एउटा मान्छेको जिद्धीले कति फरक पर्दछ जिन्दगीमा « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

एउटा मान्छेको जिद्धीले कति फरक पर्दछ जिन्दगीमा

प्रकाशित मिति :  १२ चैत्र २०७८, शनिबार १८:००


रूस र युक्रेनबीच भइरहेको युद्धको आज ३१ औँ दिन । रूसले सैन्य आक्रमण गरेपछि आजसम्म युक्रेनको मुख्यमुख्य शहर तहसनहस भइसकेको छ भने जनजीवन पूरै अस्तव्यस्त छ । सर्वत्र हाहाकार मच्चिएको छ । खाद्यान्न, बिजुली, ग्यास, खानेपानीको अभाव छ । झण्डै १ चौथाइ युक्रेनी जनता मातृभूमि छाडेर अन्यत्र लागेका छन् । हजारौंले ज्यान गुमाएका छन् भने उत्तिकै संख्यामा घाइते छन् ।

युद्धले युक्रेनको अर्थव्यवस्था त तहसनहस बनायो नै आक्रमणकारी मुलुक रूसको हालत पनि खस्किसकेको छ, विश्व अर्थ व्यवस्थामा समेत ठूलो असर पारेको छ । तर अचम्म ! युद्ध रोकिने छाँटकाँट छैन । भलै, युद्धविरामका लागि प्रयास नभएको होइन, वार्ता जारी छ । सोमबारै पनि दुबै मुलुकको छिमेकी देश बेलारुसमा युद्धरत दुबै पक्षबीच करिब डेढ घण्टा वार्ता भयो तर समस्या ज्युँका त्युँ छ । दुबै मुलुक अडानमा छन् ।

अमेरिकी राष्ट्रपति जोए बाइडन पर्सि शुक्रवार पोल्याण्ड पुग्दै छन् । सन् १९९१ मा सोभियतसंघ विघटन हुँदासम्म सक्रिय रहेको सोभियत संघकै नेतृत्वमा गठित पूर्वीयुरोपेली मुलुकको सैन्य संगठन ‘वार्सा प्याक्ट’ को एउटा सदस्य राष्ट्र पोल्याण्ड आज वार्साको विपक्षमा अमेरिकाले खडा गरेको पश्चिमी युरोपेली मुलुकको सैन्य संगठन ‘नेटो’ को सदस्य हो । बाइडेनले युरोप भ्रमणको क्रममा नेटोको बैठक पनि बोलाउँदै छन् । उक्त संगठनका सैन्य तथा राजनीतिक नेतासँग बसेर युक्रेनको समस्यामा गम्भीर विचार–विमर्श गर्ने योजना छ ।

यसको अर्थ युक्रेनको समस्या शिथिल बन्ने होइन झन् चर्कने सम्भावना व्यापक छ । बाइडेनको भ्रमणपूर्व अघि सारिएको भनाइ ‘अमेरिकाले युक्रेनमा सैन्य पठाउने छैन तर नेटो सदस्य राष्ट्रले युक्रेनलाई सैन्य सहयोग गर्दैनन् चाहिँ हामी भन्न सक्दैनौं’ ले अमेरिकी रणनीति प्रष्ट पार्छ । यसबाट रूस मात्र होइन, अमेरिका पनि यो युद्ध तत्काल रोक्न चाहँदैन भन्ने पुष्टि हुन्छ । यति मात्र होइन, रूसले सैन्य सहयोग माग्यो भन्ने हल्ला फिँजाएर युद्धमा चीनलाई पनि मुछ्न खोजिँदै छ । त्यस्तो भयो भने यो विश्वकै लागि दुर्भाग्य हुनेछ ।

रूस र युक्रेन दुबै समाजवादी मुलुक सोभियत संघको हिस्सा हुन् । सोभियत संघको विघटनलगत्तै दुबै मुलुक स्वतन्त्र बने । सन् १९९१ अघिसम्म पूर्वी युरोपका पोल्याण्ड, बुल्गेरिया, हंगेरी, पूर्वी जर्मनी, चेकोस्लोभाकिया, अल्बानिया (सन् १९६८ सम्म) र रोमानिया सोभियतसंघको सैन्य छातामुनि थिए अर्थात् यिनीहरू वार्सा संगठनका सदस्य थिए । चीन, भियतनाम, मंगोलिया र उत्तरकोरिया सो संगठनको पर्यवेक्षक राष्ट्र रहे । यद्यपि, चीन सोभियतसँगको विवादपछि संगठनबाट पछि हट्यो ।

