हाम्रै घमण्डले आज यो हालत भयो

हाम्रै घमण्डले आज यो हालत भयो

गोपालमान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता

कांग्रेसको केही महिनाअघि सम्पन्न महाधिवेशनमा गोपालमान श्रेष्ठ सभापतिका आकांक्षी थिए तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहबमोजिम मैदान छाडिदिए । कार्यवाहक सभापति, उपसभापति चलाइसकेका उनी देउवापछिका नेता हुन् । तर उनलाई वरीयताको १४औं नम्बरमा राखिएको छ । ०४८, ०५८, ०६२/६३ र ०७४ साल गरी चार पटक मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म चलाइसकेका श्रेष्ठ ०७४ सालको निर्वाचनमा कांग्रेसकै पकड क्षेत्र मानिने स्याङ्जा जिल्लाबाट पराजित भए । कांग्रेसभित्रकै अन्तरघातका कारण हार्नुपरेको पीडा सुनाउँछन् । उनीझैं अघिल्लो निर्वाचनमा पराजय व्यहोरेका वामदेव गौतम, नारायणकाजी श्रेष्ठहरूलाई पार्टीले राष्ट्रिय सभामा लगेर सम्मान गरेको छ । पार्टी नेतृत्वले पनि आफूलाई त्यसैगरी व्यवस्थापन गर्नेमा उनी आशावादी छन् । राष्ट्रपतिबाट मनोनयन हुने एक पदका निम्ति चर्चामा छन् कलाकार नीर शाह तर श्रेष्ठ उनीसँग आफ्नो तुलनै हुन नसक्ने सुनाउँछन् । देउवाको वचनबमोजिम नै वरिष्ठ उपसभापति बनाइनेमा पनि उत्तिकै विश्वस्त छन् ।

– हरि गजुरेल

कांग्रेस महाधिवेशन सकिएको धेरै भयो खै त वरिष्ठ उपसभापति बनेको ?

– सभापतिजीले गर्छु भन्नुभएकै छ । ११ गते बस्ने बैठकभन्दा पहिला टुंग्याउनुहोस् भनिरहेको छु । हेर्छु भन्ने जवाफ आएको छ । मभन्दा सिनियर नेता अरू देख्दिनँ । मेरो, त्याग, तपस्या, बलिदान र शेरबहादुर देउवालाई निर्विरोध सभापति बनाएको, ०६२÷६३ को जनआन्दोलनमा पूरा सहभागी भएर ज्ञानेन्द्र सरकारविरुद्ध पार्टीको बागडोर सम्हालेको हुँ । हाम्रो पुस्तामा शेरबहादुरजी, गोपालमान, रामचन्द्र पौडेललाई यसरी नै गनिन्छ । १५ औं महाधिवेशनमा तपाईं नै सभापति हो पनि भन्नुभएको छ ।

वचनको मामलामा पार्टी सभापतिलाई कत्तिको पक्का पाउनुभएको छ ?

– गर्छु भनेको कुरा अलिकति ढिलो–चाँडो होला तर गर्नुहुन्छ भन्नेमा ढुक्क छु ।

अन्त्यमा देउवालाई समर्थन गर्नुपर्ने त्यस्तो बाध्यता के आइलाग्यो ?

– उहाँले ‘यसपटक प्रधानमन्त्री भइहालेँ । दलको नेता बीचमै छोड्दा अलि अप्ठ्यारो पर्ने भयो । संस्थापन पक्षबाटै सभापति हुने इच्छा हो । तपाईंलाई दिने सम्मान, प्रतिष्ठा दिइहाल्छु । प्रधानमन्त्री र सभापति फरक–फरक व्यक्ति हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अप्ठ्यारो पर्छ भन्नुभयो । कुरो ठीकै लाग्यो । त्यही कारण विद्रोह गरिनँ । र, सहयोग गरेँ । संगठन विभाग प्रमुखको हिसाबले पनि साथ–सहयोग रह्यो र झण्डै ८२ प्रतिशत मत उहाँको पक्षमा खस्यो ।

१४ औं स्थानमा बस्नुपर्दा उकुसमुकुस हुन्न ?

