर्नेमा जोड दिए । उनले बुटवलवासीको स्वास्थ्यमा खेलवाड भएको र उपमहानगरले आफ्नो तर्फबाट सडकको धुलो एक हदसम्म कम गर्न नियमित रुपमा एउटा पानीको ट्यांङ्कर पठाउने गरेको बताएका छन् ।

फोटो, भिडियो : नवराज न्यौपाने

टिप्पणीहरू