भविष्यवाणिमा कोरोना र सरकार

भविष्यवाणिमा कोरोना र सरकार

कोरोनाको त्रासले विश्व दिन प्रतिदिन स्तब्ध हुँदै गएको छ । विश्वका २ सय वटा मुलुक र क्षेत्र यसबाट प्रभावित बनेका छन् । यसको संक्रमणले चीनपछि युरोपका अधिकांश मुलुक र अमेरिकालाई अत्यधिक गाँजेको छ । नेपालमै पनि पाँच जनामा पुष्टि भएको छ । वैज्ञानिकहरू यसको औषधीमूलो पत्ता लगाउन रातदिन खटिएका छन् । औषधी र उपचारको चुरो पत्ता नलागिसकेकाले विश्वका झण्डै तीन अर्ब मानिस यतिखेर देशै ठप्प पारेर घरभित्र थुनिएका छन् । तर, हाम्रै देशका एकजना ज्योतिषले ठ्याक्कै एक वर्षअघि अहिलेको महामारीको भविष्यवाणी गरेका रहेछन् । पछिल्लो एक वर्षमा हामी कतिले उनको पात्रो पल्टायौं ? कतिले वि.सं.२०७६ को उनको वार्षिक भविष्यफलतर्फ नै ध्यान दियौं र !

चिसापानी–२, सानीबेसी, रामेछापका पण्डित सूर्यप्रसाद ढुंगेलले प्रकाशन गरेको वि.संं.२०७६ को पात्रोको वार्षिक भविष्यफलमा देश एवम् विशेष नगरहरूमा नाकाबन्दीजस्ता अशुभ फलहरू बढ्ने उल्लेख छ । अहिलेको लक डाउन पनि त्यसैको अर्को रूप हो भन्न सकिन्छ । उनले अनेकौं रोग, भोक र शोकले ब्याकुल भएका जनता दिग्भ्रमित बन्ने ठोकुवा पनि गरेका छन् । अहिले नेपाली जनताको अवस्था ठ्याक्कै उक्त भविष्यवाणिसँग मेल खाएको छ । उनले फलेश शनिका कारण संसारमा कलह उत्पन्न हुने बताएका थिए जुन यतिखेरको विश्व परिवेशसँग मिल्दोजुल्दो नै छ ।

ढुंगेलले गरेको भविष्यवाणिमा राज्यमा सीमा विवादको सम्भावना रहेको उल्लेख गरिएकोमा पछिल्लो दिनमा नेपालको भूभाग समेटेर भारतले नक्सा सार्वजनिक गरेको विषयले ठूलै रूप लियो । साथै उनले सही सल्लाहकार पहिचानको अभावमा सरकार अनिर्णयको स्थितिमा रहने छ भन्दै गरेको भविष्यवाणि पनि शतप्रतिशत मिलेको छ । पछिल्लो दिनमा प्रधानमन्त्री केपी शर्मा र सरकार सञ्चालनको विषयमा उनको सल्लाहकार समूह सँधैजसो विवादमा पर्दै आएकाले ढुंगेलको भविष्यवाणिलाई ढिलै भएपनि सबैले निधार खुम्चाएर सोच्ने हो कि ?

टिप्पणीहरू