– सदस्यताको हिसाबले म १ नम्बर सदस्य हो । ११औँ महाधिवेशनमा कार्यवाहक सभापति र उपसभापतिको भूमिकामा थिएँ । १२औँ महाधिवेशनमा उपसभापति र एक नम्बरकै केन्द्रीय सदस्य भएँ । १३औँ अलिकति गडबड गर्न खोजेका थिए पछि सच्याएर १ नम्बर बनाए ।

 तपाईंको गृहजिल्ला स्याङ्जा,कांग्रेसको पकड भएको क्षेत्र । निर्वाचन कम्युनिष्टले जिते । अब कस्तो परिणाम आउला ?

– म लडेको क्षेत्रमा विपक्षीले जित्दैनथे तर साथीहरूले हाक्काहाक्की सूर्यमा भोट मागेर हराए । ०४८ सालमा म पार्टी सभापति हुँदा ४ वटै क्षेत्र हाम्रै थियो । सभापति सधैँ भइरहने कुरा भएन । क्षेत्र घटेर २ वटा मात्र सीमित बनेको छ । ०७० सालमा २ वटै ठाउँ जितेको हो । अहिले साथीहरूले बेइमानी नगरेको भए चारवटै प्रदेश र दुई वटा संघ जित्ने थियौँ । मेरो ठाउँमा ४ देखि ५ हजार मतान्तरले हामीले जित्नुपर्ने हो तर तीन हजार मतले म पछाडि परेँ ।

वर्तमान गठबन्धनको स्थिति कस्तो रहला ?

– हाम्रो संविधानअनुसार अब एउटै पार्टीले बहुमत ल्याउन कठिन छ । २७५ सांसद संख्या छ । जहाँ १६५ प्रत्यक्ष र ११० समानुपातिक, समावेशी प्रणालीबाट चुनिन्छन् । सतप्रतिशत प्रत्यक्ष वा पूरै समानुपातिक भए कुरै अर्कै हुन्थ्यो । अहिले एउटै पार्टी मात्र निर्वाचनमा गएर दुई तिहाइ वा बहुमत ल्याउन मुश्किल छ । कांग्रेसले ०१५ सालमा दुई तिहाइ ल्याएको थियो । त्यो अवस्था अब छैन । ०७४ सालमा हामी गठबन्धनमा हुँदाहुँदै नेकपा माओवादीले छाडेर जानुपर्ने अवस्था आयो ।

एमालेसँग पार्टी एकता गर्दा हामीलाई धोखा भयो । २३ सिटमा खुम्चनुप¥यो । म मात्र नभई धेरै साथीहरूलाई अन्तरघात भयो । गठबन्धनलाई ठाउँ वा अवस्था हेरेर स्विकार्नुपर्छ । राष्ट्रिय सभाको १९ सिटमा हामीले गठबन्धन गरेकै कारण राम्रो उपस्थिति देखियो । गठबन्धन नभएको भए पनि कांग्रेसले एक सिट पनि जित्ने थिएन तर हामीले ६ वटा सिट जित्यौँ । ५ वर्ष भुइँमा बस्ने जनादेश प्राप्त हामी साढे ३ वर्षमै सत्तामा पुग्यौँ । अब पनि अवस्था हेरेर को, कहाँ बलियो छ । त्योअनुसार गठबन्धन गर्नुपर्ने हुन्छ । गठबन्धनको सरकार भएका कारण मिलेरै जाँदा राम्रो हुन्छ ।

तपाईंकै पार्टीका वरिष्ठ नेताहरू शेखर कोइराला, मीनेन्द्र रिजाल, गगन थापा, धनराज गुरुङलगायतले गठबन्धन तोड्ने कुरा गरिरहेका छन् । यसको तात्पर्य के हुन सक्छ ?