सन् १९९१ मा सोभियतसंघ १५ टुक्रामा विभाजित भयो । यतिखेर नेटोमा ३० सदस्य राष्ट्र छन् । तीमध्ये २७ राष्ट्र युरोपेली हुन् । हिजो वार्साको सदस्य राष्ट्र अल्बानिया, बुल्गेरिया, चेक गणतन्त्र, स्लोभाकिया, हंगेरी, पोल्याण्ड र रोमानिया नेटोमा छिरिसकेका छन् भने सोभियत संघबाटै टुक्रिएका इस्तोनिया, लात्भिया, लिथुआनियालगायत पूर्वसमाजवादी युगोस्लाभिया टुक्रेर बनेका अधिकांश मुलुक पनि नेटोको सदस्य बनिसकेका छन् । जर्मनीको पनि एकीकरण भइसकेको छ । यस्तो अवस्थामा युक्रेनले नेटोमा छिर्न खुट्टा उचालेपछि रूसले आफू असुरक्षित ठान्न पुग्यो ।

सोभियत संघ हुँदा पनि त्यहाँभित्र सर्वत्र रूसी दबदबा थियो । त्यसैले आफ्ना सहयात्री मुलुक धमाधम विरोधी ध्रुवमा हिँडेको पटक्कै मन परेन । किनभने रूस अझै पनि एक समयका यी सहयात्री राष्ट्रहरू आफ्नै निर्देशनमा चलुन्, यी सबैको सुरक्षाको जिम्मेवारी आफँैले बोक्न पाइयोस् भन्ने चाहन्छ । उता, अमेरिका पनि रूसलाई एक्ल्याउन युरोपका सबै राष्ट्र आफ्नै ‘खल्तीको सुपारी’ बनुन् भन्ने चाहन्छ । रूस–युक्रेन युद्धमा आर्थिक, व्यापारिक होडबाजी, ग्यास र तेलको व्यापारजस्ता सतहमा जे–जस्तो कारण देखिए पनि खासमा युद्धको मूल कारण यही थियो ।

युद्धको आज २८ औं दिन । तर युद्धरत दुबै राष्ट्रले युद्धमा होमिनुभन्दा अगाडि जे–जस्तो आकलन गरेका थिए, त्यो भएन । युक्रेनले रूसले आक्रमण गरेमा अमेरिका र नेटोका सदस्य राष्ट्रले सबैखाले सहयोग गर्ने सोचेको थियो, त्यस्तो भएन । रूसले सजिलै युक्रेनलाई घुँडा टेकाउन सकिन्छ भन्ठानेको थियो, त्यो पनि भएन । त्यसैले युद्ध लम्बियो । सोचेभन्दा बढी जनधनको क्षति भयो । रूसको मनशाय युक्रेनमाथि विजय प्राप्त गरी उक्त भूभाग आफ्नो भूमिमा गाभ्ने खालको थिएन । ऊ युक्रेनलाई सन् १९७९ मा चीनले भियतनामलाई पढाएको पाठ पढाउन चाहन्थ्यो । तर, अब युद्ध लम्बिँदै जाँदा र यसमा अरु पक्ष पनि सहभागी हुन थाले भनेचाहिँ उसको उक्त लक्ष्यमा परिवर्तन नआउला भन्न सकिन्न ।

सैन्य आक्रमण गरेर रूस विश्व जनमतको नजरमा गिरिसकेको छ । उसले आफ्नो हठ त्यागी आक्रमण रोक्नुपर्छ । विश्वसमक्ष आत्मालोचना गर्नुपर्छ । साथै, पश्चिमाहरूको सहयोग र समर्थनमा राष्ट्रपति बनेका र उनीहरूकै उक्साहटमा रूससित निहुँ खोज्न थालेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि अमेरिका र पश्चिमी मुलुकको नजिक हुने लहडीपन त्याग्नुपर्छ । उनले अझै हठ र लहडीपन त्यागेका छैनन् बरु युद्धमा सामेल हुन अरू राष्ट्रलाई आह्वान गर्दै छन्, तेस्रो विश्वयुद्ध हुने चेतावनी दिइरहेका छन् । उनको यो हठकै कारण युक्रेन तहसनहस भइसकेको छ ।

उनको यो ‘राष्ट्रवाद’ ले देश ध्वस्त हुन पुगेको छ । जनधनको ठूलो क्षति भइसकेको छ । जनताले सबै धन सम्पत्ति, इष्टमित्रलाई छाडेर विदेश पलायन हुनुपरेको छ । एउटा जल्दोबल्दो मुलुकलाई अब फेरि उठ्न अर्को दशकौं लाग्नेछ । यसको क्षतिपूर्ति कसले गर्छ ? जेलेन्स्कीले ?? अमेरिका र रूसले वा नेटो सदस्य राष्ट्रहरूले ???


प्रतिक्रिया दिनुहोस !