माओवादी जनयुद्धको आन्तरिक अनियमितता

माओवादी जनयुद्धको आन्तरिक अनियमितता

क. इञ्चार्ज, क्षेत्रीय व्युरो ‘क’
विशेष केन्द्रीय कमाण्ड, नेकपा माओवादी

                                           विषय : थप छानबिनका लागि जानकारी पठाएको बारे ।

म २०५९ असारमा पूर्व उपक्षेत्रीय सेक्रेटरी अविनाश (रवि कार्की र उनकी श्रीमती लक्ष्मी महर्जन दुश्मनको कब्जामा परेपश्चात १९ लाख नगद, १० लाख मूल्यमा खरिद गरिएको जग्गाको लालपुर्जा, १० हजार मूल्यको सेयरसमेत बरामद गरेको भनी टेलिभिजनमा देखाएको थियो ।

२०५८ मंसिरमा रवि गिरफ्तारीमा परेपश्चात् लक्ष्मीसँग रहेको पार्टीको पैसा निकाल्न बाहिर भएका कमरेडहरुले धेरै प्रयास गरी २६ लाख २५ हजार नेतृत्वलाई बुझाएको स्थिति थियो । बाँकी १२–१३ लाखमात्र भन्ने भनाई लक्ष्मीको रहेकोमा त्यो निकाल्नसमेत आनाकानी गरेको, तत्कालीन क्षेत्रीय इञ्चार्जलाई नभेटिकन दिन सक्दिन भनेको, भेटघाटबाट उम्किने गरेको, अझ दबाब दिँदा रकम झिक्न नागरिकताको प्रमाणपत्र चाहिने र त्यो नभेटिएकोले भेटेपछि झिक्छु भनेको स्थिति थियो भने बाहिर रहेका कमरेडहरुलाई बाँकी रकम कति हो ? भन्ने जानकारी थिएन ।

यसै अवधिमा लक्ष्मी बसेको ठाउँबाट पनि कोठा सरेपछि सम्पर्क हुन सकेन । यी सबै कुराहरुका आधारमा उनी पार्टीलाई पैसा बुझाउनुपर्ला भनेर कोठा सरेको र सो रकम निजी बनाउन खोजेको देखिन्छ । दुश्मनद्वारा प्रचारित जग्गा र शेयर किनेको, छोरालाई महँगो आवासीय बोर्डिड स्कुलमा पढाएको भन्ने कुरा के कति सत्य हो ? र यी सबै काममा रवि कार्कीको संलग्नता के कति छ वा छैन ? भन्ने पत्ता लगाउन ०५९ असोजमा सम्पन्न विशेष केन्द्रीय कमाण्ड क्षेत्रीय ब्यूरो ‘ख’ को बैठकले क. प्रभाकिरणको एक सदस्यीय आयोग बनाएको थियो । सम्बन्धित व्यक्तिहरु जेलमा रहेको र दुश्मनको तीव्र दमनको अवस्थामा सो काम धेरै जटिल बन्यो ।

दबाब दिँदा रकम झिक्न नागरिकताको प्रमाणपत्र चाहिने र त्यो नभेटिएकोले भेटेपछि झिक्छु भनेको स्थिति थियो भने बाहिर रहेका कमरेडहरुलाई बाँकी रकम कति हो ? भन्ने जानकारी थिएन ।

०५९ माघमा युद्धविराम भइसकेपछि र सम्बन्धित दुवै जना छुटिसकेपछि उनीहरुको भनाईसहित लिएर २०६० वैशाखमा मात्र आयोगले प्रतिवेदन बुझायो तर प्रतिवेदनले लक्ष्मी महर्जनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेपछि मात्र पूर्ण तथ्यहरु आउनसक्ने मूल निश्कर्ष दियो ।

सो आयोगको छानबिनबाट

(१) रु. १० लाखमा जग्गा किनिएको,

(२) ०५९ असार १ गते जग्गा पास गरेको,

(३) जग्गामा परेको रु.१० लाखमध्ये ७ लाख लक्ष्मीले जागिर खाँदा कमाएको र माइतीतर्फबाट पटक–पटक दिएको जम्मा गरिएकोबाट र रु. ३ लाख पार्टीको परेको भन्ने भनाइ रहेको,

(४) जग्गा खरिदबारे आफूलाई केही नसोधेको, आफू पक्राउ परिसकेपछि मात्र किनेको हु“दा केही थाहा नभएको, पार्टीले पैसा आफू पक्राउ पर्दा नलगिदिएर यो स्थिति बनेको भन्ने रवि कार्कीको गुनासो रहेको,

(५) शेयर निजी पैसाबाट किनेको भन्ने दुवैको भनाइ रहेको,

(६) छोरालाई महँगो स्कुलमा पढाएको कुरा सत्य नभएको भन्ने कुरा आएको ।

२०६० जेठमा बसेको विशेष केन्द्रीय कमाण्डको बैठकले यी सवालहरूमा रवि कार्कीको संलग्नता छैन भन्ने आधार नदेखिएको हुँदा उनलाई सदस्यताबाट निलम्बन गरी थप अनुसन्धान गर्ने निर्णय गरेको थियो । सोपश्चातको अनुसन्धानमा तीनवटा बैंकको स्टेटमेन्ट, लालपुर्जा र लक्ष्मी महर्जनको बुबालाई सोध्ने काम सम्पन्न भएका छन् । अहिलेसम्मका सबै छानविन एवं कागजातहरुले निम्न आधार प्रस्तुत गरेको छ ।

