सोझा कर्णेलमाथि अनाहक सत्तोसराप

‘सुन्दरीजल ब्यारेकमा सुन्दरी मात्रै ?’ शीर्षकको गतांकको पाठकपत्रमाथि असन्तुष्टि जनाउन तपाईंलाई पत्र लेख्दैछु । रामचन्द्र साह कर्सा’ब तराईको भएकाले उनीमाथि कदमकदममा थिचोमिचो, शोषण, दमन गरिएको छ । जर्नेल हुन अब एक नम्बरमा रहेको अधिकृतमाथि षड्यन्त्र रचिएको देखिन्छ ।

प्रमुख सेनानी हुँदा उनलाई म्याद नथपेर घर पठाउन खोजिएको थियो तर अन्तिममा माथिल्लो निकायबाटै थपियो । महासेनानी बढुवाको बेला सबैभन्दा सिनियर भएर पनि उनको सिफारिस गरिएन ।

सेनामा मधेसका मान्छे यति कम हुनुको कारण यस्तै थिचोमिचो त होइन ? कर्णेलको त यो हालत छ भने तल्लो दर्जाका सिपाहीहरुको स्थिति कस्तो होला ? हाम्रो कर्साबले ७ दिनमा ५ दिन ब्यारेकभित्र बसी, पिटीमा आएर पीर, मर्कालाई सम्बोधन गरेका छन् ।

अफिसर मेसमा ‘कति हामीलाई मात्र खुवाउँछौ ? तिमीहरुले खायौ कि खाएनौ ?’ भनेर सिपाहीहरुलाई सोध्ने कर्साबले आफ्नो घरमा राखेका सिपाहीलाई अण्डा र मासु सु“घ्न पनि दिएन भन्नु हाँस्यास्पद कुरा हो । सिपाही नारायण शर्मालाई सोध्दा उनले ‘उहाँले आफू जे खानुहुन्थ्यो, मलाई पनि त्यही खुवाउनुहुन्थ्यो । अण्डा, मासु खान मलाई कहिल्यै रोकटोक थिएन’ भनेका छन् ।

हवल्दार मेजरद्वारा अफिस रनरका लागि पठाइएकी संगीता माझी आफ्नो मिहिनेतले प्राविधिक अमल्दारको परीक्षामा पास भएकी हुन् । के दुईपटक फेल भएको मान्छे तेस्रोपटक परिश्रमले पास हुन सक्दैन ? सेनामा केटा र केटी भनेर छुट्याउने चलन कहिलेबाट आयो ? यस्तै हो भने केटीलाई सेनामा किन भर्ना गरिन्छ ?

नयाँ दरबन्दीअनुसार सुवेदार मेजरको दरबन्दी काटिएको हुँदा अधिकृतको सल्लाहअनुसार सिनियर प्राविधिकलाई सि.सु.को काम दिइएको हो । गुल्मपति सेनानी हरिशरण बुढाथोकीले नीति नियमविरुद्ध कहिल्यै काम गरेको छैनन् । आर्सनल कार्यालयमा सामान खरिद गर्न बोर्ड गठन गरिएको छ । सामान खरिद गरिसकेपछि चेक गर्ने टिम पनि छ ।

आर्सनपति बिदा लिई भारत गएका बेला लेखिएको पत्र कर्साबलाई अघि बढ्न नदिने षड्यन्त्र मात्र हो । उनलाई हटाउन, सरुवा गराउनका निम्ति रचिएको षड्यन्त्र हो । जुनियर कर्साबहरुलाई पटक–पटक हाकिम पदमा नियुक्त गरिएको तर यिनलाई हालै कार्यालय प्रमुखको काम दिएको ज्वलन्त उदाहरण छ । तराईका सोझा कर्साबमाथि गरिएको अन्यायबारे चिफ साहबलाई विवेकपूर्ण कदम उठाउन आग्रह गर्दछौं ।

– पदिक तथा अन्य दर्जा (प्राविधिक र साधारण)

टिप्पणीहरू