ओलीले जनयुध्दको खिसिट्युरी गर्दा बादलहरु ट्वाल्ल !

ओलीले जनयुध्दको खिसिट्युरी गर्दा बादलहरु ट्वाल्ल !

नेकपा एमालेमा मिसिएका पूर्वमाओवादी नेताहरुले केपी ओली नेतृत्वको पार्टीलाई नेकपाकै निरन्तरताका रुपमा ब्याख्या गर्न थालेका छन् । अदालतको आदेशले प्राविधिक रुपमा एमाले नाम रहे पनि सारत: ओली नेतृत्वको एमाले नेकपाको निरन्तरताकै रुपमा अघि बढेको उनीहरुको तर्क रहँदै आएका छन् ।

तर,एमालेमा पूर्वमाओवादी नेताहरुका यस्ता तर्क केवल लाज ढाक्ने पातलो टालोबाहेक केही होइन भन्ने पुष्टि स्वयं उनीहरुले नै ‘राजनेता’ उपाधि दिएका अध्यक्ष केपी ओलीले गरिदिनु भएको छ, त्यो पनि पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी बैठकमा । बबरमहलस्थित कार्की ब्याँक्वेटमा हिजोदेखि जारी बैठकमा अध्यक्ष ओलीले जनयुध्द र माओवादी आन्दोलनलाई अपराधीकरण गर्दा त्यसैमा लागेर आफ्नो राजनीतिक उचाइ बनाएका रामबहादुर थापा, मणि थापा,लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका पूर्वमाओवादी नेताहरु भने निरीह देखिएका थिए । उनीहरुले न ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाए न फरक मत राख्ने हिम्मत नै गरे । बरु हिजो आफैँले नेतृत्व गरेको हजारौँको बलिदानीपूर्ण आन्दोलनको औचित्यमाथि प्रश्नै प्रश्न उठ्दा पनि लाचार बनेर चुपचाप सुनिरहे ।

चुनावी रणनीति बनाउन बोलाइएको बैठकको शुरुमै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीको प्रहारको निशानामा परे । प्रचण्डले आफ्नो व्यक्तिगत हितका लागि १७ हजार मान्छे मारेर अपराध गरेको भन्दै ओलीले अरु पेशा व्यवसाय गरेर परिवार पालेको भए भैहाल्थ्यो नि भनी कटाक्ष गर्नुभएको थियो । प्रचण्डमाथिको प्रहार रामबहादुरहरुलाई स्वभाविकै लाग्यो होला । तर,ओलीको प्रहार प्रचण्डमा मात्रै सीमित रहेन,जनयुध्दविरुध्द ओली अझै कडा रुपमा प्रस्तुत हुनुभयो ।

‘कि सार्वजनिक रुपमा हिजो जनयुध्द गरेर गल्ती गरिएको थियो भन्नु पर्यो, हैन भने जनयुध्दलाई यसरी अपराधीकरण गर्दा पनि चुइक्क बोल्न नसक्नेहरुले राजनीति गर्दैनन्, उनीहरु दास हुन्’,उनले भने ।

रामबहादुरहरुसँगै मिसिएर एमालेमा गएका एक केन्द्रीय सदस्यले बताएअनुसार ओलीले अनौपचारिक भाषमा जनयुध्दको खिसिट्युरी गरिरहँदा मञ्चमा बसेका पूर्वमाओवादी नेताहरु लाचार थिए । उनीहरुमध्ये कुनै एक जना नेताले तत्काल ओलीको अभिव्यक्तिमाथि आपत्ति प्रकट गरिदिए हुन्थ्यो भन्ने उनको चाहना पूरा भएन बरु ओली थप अगाडि बढेर माओवादी आन्दोलनलाई राक्षसीकरण गर्न थाल्नुभयो ।

जनयुध्दमा मारिएका १७ हजारको प्रसंग निकालेर ओलीले जनयुध्दलाई अपराध कर्मका रुपमा प्रस्तुत गरिरहँदा पनि चुपचाप बस्ने पूर्वमाओवादी नेताहरुलाई उनले आधुनिक दासको संज्ञा दिए । ‘कि सार्वजनिक रुपमा हिजो जनयुध्द गरेर गल्ती गरिएको थियो भन्नु पर्यो, हैन भने जनयुध्दलाई यसरी अपराधीकरण गर्दा पनि चुइक्क बोल्न नसक्नेहरुले राजनीति गर्दैनन्, उनीहरु दास हुन्’,उनले भने ।

जनयुद्धका कमि र सीमा छँदै थिएनन् भन्ने होइन,तर नेपालमा राजनीतिक जागरणको जग जनयुध्दले नै हालेको हो । पछिल्लो राजनीतिक परिवर्तनमा पनि १० वर्षे जनयुध्दकै सबैभन्दा धेरै योगदान छ । यसलाई एमाले अध्यक्ष केपी ओलीले पनि स्वीकार गरिसक्नुभएको हो । एमाले र माओवादी एकतापछि जनयुध्दको भूमिकालाई दस्तावेजीकरण नै गरिएको थियो । तर, हिजो आफूले गौरवपूर्ण भनेको आन्दोलन जहाँ हजारौँको बलिदान भएको छ , त्यसैप्रति आफ्नै पार्टीका अध्यक्षले खिसिट्युरी गर्दा रामबहादुरहरु भने बोल्न सकेनन् ।

ओलीको अभिव्यक्तिको मौन समर्थन गरेर रामबहादुरहरुले जनयुध्दका हजारौं शहीद,बेपत्ता,घाइते र पूर्वजनमुक्ति सेनाको भावनामाथि खेलबाड गरेको भन्दै ती नेताले भने, ‘प्रचण्डको चाहनाले मात्रै जनयुध्द भएको होइन,आज प्रचण्ड के गर्दैछन् एउटा कुरा होला, तर, प्रचण्डसँग रिस उठेको छ भन्दैमा जनयुध्दप्रति गरिने यस्तो टिप्पणी कसैलाई पनि स्वीकार्य हुँदैन, मञ्चमा बस्नेहरु लाचार भए भन्दैमा सबैले त्यसलाई स्वीकार गरेका छन् भनेर बुझ्नु हुँदैन ।’

टिप्पणीहरू