– गठबन्धन मैले तोड्छु/जोड्छु भनेर हुने हो र ! ११ गते पार्टीको बैठक बस्छ । त्यसैले निश्कर्ष निकाल्छ ।

एमाले नेताहरू दुईदलीय सिष्टम ल्याउने कुरा जोडतोडसाथ उठाइरहेका छन् । अब एमाले र कांग्रेस पार्टी मात्र रहने हो र ?

– अहिलेको भिडन्त कांग्रेस र एमालेकै बीचमा हुन्छ । अरु मित्र जसले दुःखको समयमा साथ दिनुभएको थियो, उहाँहरूलाई साथै लैजानुपर्छ । ओलीको तानाशाही प्रवृत्तिविरुद्ध दुई दुई पटक संसद् विघटन गर्दा लोकतन्त्रको रक्षाका लागि लड्नुभएका साथीहरूलाई छाडेर एक्लै जान हुन्न । भोलि–कांग्रेस ठूलो पार्टी हुँदा पनि अहिले सरकारलाई साथ दिएकाहरूसँग पार्टी मिलेर अघि बढ्नुपर्छ ।

अबको निर्वाचनमा कांग्रेसको पोजिसन के होला ?

– ठूलो हुन सबैभन्दा पहिला त आन्तरिक रूपमा मिल्नुपर्छ ।

आन्तरिक खिचलो मिल्ने सम्भावना छ त अनि ?

– १४ औं महाधिवेशन भर्खरै सकिएको छ । हामी माथिदेखि तलसम्म विभाजित भएका छौं । अब विपक्षसँग लड्नका लागि हामी एक हुनुपर्छ । त्यही सन्देश दिन ७७ जिल्लामा घर–घर जाऊँ कांग्रेसलाई जिताऊँ अभियान चलाएका छौं । जो जनतामाझ लोकप्रिय छ उसलाई यो वा त्यो गुट नभनी टिकट दिनुपर्छ । अब भागबण्डाले राजनीति चल्दैन । भागबण्डा माग्नु हुँदैन र बण्डा गर्नु पनि हुँदैन ।

यही चुनावी प्रणालीबाट कुनै पनि दलको दुई तिहाइ पुग्ने देखिँदैन भने सरकार कसरी बन्ला त ?

– हामी सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्छौं । तर, अब दुई वा तीन पार्टी सिष्टममा जानुपर्छ । माओवादी र समाजवादी एक ठाउँमा उभिनुपर्छ । हामीसँग ०७४ सालको अनुभव छ । माओवादीले त्यतिखेर ३५ प्रतिशत मागेको थियो । त्यसलाई सहज रूपमा लिइदिएको भए आज हाम्रो यो हालत हुँदैनथ्यो । हाम्रै घमण्डका कारण उहाँहरू सरकार छाडेर एमालेसँग एकता गर्न पुग्नुभयो । त्यही कारण कार्यगत एकता गरेर अघि बढ्नुपर्छ । हिजो दुई तिहाइ बहुमत ल्याउँदा ओलीजीको जुन घमण्ड थियो त्यो चुर भएको छ । उहाँको पालामा उखान टुक्का धेरै भयो । काम केही भएन ।

तपाईंहरूको एउटा खेमा, देउवा र पौडेलको चोचोमोचो अनि शेखर गगनहरूका कारण कांग्रेस पार्टी एनजिओजस्तो बन्यो भन्दै छन् । कस्तो लाग्छ, यहाँलाई ?

