केजरीवालबाट सिके हुन्छ, कांग्रेस, कम्युनिष्टले

केजरीवालबाट सिके हुन्छ, कांग्रेस, कम्युनिष्टले

दलैपिच्छेका सभा, जुलुस र कार्यालयमा मान्छे ओइरिँदैमा जनमतको परीक्षण वा अनुमान हुँदैन भन्ने कुरा विगतका निर्वाचन परिणामले बताउँछन् ।

०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंको एमाले आमसभा अरु कुनै पार्टीको भन्दा विशाल थियो । स्वयं केपी ओलीको तत्कालिन निर्वाचन क्षेत्र झापा ६ मा पनि त्यस्तै । तर, परिणाम के आयो ? केपीले हार्नुभयो ।

अर्को निर्वाचनमा ३ नम्बर क्षेत्रबाट उठेका कांग्रेसका चक्र बाँस्तोलासँग तालमेल गर्नुप¥यो । त्यहाँबाट उठेका आफ्ना उम्मेदवार युक्त भेट्वाललाई हराएर क्षेत्र नं. २ मा कांग्रेसकी गिरिराजकुमारी प्रसाईसँग तालमेल गरेपछि बल्ल उहाँले जित्नुभएको हो ।

चुनावमा लहर कसरी आउँछ, ०६४ को परिणामलाई उदाहरण मान्न सकिन्छ । त्यसबेला माओवादीले त्यसरी बहुमत आउने गरी जित्ला भन्ने कसैले कल्पनासम्म पनि गरेको थिएन । दिल्लीमा अरबिन्द केजरीवाल यसरी उदाउला, भाजपा र कंग्रेस आईलाई बढार्लान् भनेर कसैले चिताएको होइन । लहर सिर्जना गर्नलाई इश्यु र क्षमता चाहिन्छ ।

अहिलेकै झापाको गौरादह नगरपालिकामा एमालेको ११ हजार, कांग्रेसको १० हजार, माओवादीको ३४ सय र राप्रपाको ६ सय मत छ । यदि, कमल थापा केपीसँग मिल्ने निश्चित भयो भने कांग्रेससँग मिलेर राजेन्द्र लिङ्देनले त्यहीँबाट ओलीलाई हराउन बेर छैन ।

त्यसमाथि केपी आ–आफ्नै मान्छे भिडाउन सिपालु । झापामा दीपक कार्की र अग्नी खरेललाई भिडाउने, पार्टीभित्र गोकुलविरुद्ध महेशलाई लडाएर रमाउने प्रवृत्ति छँदै छ । उहाँले अबको चुनावमा पनि त्यस्तो नगर्नुहोला भन्न सकिँदैन । भनिरहनुभएको छ, ‘सानो पार्टीको अस्तित्व छैन ।’ कांग्रेसलाई १३ सीटमा खुम्च्याउने कुरा यसै गरिएको होइन । त्यो साना दलसँग तालमेल नगर भनिएको हो ।

नेपालका नेताहरूले भारतको राजधानी दिल्ली र हालै पञ्जाबमा अरबिन्द केजरीवालको शैलीबाट धेरै कुरा सिक्न सक्छन् । व्यक्तिको बोलि र प्रस्तुतिलाई समयले कसरी मूल्यांकन गरेको छ ? त्यसको प्रभाव कत्तिको छ ? युक्रेनमा हाँस्य कलाकार जेलेन्स्की र पञ्जाबमा अर्का कमेडियन भागवन्त सिंह मानले जित्नु र टिक्नुले ठूलो अर्थ राख्छ ।

केजरीवालले भनेका थिए, ‘मसँग वाद र विचार कतै छैन ।समाजवाद र पुँजिवादका कुरा सिकेर दुबै लागु गर्ने हो ।’ नभन्दै उनले कम्युुनिष्ट पार्टीले उठाउने विषय आधारभूत तहका जनताको सुविधालाई कार्यान्वयन गरेरै छाडे ।

शिक्षा, स्वास्थ्य निःशुल्क गरिदिए । नेपालका कम्युनिष्टहरू वीमामा भुलेका छन् । वीमा गरिदिन्छु भन्ने, ३० हजारको उपचार भएको छ, ७० हजारको बिल बनाएर खाने प्रवृत्ति हावी छ । तर, केजरीवालले त्यसो गरेनन् । उनले टोलटोलमा औषधी पु¥याइदिए । त्यहाँ भाजपा र कंग्रेस आईले विशाल आमसभाहरू गरे, कोणसभा गरे । तर, परिणाम आयो, केजरीवालको पक्षमा ।

अहिले केपी ओली एक्लै रथ हाँकिरहेको देखिनुहुन्छ । माधव नेपाल र प्रचण्डको पनि कार्यशैली उस्तै छ । माधव एक्लै लाप्राक, बारपाक पुगेर वडा कमिटीसम्म बनाउन जानुपर्ने अवस्था छ । एमालेले चुनावी अभियान शुरु गरिसक्यो । माओवादी र समाजवादी कांग्रेसले दिएको खाएर कति दिन टिक्छन् ? माओवादीसँग तत्काल एकता सम्भव नहोला ।

तर, वाम गठबन्धन बनाएर जान सकिन्छ । पञ्जाबमा केजरीवालको पार्टीबाट कुनै बेलाका हाँस्य कलाकार भगवन्तसिंह अहिले मुख्यमन्त्री भए ।दर्शक, अर्थात् माझ लोकप्रिय हुने कला उनीहरूसँग छ तर नेपालमा झुठो बचन दिएर कार्यकर्ता हँसाइएको छ ।

वाम गठबन्धनको कुरा छँदैछ, दलीय स्वार्थको नाफा घाटाको हिसाब गर्न थालियो भने समस्या आउँछ । कम्युनिष्टमध्ये केपी ओलीको बलियो संगठन छ । पैसा र फुर्सद छ । अरु कम्युनिष्टसँग ती चिजको कमी छ ।

टिप्पणीहरू