१. रु.१० लाखको जग्गा किनिएकोमा ३ पार्टीको र ७ लाख आफ्नो परेको भन्ने दुवैले स्वीकार गरेकोमा 

(क) लक्ष्मी महर्जनले २०५०/५१ सम्म जागिर खाएको (गार्मेण्टमा सिलाइको काम), सबैभन्दा बढी तलब हुँदा रु.१५ सय मासिक रहेको देखिन्छ ।

(ख) रवि र लक्ष्मीबीच ०५२ चैतमा विवाह भएको, सो समय लक्ष्मीको जागिर छुटिसकेको र विवाहपछि खान र बस्नसमेत ज्यादै कठिन आर्थिक अभाव भोग्नुपरेको त्यतिखेर उनीहरुलाई जान्ने, बुझ्ने सबैले देखेको,

(ग) बाबु र भाइ (माइतीपट्टी) ले पटक–पटक दिएको भनेकोमा माइतीसँग विवाहपछि अन्तरजातीय भएको कारण एक समय त छुटाउन ठूलो प्रयास भएको, त्यो नसकेपछि पनि ठूलै सहयोग गर्ने स्तरको सम्बन्ध नदेखिएको, रवि कार्की जेल परेपछि लक्ष्मीलाई बस्न र बच्चा छाड्न पनि नदिएको, लक्ष्मीको बुवासँग क. हेमन्तले सोध्दा सहयोग नगरेको भनाई व्यक्त गरेको स्थिति हेर्दा जागिरबाट र माइती पक्षबाट पाएको रकमबाट रु. ७ लाख हुनसक्ने थोरै आधारसमेत पाइँदैन । यस्तो हुन्थ्यो भने बिहेपछि आर्थिक समस्या देखिने थिएन ।

(घ) पछिल्लो अवधिमा कामका दौरान रवि कार्की सपरिवार आफूसँग धेरै निकट रहेको र पछाडि दुश्मनको कब्जामा पर्दा त बस्ने एउटै घरबाट परेकोमा थुप्रै अन्तरंग कुराहरु हुँदा कहिल्यै पनि आफूसँग निजी त्यत्रो रकम भएको कुरा नगरेको भन्ने लक्ष्मी श्रेष्ठको वयान,

(ङ) पैसा राखिएको भनेका तीनवटै बैंकमा २०५५ सालअगाडि खास रकम नरहेको देखिन्छ । जबकि लक्ष्मीले ०५०/५१ पछि जागिर खाएको पाइन्न । यी सबै आधारमा ७ लाख पनि पार्टीकै रकम हो भन्ने पुष्टि हुन्छ ।

२. यसरी ७ लाख लक्ष्मी महर्जनको निजी रकम भएको कतै आधार नदेखिनु, आफू जेल परेपछि जग्गा किनिएको र त्यसबारे आफूलाई केही थाहा नभएको बताउँदाबताउँदै पनि रु. ७ लाख लक्ष्मीको भन्ने रवि कार्कीको समेत दाबी देखिनु, पार्टीको पैसाले (उहाँका अनुसार रु. ३ लाख) जग्गा किन्ने र आफूमाथि सन्देह खडा गरिदिने श्रीमतीसँग जेलबाट छुटेपछि राम्रो पारिवारिक सम्बन्ध हुनु, बरु पार्टीप्रति गुनासो व्यक्त गरिनु आदि कारणले सो योजनामा रवि कार्कीको संलग्नता नभएको जनाउँदैन र सहज वातावरणमा सोधपुछबाट सबै तथ्य नआउने देखिएको हुँदा रवि कार्की र लक्ष्मी महर्जन दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्नुपर्ने भन्ने मिति २०६० असार २५ को क्षेत्रीय ब्युरो ‘ख’ को निर्णयअनुसार यो रिपोर्ट तयार गरी पठाइएको छ ।

संलग्न कागजातहरु :

१. ०५९ कात्तिकमा जेलबाट रवि कार्कीले र लक्ष्मी महर्जनका बारेमा बुझेर लक्ष्मी श्रेष्ठले पठाएको पत्रको प्रतिलिपि ।
२. क. प्रभाकिरणसँग रवि कार्कीको भनाइ ।
३. रवि कार्कीले हिरासत र जेलको बारे क्षेत्रीय ब्युरोलाई लेखेको पत्र ।
४. लक्ष्मी महर्जनले बैंक ब्यालेन्सबारे लेखेको रिपोर्ट ।
५. नेपाल बैंक लिमिटेड क्षेत्रपाटीको दुई पाना, कृषि विकास बैंक ठमेलको एक पाना, कृषि विकास बैंक न्युरोडको एक पाना बैंक स्टेटमेन्ट ।
६. क. कगेन्द्रको रवि कार्कीबारेको भनाइ दुई पाना ।
७. क. हेमन्तको रवि कार्कीबारेको लिखित भनाइ एक पाना ।
८. क. ज्योतिको रवि कार्कीबारेको लिखित भनाइ दुई पाना ।
९. जग्गाको लालपुर्जा ।

– विजय, इञ्चार्ज, क्षेत्रीय ब्युरो ‘ख’, विशेष केन्द्रीय कमाण्ड
(०६०/०३/२८)

टिप्पणीहरू