– १३ औं महाधिवेशनको पूरै कार्यकालमा पौडेलजीले सहयोग गर्नुभएन । जित्नेले हार्नेलाई समेटेर अगाडि बढ्नुपर्छ, हारिसकेपछि जित्नेलाई सहयोग गर्नुपर्छ । जित्नेमा मै हुँ सर्वेसर्वा भन्ने भयो भने अहंले सिध्याउँछ । हिजो शेरबहादुरजीले धेरै प्रयास गर्नुभएको हो । तर, उहाँलाई कमजोर पार्छु भनेर साथीहरू लाग्दा अघिल्लो चुनावमा कांग्रेसको अवस्था कमजोर बन्न पुग्यो । भाग दिएर, भाग लिएर पनि सहिष्णुता भएन । यसपटक त पौडेलजीले चुनावमा भाग लिनु भएन । मत पनि दिनुभएन, त्यत्तिकै शेरबहादुरजीलाई सघाउनुभयो । शेरबहादुरजीले पनि पौडेलजीको सम्मान गर्नुभयो ।

एमसीसी ल्यायौँ भने मुलुक रामराज्य हुन्छ भन्थे नेताहरू । अब नेपाल साँच्चै रामराज्य बन्छ त ?

– मित्रराष्ट्र अमेरिकाले हामीलाई ७० वर्ष अघिदेखि सहयोग गरेको हो । त्यो ऋण, सफ्ट लोन, निर्बाज्यी नभई पूरै अनुदानको रकम हो । हाम्रो देश जलस्रोतको धनी । ८३ हजार मेगावाट उत्पादन क्षमता छ । जसरी हामी विदेशबाट तेल आयात गर्छाैं उसैगरी हाम्रो बिजुली विदेशमा सप्लाई किन नगर्ने ? त्यसका लागि एमसीसी कार्यक्रमबाट काठमाडौंदेखि गोरखपुरसम्म ट्रान्समिटर लाइन जोड्ने र हाइवेलाई ६ लेनको बनाउने हो । एमसीसीमार्फत न अमेरिकन सेना आउनेछन्, न त त्यहाँका कामदार नै । कतिपय दातृ निकायले ऋण दिने, आफ्नै ठेकेदार र कामदारबाट काम लगाउने गर्छन् । एमसीसीको हकमा त्यस्तो हुँदैन । अन्तर्राष्ट्रिय बिड हुन्छ ।

तपाईंको जिल्लासमेत जोडिने बूढीगण्डकी परियोजनाको विवाद अब कसरी सल्टिएला ?

– बूढीगण्डकी हामीले नै बनाउनुपर्छ भनेर पेट्रोलियम पदार्थ प्रति लिटर ५ रूपैयाँका दरले कर उठाउन थाल्यौं । अहिले १५ रुपैयाँसम्म उठ्छ । जसबाट अर्बांै रकम जम्मा भइसकेको छ । त्यो प्रोजेक्ट हामीले नै बनाउनुपर्छ । यो प्रोजेक्ट हामीले आफ्नै बाहुबलबाट बनाउनुपर्छ । यो विषयमा सरकारले तलमाथि गर्नु हुँदैन ।

राष्ट्रिय सभाको राष्ट्रपतिबाट मनोनयन गरिने एक पदमा तपाईंसँगै नीर शाहको नाम पनि चर्चामा छ । बाजी मार्न सक्नुहोला त ?

– चुनाव वामदेव, नारायणकाजी श्रेष्ठहरूले हार्नुभएकै हो । उहाँहरूलाई राष्ट्रिय सभामा लगेर व्यवस्थापन गरिसकिएको छ । राष्ट्रिय सभा भनेको अनुभवप्राप्त, खारिएका व्यक्ति जाने ठाउँ हो । मेरो पार्टीले पनि मलाई व्यवस्थापन गरेको खण्डमा अनौठो मान्नु पर्दैन । प्रधानमन्त्री तथा पार्टी सभापतिले चाहना राख्नुभएको खण्डमा लैजान सक्नुहुन्छ । पार्टीमा देउवापछिको लिडर हुँ । यसमा नीर शाहसँग मेरो नाम जोड्नु आवश्यक छैन ।

टिप्पणीहरू