अब लुम्बिनीका ५ वटा जिल्लामा बत्ति झ्याप्प झ्याप्प ननिभ्ने

अब लुम्बिनीका ५ वटा जिल्लामा बत्ति झ्याप्प झ्याप्प ननिभ्ने

कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६, फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसन पनि सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज सन्धिखर्कमा उक्त प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिएको छ । यसबाट कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने बताइएको छ । यसबाट विद्युतको प्राविधिक चुहावट पनि कम हुने विश्वास लिइएको छ । हालसम्म बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको थियो ।

३३ केभी प्रसारण लाइनबाट धेरै लामो ठाउँसम्म लैजाँदा बेला बेलामा झ्याप्प झ्याप्प बत्ति निभ्ने र भोल्टेजको समस्या थियो । यसबाट प्राविधिक चुहावट पनि हुने गरेको बताइन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यतिखेर मुलुकमा पर्याप्त मात्रामा रहेको पानीलाई विद्युत र सिँचाइमा रुपान्तरण गरी विद्युत उत्पादन गर्ने, कृषिकर्म गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढ्दै अमेरिकी डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गरेर आयात गरिएको खाना पकाउने ग्याँसलाई विद्युतको प्रयोगमार्फत विस्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीकरणका लागि बजेट अभाव नभएको उल्लेख गर्दै दुई वर्षभित्र सबैको घरमा विद्युत पुर्याउन विद्युतीकरणलाई ‘लास्ट माइल’ को रुपमा अगाडि बढाइएको जानकारी दिनुभयो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभीको मोतीपुर सबस्टेसनबाट सुरु भई अर्घाखाँचीको शीतगंगा नगरपालिका हुँदै ३८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन सन्धिखर्क सबस्टेसनमा ल्याइएको छ । प्रसारण लाइनमा एक सय छ वटा टावर निर्माण गरिएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क प्रसारण लाइन र सन्धिखर्क सबस्टेसनको निर्माण गरिएको हो । मोतीपुर सबस्टेसनको गत चैत ३ गते उद्घाटन गरिएको थियो ।

मोतीपुर–सन्धीखर्क प्रसारण लाइनको निर्माणका लागि २०७४ को चैतमा सिग्मा कोन जेडएस स्टील जेभीसँग ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अनुमानित लागत करिब ७० करोड रुपैयाँ रहेको छ ।

सन्धिखर्कमा १३२÷३३ केभी, ३० एमभिए र ३३÷११ केभी, १६ एमभिए क्षमताको पावर ट्रान्सफर्मरहरु रहेका छन् । सबस्टेसनबाट चार वटा ३३ केभीका फिडर निकाली अर्घा, हंशपुर र ठाडा सबस्टेसन र तीन वटा ११ केभीका फिडरबाट विद्युत वितरण गरिएको छ ।

विगतमा प्यूठानको झिमरुक र गुल्मीदेखि लामो दूरीको ३३ केभीबाट विद्युत आपूर्ति हुँदा लाइन ओभरलोड हुने समस्या हुँदै आएकोमा अब त्यस्तो समस्या समाधान भएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले प्रसारण लाइन र सबस्टेसनको निर्माणपछि प्राविधिक चुहावटमा कमी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सन्धिखर्क सबस्टेसन निर्माणका लागि २०७५ जेठमा पावरटेक वाइबा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सबस्टेसनको अनुमानित लागत करिब ३७ करोड रुपैयाँ रहेको छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।

टिप्पणीहरू